आमाकै तनमा : आप्रवासी मन

डा.कृष्णराज डी.सी.

मेरी आमा मेरो निधार तिम्रै चरणमा
झुकाई देऊ गर्व मेरो, पर्छु शरणमा

स्वणर्थालीभरि तिम्रो आँसु भरिदिन्छु
आमा तिम्रै गलाभरि मोतीमाला बन्छु

चन्द्र-सूर्य रत्न बनेँ तिम्रै चरणमा
झुकाईदेऊ गर्व मेरो, पर्छु शरणमा

तिम्रै आँखाबाट बग्छन् मेरा आँसुधारा
तिरुँ केल्ले मेरी आमा तिम्रो दुधभारा ?

उज्ज्वल कान्ति दिएर आमा मेरो मरणमा
झुकाई देऊ गर्व मेरो पर्छु शरणमा !

सर्वे भवन्तु : सुखिन सर्वेसन्तु  : निरामया
सर्वे भद्रानि पश्चयन्तुः माकश्जिद दुःखभाग्भवेत

अर्थात् सबै सुखी होऊन्, सबै निरोगी होऊन्, सबै भलाद्मी देखिऊन् र कसैलाई दुःख नहोस् । हाम्रो सनातन हिन्दू धर्मको मूलमन्त्र नै यही हो । एकजना कविले भनेका थिए :

‘एकै देशका सन्तान हामी को टाढाको को नजिकको ?
रगत सबैको रातो भए कुन धनी कुन गरिबको एकै देशका ?’

आहा ! कति सुन्दर अमृत वाणी ! : हाम्रो सनातन आर्ष सभ्यता र संस्कृतिको यति सुन्दर चिन्तनलाई नराम्रो भन्ने को पो होला र ? हामी सबै एकै हौँ तसर्थ हामीलाई कुनै जाति, धर्म, लिङ्ग, वर्ग, वणर्, क्षेत्र, संस्कृति, भाषा, भेषभूषा आदि कुनैको विभेद मन पर्दैन । हाम्रो राष्ट्रगानले पनि भनेको छ :

‘सयौँ फूलका थुँगा हामी एउटै माला नेपाली
सार्वभौम भई फैलिएका मेची महाकाली ।’

यस्ता आदर्श अभिव्यक्ति र मूलमन्त्रहरु पढ्दा कसलाई गर्वानुभूति नहुँदो हो र ? हामी यस धर्तीमा जन्मिएका ययावर हौँ । तसर्थ, हामीलाई कुनै धनसम्पत्तिको सञ्चय पनि मन पर्दैन । किनभने त्यो हाम्रो चिन्तन वा दर्शनभित्र पर्दैैन । हामी सामूहिक मानव हितका हिमायती हौँ । तसर्थ, कसैले पेटभरि खाएको र कोही भोकै मरेको वीभत्स दृश्य हामी देख्न सक्दैनौँ ।

किनभने हामी सार्वभौम मानव हौँ । यो पृथ्वीमा जो जहाँ बसे पनि हामी सबै मानिस हौँ । तसर्थ, हामी मानिस-मानिसबीच विश्वबन्धुत्व र भाइचाराको नाता हाम्रो सनातन आर्य सभ्यताको सुरुवातदेखि हालसम्म निरन्तर रुपमा चलि आएकै छ ।

हामीलाई हिमाल, पहाड, तराई आदिको भौगोलिक विभेद स्वीकार्य छैन । हामीलाई राष्ट्र विखण्डनको चिन्तन पनि मन पर्दैन । किनभने हामी अखण्ड विशाल नेपालका पक्षधर हौँ । यदि कसैले हाम्रो माटोमा दावा राख्दछ भने हामी सुरुङ युद्ध छेंड्न तयार छौँ । हामी कुनै साम्राज्यवादी र विस्तारवादी शक्तिको प्रभावमा पर्दैैनौँ । स्वाभिमानी नेपाली र नेपाल हाम्रो एक मात्र चाहना हो ।

आदिवासी, जनजाति, दलित तथा सीमान्तकृतवर्गलाई माथि-माथि उठाउने हाम्रो एक मात्र प्रतिबद्धता हो । हामीलाई पुँजीवाद होइन समाजवाद चाहिन्छ । पूणर् समाजवादमा पुग्ने हाम्रो ‘वाजवादी’ अखण्डयात्रा सतत् चलिरहन्छ । माथि उल्लेखित चिन्तन र दर्शनले अरुलाई के अनुभूति हुन्छ मलाई थाहा छैन ।

तर, मेरो मनमा भने रामराज्यको परिकल्पना हुँदै जान्छ । सायद भुटाननरेश जिग्मेसिङेवाङ्चुकले देशनिकाला गरेका भुटानी शरणार्थीहरुलाई पनि अब पीडानुभूति हुँदैन होला । किनभने, सार्वभौम मानवको अस्तित्व पृथ्वीको जुन कुनामा टेकेर बसे पनि उही हो । उसलाई केही फरक पर्दैन होला भन्ने मलाई लाग्दथ्यो ।

सिक्किमनरेश लेण्डूप डोर्जेलाई पनि सायद यो पीडानुभूति भएन होला । आखिर उनले पाउने सम्मान न हो । उनी जहाँ गएर बसे पनि के फरक पर्छ होला र ? भन्ने लाग्दथ्यो । तीब्बती नेता दलाई लामा जो अहिले भारतमा निर्वासित जीवन बिताइरहेका छन्, पाकिस्तानी लेखक सल्मान रुस्दी र मलाला जो बेलायतमा निर्वासित जीवन बिताउँथे, हिट्लरद्वारा लखेटिएका अल्बर्ट आइनिस्टाइन जो जर्मनबाट भागेर अमेरिकामा निर्वासित जीवन बिताउँथे, दोस्रो विश्वयुद्धमा जर्मनद्वारा लखेटिएका यहुदी आप्रवासीहरु जो इजरायलमा गएर निर्वासित जीवन बिताइरहेका थिए आदि ती सबैलाई कुनै पीडाबोध भएन होला भन्ने मलाई लाग्दथ्यो ।

किनभने हामी एउटै आमाको कोखबाट जन्मिएका सबै विश्वका साढेसात अर्ब दाजुभाइहरु एउटै आमाका सन्तान हौँ । तसर्थ, स्वदेश, विदेश, हिमाल, पहाड, तराईमा जो जहाँ बसे पनि हामीलाई केही फरक पर्दैन भन्ने चिन्तन आजको २१औँ शताब्दीले स्थापना गरेको नयाँ मूल्य र मान्यता पनि हो ।

खास गरी उत्तरआधुनिकतावादी चिन्तनले निर्माण गरेको विनिर्माणवादी दर्शन र विकेन्द्रीकरण दर्शनले पनि स्थापना गरेको नयाँ मूल्य र मान्यता अनुसार गोलो पृथ्वीमा जहाँ पाइला टेक्यो त्यहीँ केन्द्रविन्दु हुन्छ । तसर्थ, अहिले केन्द्र र मोफसल भन्ने कहीँ छैन ।

हामी जो जहाँ बस्छौँ त्यहीँ केन्द्रविन्दु हुन्छ । तसर्थ, कुनै मानिस केन्द्रको र कुनै मानिस छेउकुनाको हुनै सक्दैन भन्ने मान्यता आजको अत्याधुनिक उत्तराधुनिकतावादले निर्माण गरेको मूल मान्यता हो । यही मान्यतालाई आत्मसात गरेर हामी आज सार्वभौम मानवहरुले जहाँ बस्यो त्यहीँ हाम्रो घर हन्छ भन्ने विश्वास राख्दै आएका छौँ ।

हामी त्यस्तो देशमा जन्मिएका मानिस हौँ जुन देशले आफ्नो काखमा हिमालहरुलाई उठाएको छ र जसको उच्चता आज संसारभरि चर्चित छ । राष्ट्रकवि घिमिरेले पनि भनेका छन् :

‘हामीले हिमाल उठायौँ एसियाको माझमा
सभ्यता बास बसेथ्यो आएर यहीँ साँझमा’

अर्थात् हामी त्यस देशका बासिन्दा हौँ जहाँ हामीले आफ्नी आमाको काखबाट विश्वको सर्वोच्च शिखर सगरमाथा उचालेका छौँ । यो सौभाग्य संसारका अन्य कुनै राष्ट्रलाई प्राप्त छैन । हाम्री आमाको निधारमा सगरमाथा, छातीमा पहाड र काखमा तराईको सुन्दर फाँट विद्यमान छ ।

यतिमात्र होइन, हामीले आफ्नो देशमा शन्तिका अग्रदूत भगवान् गौतम बुद्धलाई जन्माएका थियौँ । बुद्ध यहीँको लुम्बिनीमा जन्मिएर संसारभरि लुम्बिनीको नाम चम्काए । उनी विश्वमानवका रुपमा चर्चित बन्न पुगे । स्वर्गद्वारीका प्रभूमहाराज एक सामान्य क्षत्रीको परिवारमा जन्मिएर उनी विश्वमानवकल्याणको खातिर भगवान्को रुपमा सर्वपुज्य बन्न पुगे ।

तसर्थ, आज राजनीतिले विभाजन गरेको सीमारेखलाई कुल्चेर हामी भगवान् बुद्ध र सगरमाथाको आदर्शलाई आत्मसात् गरी संसारभरि नौला अयाम, नौला दर्शन र नौलो चिन्तन लिएर झुल्किएका छौँ । धर्तीको जुन कुनामा टेके पनि जसरी हामीलाई केही फरक पर्दैैन । हामी पृथ्वीलाई एउटै साझा घर मान्छौँ ।

किनभने हामी त्यस्तो देशका नागरिक हौँ, जुन देशका महामानव भगवान् बुद्धले आजभन्दा छब्बीस सय वर्ष अगाडि विश्वमानव जगतको कल्याणको खातिर आफ्नो राजदरबार नै त्यागेर उनी आफू भिक्षु वा सन्यासीको रुपमा तपस्या गर्न घरबाट निस्किएका थिए ।

उनले त्यागवादी दर्शनको आविष्कार गरेर आफू रित्तिएर अरुमा भरिनुमा नै ठूलो सुखशान्तिको अनुभूति गरे । यही दर्शनकै केन्द्रविन्दुमा रहेर बुद्धले बुद्धत्वसमेत प्राप्त गरेका थिए । यसरी हाम्रो सनातन हिन्दू धर्म र संस्कृति, आर्य सभ्ता र आर्ष संस्कृतिले हामीलाई साझा चिन्तन र दर्शनको सन्देश प्रदान गरेको छ । जसको आधारमा हाम्रा पूर्वजहरु बाँचेका थिए र आज हामी पनि बाँचिरहेका छौँ ।

तर, पछिल्लो समयमा ज्ञान, विज्ञान, मानव चिन्तन र दर्शन आदि विविध क्षेत्रमा भएको क्रान्तिकारी परिवर्तनले विश्वमानव सभ्यताकै जगतमा ठूलो खैलाबैलाको सिर्जना गरेको छ । संसारका विभिन्न विकसित र विकासोन्मुख राष्ट्रहरुमा भएका भोकवादी र भोगवादी यी दुवैथरिका क्रान्तिहरुले आज विश्व नै पहिरामुनिको वासजस्तै बन्न पुगेको छ ।

आफ्नो निहित व्यक्तिगत स्वार्थ र संकीणर् चिन्तनले कतिखेर विश्वको कुन कुनामा के हुने हो ? भन्ने अनुमान समेत गर्न नसकिने स्थितिको निर्माण भएको छ । विभिन्न शक्तिराष्ट्रहरुले निर्माण गरेका आ-आफ्ना पारमाणविक हातहतियारको दुरुपयोगको कारणले विश्वका निर्धनतम र गरिब राष्ट्रहरुका मानिसहरुको ज्यान समेत अकालमा गइरहेको छ । यो विश्वमानव सभ्यताकै लागि ठूलो चुनौती र दुःखको विषयवस्तु हो ।

यता हाम्रो देश नेपालमा पनि खास गरी पछिल्लो समयमा नितान्त व्यक्तिवादी चिन्तनहरु हावी बन्दै गएका छन् । कथनमा लैङ्गिक समानता, जातीय समानता, वर्गीय समानता, क्षत्रीय समानता आदि समानताका आदर्शहरु सबैले उराले पनि व्यवहारमा भने म खाउँ मैलाऊँ, मै बाँचूँ र मै नाँचूको प्रवृत्ति हाबी बन्दै गएको देखिन्छ ।

हिमाल र पहाडका मानिसहरु तराईतिर झरे भने तराईवासीहरुले हेप्ने प्रचलन झन-झन बढेको देखिन्छ । मधेशका मानिसहरु उपत्यकातिर वा पहाडतिर उक्लिए भने तिनीहरुलाई मधिशे भनेर हेप्ने प्रवृत्ति पनि बढेकै पाइन्छ । अझ संघीय लोकतान्त्रिक गणतन्त्रमा नेपाल प्रवेश गरिसकेपछि विखण्डनवादी चिन्तन र दर्शन झन् हावी भएको अनुभूति हामी सबैलाई हुने गरेकै छ । एक प्रदेशको नागरिकले अर्को प्रदेशको नागरिकलाई हेप्ने प्रचलन पनि दिन प्रतिदिन बढ्दै जाने सम्भावना देखिन्छ । खास गरी कणर्ाली प्रदेश भौगोलिक रुपमा विकट क्षेत्र हो ।

तुलनात्मक रुपमा त्यस प्रदेशका मानिसहरु बसाइँसराइ गरी अहिलेका दुई नम्बर, पाँच नम्बर वा तीन नम्बर प्रदेशतिर आए भने तिनीहरुलाई वक्रदृष्टिले हेर्ने चिन्तन मुलुकमा मुखले नबोले पनि व्यवहारले प्रदर्शन गर्ने प्रवृत्ति बढेकै पाइन्छ । हेक्का रहोस् एक पटक धर्मको नाममा भएको विवादमा मधेशीहरुले पहाडिया मुलका वासिन्दाहरुका बस्ने घरहरु समेत आगो लगाएर लखेट्ने, कुटपिट गर्ने घटना घटेको थियो ।

यदि यही क्षेत्रीय विभेद अहिले पनि कायमै रहने हो भने यो देशको राष्ट्रिय अखण्डताको जगेर्ना कसरी हुन्छ होला र ? पहाडी मूलको वासिन्दा तराई वा भित्रीमधेशका कुनै सरकारी कार्यालयको प्रमुख वा प्रमुख जननिर्वाचित पदमा आसीन भयो भने उसलाई कसरी हुन्छ उक्त पद प्रतिष्ठाबाट विफल बनाउने सकुनी प्रपञ्चहरु भइरहेका देखिन्छन् ।

त्यतिमात्र होइन कुनै तराई प्रदेश वा भित्रीमधेशको वासिन्दा पहाडी प्रदेशका दुर्गम जिल्लाहरुमा अवस्थित कुनै कार्यालयको प्रमुख भयो भने त्यहाँका वासिन्दाहरुले उसलाई कसरी हुन्छ त्यहाँबाट विस्थापित गर्ने चिन्तन बोकेको मात्र होइन विस्थापित समेत गरेका घटनाहरु पनि दिन प्रतिदिन समाचारमा पढ्न वा सुन्न पाइन्छ ।

यदि यही प्रवृत्तिले निरन्तरता पाउँदै गयो भने कसरी मुलुकको सन्तुलित विकास हुन सक्छ ? एउटै देशका मानिस-मानिसबीचमा जातीय, क्षेत्रीय, वर्गीय र राष्ट्रिय अखण्डताको भावनाको विकास हुनसक्छ ? यो प्रश्नचिह्न आज खडा भएकै छ ।

निष्कर्षमा भन्नुपर्दा माथि उल्लिखित प्रसंग वा घटनाको आधारमा भन्नुपर्दा आदिवासी, जनजातिको बस्तीमा अन्य जातजातिका समुदायहरु बस्न नसक्ने मधेशी वा तराईवासीको बस्तीमा पहाडी मूलका मानिसहरु बस्न नसक्ने हो भने आमाकै तनमा आप्रवासी मनको पीडाबोध दिन प्रतिदिन बढ्दै जानेछ ।

फलस्वरुप पारस्परिक रुपमा वैमनस्यता, द्वन्द्व र प्रतिशोधको भावना बढ्दै जनेछ । जसले गर्दा आज विभिन्न विकासोन्मुख राष्ट्रहरुमा देखिएका जातीय युद्ध, धार्मिक युद्धहरुको कारणले ती राष्ट्रहरु नै समाप्त हुन पुगेका छन् । अन्ततः वहुराष्ट्रिय सेनाको समेत हस्तक्षेपकारी भूमिका विकसित भएका घटनाहरु देख्न र सुन्न पाइन्छ ।

आज कोरोना युद्धले जन्माएको युवा बेरोजगारीको कारणले गर्दा मुलुकमा भित्रिने रेमिट्यान्सको दर क्रमिक रुपमा घट्दै गइरहेको स्थिति छ । यस स्थितिमा मुलुकको उत्पादन घट्दै जाने र मुद्राको क्रय शक्ति समेत घट्दै जाने हो भने भोलि मुद्रास्फिति बढ्न गई यो मुलुकले भेनेजुयलाको परिणाम भोग्नुपर्ने दिनहरु आउन सक्छन् भन्ने विद्वान्हरुको अनुमान सार्थक नबन्ला भन्न सकिन्न ।