कोरोनाको कहर अझै सकिएको छैन । कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएका कारण हुलमुल हुन नदिने उद्देश्यका साथ लकडाउनको अभ्यास देशभर अपनाइएको छ । यस्तो अभ्यासका सम्बन्धमा मिश्रित प्रतिक्रिया आइरहेको छ । गरिखानेवर्गदेखि उद्योगी व्यवसायीहरूले लकडाउन हटाउनुपर्ने र सुरक्षित हुँदै सबै गतिविधि हुन दिनुपर्ने तर्क गर्दै आएका छन् । अन्य क्षेत्र पनि क्रमशः यो प्रकारको लकडाउनले प्रभावित हुनथालेका छन् । सञ्चार क्षेत्र समेत नराम्रोसँग प्रभावित बन्दै गएको छ । सूचनाका स्रोतहरूको अभाव हुनथालेको छ । बीचबीचमा पत्रिकाहरू बन्द गर्नुपर्ने अवस्था आएको छ । सुरक्षा सतर्कताका कारण मात्रै नभएर सबै बन्द हुँदा प्रकाशित पत्रिकाहरू कहाँ पुर्याउने भन्ने समस्याले पनि बन्द गर्नुपर्ने अवस्था छ । अन्य सबै क्षेत्रमा लकडाउनले अस्तव्यस्तता निम्त्याइरहेको छ ।
राज्यले पनि आफूलाई कोरोनामै केन्द्रित बनाइरहेको छ । अन्य क्षेत्र लथालिङ्ग हुँदैछन् । अपारदर्शीता, मनोमानी, कमिशनका खेल मौलाइरहेका छन् । कोरोनामा आफूलाई केन्द्रित देखाए तापनि राज्यका संरचनाहरूले प्रभावकारी ढङ्गले काम गरेको भने देखिँदैन । लकडाउन घोषणा गरेर मस्त सुतेको भान हुन्छ । लकडाउनको अवधिमा कोरोना संक्रमणलाई नियन्त्रणभित्र राख्नका लागि, नागरिकलाई उपचारको भरपर्दो प्रबन्ध मिलाउनका लागि, संक्रमित पहिचान र उनीहरूको व्यवस्थापनका लागि लकडाउनका अवधिमा थप काम हुनुपर्ने हो । तर, स्वास्थ्य व्यवस्था लकडाउनभन्दा पहिले र लकडउनपछिको अवस्थामा कुनै फरक देखिँदैन । त्यसकारण लकडाउन घोषणा गर्नुले कुनै तात्विक भिन्नता वा परिणाम दिनसकेको मान्न सकिँदैन । संक्रमण नागरिक स्तरमा वा समुदायमा फैलिएको भन्ने गरिन्छ । तर त्यो समुदायलाई पहिचान गरेर तत्काल परीक्षणको दायरामा ल्याउने सन्दर्भमा प्रभावकारी र भरपर्दो काम हुन सकिरहेको छैन । सबै गतिविधि ठप्प पारेर मात्र संक्रमण नियन्त्रित हुन्छ भन्ने एकांकी सोच परित्याग गरेर अगाडि बढ्न आवश्यक देखिन्छ । आर्थिक क्रियाकलाप ठप्प हुँदा निम्न तथा मध्यमवर्गको आम्दानीको स्रोत सुक्दै जान थालिसकेका छन् । सम्पन्नवर्गमा पनि अवस्था यस्तै भयो भने समस्या आउने नै छ । सानोतिनो व्यवसाय गरेर २/४ जनालाई रोजगारी दिनेहरू झनै समस्यामा परेका छन् । व्यवसाय बन्द हुँदा आम्दानी छैन, कामदारलाई तलव दिनुपरिरहेकै छ । त्यसकारण जनजीवनमा सिर्जित यस्ता समस्याहरूलाई समेत ध्यानमा राखेर निणर्य गरिनु पर्दछ ।
नागरिकमा नयाँ परिवेश अनुसारको जीवनशैलीमा आफूलाई ढाल्नु पर्छ भन्ने चेत जागिसकेको छ । अब त्यसलाई अभ्यासमा लैजाने क्रम पनि सुरु भइसकेको छ । त्यसकारण थुनेरै राख्नुपर्छ भन्ने मानसिकता झिक्नु पर्दछ । कहीँ विशेष अवस्थामा, भीडभाड हुने स्थानहरूमा भने नागरिकबाट मात्रै पूणर् सतर्कता नअपनाइएको हुनसक्छ । त्यस्तो बेलामा प्रशासनको भूमिक अपेक्षित पनि हुन्छ । तर, अब मानिसको रोजीरोटी नबन्ने, व्यसाय नचल्ने, आम्दानीका स्रोतहरू सुक्दै जाने रूपमा लकडाउन उपयुक्त छैन । यसतर्फ सबैको ध्यान जाओस् ।