दाङ,१४ भदौ । कोरोना विशेष देउखुरी आइसोलेसन सेन्टर लालमटियामा उपचाररत एक जना कोरोना संक्रमित एक्कासी प्रेसर बढेर हातखुट्टा नचल्ने र अर्धचेत भएपछि उनलाई थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ ।
दिउँसो करिव तीन बजेतिर विरामीमा एक्कासी प्रेसर बढेर चक्रराएका थिए । लमहीस्थीत सम्राट सिमेन्ट उद्योगमा कार्यरत भारत घर भएका ४० बर्षीय संक्रमित साउन ३२ गते कोरोना संक्रमण देखिएपछि आइसोलेसन सेन्टरमा भर्ना भएका थिए ।
‘उनमा सुरुमै लक्षणसहितको कोरोना संक्रमण देखिएको थियो, त्यसपछि हामीले आइसोलेसन सेन्टरमा राखेर उपचार गरिरहेका थियौ’–कोरोना विशेष देउखुरी आइसोलेसन सेन्टरका प्रमुख डा. पुष्प भुषालले भने–‘संक्रमितमा ज्वरो कम भैसकेको थियो तर आज एक्कासी पे्रसर बढेर हातखुट्टा लुलो भएर अर्धचेत भएपछि उनलाई नेपालगंज मेडिकल कलेज कोहलपुर रिफर गरेका हौ ।’
उनले विरामीमा थप समस्या देखिएपछि सिटीस्कान र इसिजी गर्नुपर्ने भएकाले भएकाले विरामीलाई रिफर गर्नुपरेको समेत उनले बताए । सिमेन्ट उद्योगमा भारतीय मजदुरका रुपमा कार्यरत उनी डिस्चार्जको तयारीमा रहेका बेला थप समस्या देखिएको हो । कोरोना विशेष देउखुरी आइसोलेसन सेन्टरमा उनीसहित ९ जना कोरोना संक्रमित उपचाररत थिए ।