अमरराज आचार्य
दाङ, २१ भदौ । दाङमा लकडाउनको स्वरुप परिवर्तन गरिएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको आइतवार बसेको बैठकले जिल्लामा निषेधाज्ञा सोमवारदेखि २८ गतेसम्म खुकुलो बनाउने निणर्य गरेको हो ।
बैठकले न्यूनतम स्वास्थ्य मापदण्ड अपनाएर तथा भीडभाड नगरेर दैनिक अत्यावश्यक सामग्रीलगायतका व्यवसाय बिहान ६ बजेदेखि अपरान्ह १२ बजेसम्म सञ्चालन गर्न सक्ने निणर्य गरेको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ ।
कोरोना भाइरसको संक्रमणको जोखिम भने कायमै रहे पनि दैनिकीलाई केही सहज बनाउनका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर निषेधाज्ञालाई केही खुकुलो पारिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताएका छन् ।

सोमबार बिहान ६ बजेदेखि भदौ २८ सम्मका लागि मध्यान्ह १२ बजेसम्म बजार खोल्न दिने निणर्य भएको हो । बजार खोल्दा विशेष सुरक्षा सावधानी अपनाउन र व्यापार व्यवसाय गर्दा भौतिक दूरी कायम गर्न भनिएको जिल्ला सुरक्षा समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।
हालको अवस्थामा सार्वजनिक सवारी सञ्चालन गर्न कठिन भएको हुँदा निजी सवारी साधनको हकमा भने जोर-विजोर प्रणाली लागू हुने भएको छ । सार्वजनिक यातायातका साधनहरु भने कुनै पनि दूरीमा चल्न पाउने छैनन् । ‘बजार खुल्ने समयमा जसरी निजी सवारी पनि जोर-विजोर प्रणालीका आधारमा सञ्चालन हुनेछन्’, प्रमुख जिल्ला अधिकारी रिजालले भने ।
सार्वजनिक सवारी सञ्चालनका विषयमा भने भदौ २८ गतेपछि अवस्था हेरेर निणर्य गरिने प्रमुख जिल्ला अधिकारी रिजालले बताए । बिहान ६ घण्टाका लागि खुल्ने बजार मध्यान्ह १२ बजेपछि नियमितरुपमा नै निषेधाज्ञा लागू हुने उनले बताए । यो अवधिमा पनि हिँड्डुल गर्दा र व्यावसायिक कारोवार गर्दा मास्क नलगाउने र भीडभाड गर्ने जो-कोहीलाई पनि कानुनबमोजिम कारबाही गर्ने पनि बैठकले निणर्य गरेको छ ।
त्यसैगरी विकास निर्माणका कामलाई पनि सहज बनाइएको छ । विकास निर्माणका सामग्रीहरु बोकेका यातायात साधनलाइ रोकतोक लगाइने छैन । यद्यपि काम गर्दा भने सामाजिक दूरी कायम गरी स्वास्थ्यका मापदण्ड भने पालना गर्नुपर्ने पनि बैठकले निणर्य गरेको छ । जिल्लामा पक्की पुल निर्माण, विकास निर्माणका कच्चा पदार्थ उत्पादनलगायत सम्बन्धित स्थानसम्म ढुवानीमा पनि रोकतोक हुने छैन ।
यसअघिको निषेधाज्ञामा सरकारी स्वामित्वका बैंकबाहेक सबै निजी बैंक तथा वित्तीय संस्थाहरु ठप्प पारिएको अवस्थामा अब भने सम्पूणर् बैंक तथा वित्तीय संस्थाहरु दैनिक दुई घण्टा सेवा प्रवाह गर्न पाउने छन् । तर जनतालाई सेवा प्रदान गर्दा स्वास्थ्य मन्त्रालयले तोकेका न्यूनतम सुरक्षा मापदण्ड भने अपनाउनुपर्ने पनि बैठकले निणर्य गरेको हो ।
जोखिम भयावह हुन नदिन भन्दै भदौ १ गतेबाट रात्रिकालीन समय गर्दै आएको निषेधाज्ञाको समय भदौ १४ गते राति १२ बजेपछि पूणर्कालनी बनाएको थियो । जसको समय राति १२ बजेपछि सकिनै लागेको बेला फेरि १ साताका लागि निषेधाज्ञाको समय बढाइएको छ ।
निषेधाज्ञाको स्वरुप परिवर्तन गरिएसँगै जिल्लामा कोरोना भाइरसका संक्रमितहरु विशेषगरी घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकामा बढी देखिएको निष्कर्ष निकाल्दै बैठकले यी पालिकाहरुमा कन्ट्रयाक्ट ट्रेसिङको दायरा बढाउने पनि निणर्य बैठकले गरेको बताइएको छ ।
यसका लागि जिल्ला स्वास्थ्य कार्यालयले सम्बन्धित पालिकासँग समन्वय गर्नेछ । यता दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले हालको अवस्थामा गरिएको निणर्य समयानुकूल नै रहेको बताएका छन् । उनले सबैको राय-सुझाव र कोरोनाको जोखिमलाई मध्यनजर गर्दै गरिएको निणर्य उद्योगी व्यसायीहरुका लागि ठिकै रहेको बताए । ‘हामीले लकडाउन खुकुलो बनाउन माग गरेका थियौं, सबै कुरा त पूरा भएनन् तर अहिलेका लागि ठिकै छ’, अध्यक्ष भुसालले भने ।
सचेत रहन तुलसीपुर उवासंघको आग्रह
यसैबीच स्वरुप परिवर्तन गरिएको निषेधाज्ञाको तुलसीपुर उद्योग वाणिज्य संघले पनि स्वागत गरेको छ । यद्यपि कोरोना भाइरसको संक्रमणको जोखिम भने दिनदिनै बढिरहेको अवस्थामा विशेष स्वास्थ्य सावधानी अपनाएर मात्र व्यापार व्यवसाय सञ्चालन गर्न संघले आग्रह गरेको हो ।
‘व्यवसायीको सहजतासँगै नागरिकको दैनिक आवश्यकताका लागि निषेधाज्ञाको स्वरुप परिवर्तन गरिएको मात्र हो, निषेधाज्ञा खुकुलो पारिएको अर्थमा नबुझिदिन आम व्यवसायीहरुलाई आग्रह गर्दछु’, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बीरवहादुर रावत (बीरु)ले भने । उनले विशेषगरी तुलसीपुर बजार क्षेत्रमा संक्रमणको जोखिम अझै बढेको स्मरण गर्दै यसबाट आफू जोगिन र अरुलाई पनि जोगाउन सम्पूणर् उद्योगी व्यवसायीहरुको अहम् भूमिकाको अपेक्षा गरे ।
लकडाउन खुकुलो बनाउन उवासंघको माग
दाङ जिल्ला उद्योग वाणिज्य संघले जिल्लामा लकडाउन खुकुलो बनाउन माग गरेको छ । लामो समयको लकडाउनले रोगले भन्दा भोकको समस्या हुन थालेको भन्दै संघले यस्तो माग गरेको हो । लामो समयसम्म लकडाउन व्यवसायीहरुलाई हुँदा बैंकको व्याज तथा घरभाडा बुझाउन समेत नसक्ने अवस्था रहेको व्यवसायीहरुको भनाइ रहेको छ ।
संघका कार्यसमिति तथा पूर्व अध्यक्षहरुको आइतवार बसेको बैठकले यस्तो माग गरेको संघका महासचिव नरेश कार्कीले जानकारी दिए । मागको सुनुवाई नभएमा संघ कडारुपमा अगाडि बढ्ने महासचिव कार्कीले बताए । बैठक संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा भएको थियो । यसअघि जिल्लामा रहेका उद्योग वाणिज्य संघका अध्यक्षहरुको बैठकले लकडाउन खुकुलो बनाउन माग गरेको थियो ।