किन फैलँदैछ कोरोना

नेपालमा करिब ३७ हजार व्यक्ति कोरोनाबाट संक्रमित भएकामध्ये २० हजार बढी निको भएर घर फर्किसकेका छन् । बाँकी उपचाररत संक्रमितहरुको अवस्था राम्रो नै छ भन्ने छ र उनीहरु पनि निकट समयमै निको भएर घर फर्कने छन् । यो वैश्विक महामारीको जटिल परिस्थितिमा म चाहन्छु कसैले पनि नराम्रो सुन्नु नपरोस्, नराम्रो देख्नु नपरोस् र नराम्रो भोग्नु नपरोस् ।

हामी समाजमा बस्छौंँ समाजमा बसिसकेपछि हाम्रा केही सामाजिक उत्तरदायित्व र कर्तव्य पनि हुन्छन् र ती हामीले निर्वाह गर्नुपर्ने हुन्छ । हामीले हाम्रो काँधमा आफ्ना नागरिक जिम्मेवारीहरु बोक्नुपर्ने हुन्छ । तर, विडम्बना हामी अधिकार मात्र खोज्छौँ, कर्तव्य र जिम्मेवारी बिर्सन्छौँ ।

कोरोना सँगसँगै हाम्रो समाजका धेरै विसङ्गतिहरु देख्न र सुन्न पाइयो । यी विसङ्गतिको कारण भनेको सामजिक जिम्मेवारीबोध नहुनु र कोरोना रोगको बारेमा विस्तृत जानकारी नहुनु नै प्रमुख कारण भएको मेरो बुझाई हो । यो वैश्विक महामारी अहिलेको सन्दर्भ र संक्रमितहरुको संख्या हेर्ने हो भने समुदाय स्तरमा फैलिइसकेको अवस्था हो ।

हिजोको दिनमा बाहिरबाट आएकाहरु क्वारेन्टाइनमा थिए । पोजेटिभ देखिएकाहरुको आइसोलेशनमा उपचार भयो, कोरोनासँगको लडाई जितेर घर फर्के भने केहीले यही रोगको कारणले मृत्यु वरण गर्नुप¥यो । यस महामारीको कारण ज्यान गुमाउनुहुने सम्पूर्ण आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।

कोरोनाको महामारी यति धेरै लकडाउन र पछिल्लो समयमा भइरहेका निषेधाज्ञाका वावजुद पनि फैलनुका विविध कारणहरु छन् । ती मध्ये केही कारणहरुको चर्चा गरौँ ।

१. सूचना–सम्प्रेषण :

हिजोको दिनमा डब्लुएचओ. र बिबिसीजस्ता संस्थाले यो एक सामान्य फ्लुजस्तै हो, त्रसित हुने अवस्था छैन तर यस रोग विशेषको औषधी तथा खोप नबनिसकेको अवस्थामा उच्च सावधानी अपनाउनुपर्ने र सचेतना फैलाउने कुरामा जोड दिएको पाइन्छ तर विभिन्न अनलाइन मिडिया तथा सामाजिक सञ्जालहरुमा आउने अफवाहहरु तथा भ्रामक समाचारहरुले निकै त्रसित बनायो ।

जसले गर्दा कोरोना लागेका विरामीहरु सामाजिक वहिष्करणमा पर्ने खतरा बढेर गयो । उनीहरु रोग देखिएको सवालमा आफूलाई एक्सपोज गर्न चाहेनन् । जसले गर्दा कन्ट्याक्ट ट्रेसिङमा बाधा पु¥यायो । जसले गर्दा केही रोगीका सम्पर्कमा आएका व्यक्तिहरु पिसिआर टेस्ट गर्न छुटेका हुन सक्छन् । यदि कसैलाई देखिएको छ भने कृपया हिम्मत जुटाउनुहोस् र आफूलाई एक्सपोज गर्नुस्, जसबाट संक्रमणको दर घटेर जानेछ ।

२. क्वारेन्टाइन तथा आइसोलेशनमा भएका लापरवाही :

सुरुका दिनहरुमा कोरोनालाई जसरी हाउँगुजीको रुपमा स्थापित गरियो त्यसको असर प्रत्यक्ष रुपमा क्वारेन्टाइन तथा आइसोलेशनमा बसेका विरामीहरुलाई प¥यो र सामान्य जीवनजल नपाएर पनि ज्यान गुमाउनुपर्ने अवस्थाको सिर्जना भयो ।

धेरै केशहरुमा मृत्युपछि कोरोना पोजेटिभ भएको भन्ने पुष्टि भयो । जसले गर्दा जनमानसमा क्वारेन्टाइन तथा आइसोलेशनमा गए मरिन्छ कि भन्ने त्रास बढेर गयो र सम्भाव्य बिरामीहरु पनि चेकजाँचको लागि कहीँ कतै नगई घरमै बसे । यसले समुदाय स्तरमा रोग फैलनसक्ने सम्भावना र जोखिम दुवै बढायो ।

३. सामाजिक अपहेलना :

कोरोनाको महामारीमा अग्रपंक्तिमा उभिएर उच्च जोखिममा रही कार्य गरिरहेका स्वास्थ्यकर्मीहरुलाई सम्मान तथा उनीहरुको आत्मबल बढाउनको लागि स्याबासी दिनुपर्ने ठाउँमा धेरै स्थान विशेषहरुमा अपहेलना तथा तिरस्कारको शिकार हुनु प¥यो ।

स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, टोल–छिमेकमा बस्न नदिनेसम्मका कुरा सुन्न पाइयो । कति लाजमर्दो कुरा ! यसले देखाउँछ हाम्रो समाजको असली रुप । स्वास्थ्यकर्मीहरु आफै सचेत र सावधानीपूर्वक रहेका हुन्छन् र आफ्नो कारणले अरुलाई नसरोस् भनेर सतर्क पनि रहन्छन् ।

यी कुराहरुले उनीहरुको मनोबल घटाउने काम ग¥यो भने अर्कोतिर उनीहरुलाई यदि मलाई कोरोना भइहाल्यो भने सामाजिक बहिष्करण त हुनु पर्दैन भन्ने डरले बिरामी र स्वास्थ्यकर्मीबीचमा दूरी कायम ग¥यो । यसका साथै सामान्य मानिसमा पनि यदि कोरोना देखियो भने आफू सामाजिक अपहेलनाको मारमा पर्ने डरले गर्दा संकुचित हुन पुगे ।

४. सरकारको लापरवाही :

सरकारले समयमै यो वैश्विक महामारी नेपालमा पनि फैलनसक्ने उच्च जोखिमलाई नोटिस गर्न सकेन । जसको कारणले सावधानी र पूर्व तयारीहरु राम्रोसँग हुन सकेनन् । क्वारेन्टाइन सेण्टर र आइसोलेशनहरु कमजोर तथा न्यूनतम सुविधाविहीन रहन गए ।

स्वास्थ्यमन्त्रालयबाट लक्षण नदेखिएकालाई सिधै गर पठाउने भन्ने सर्कुलर समेत जारी भयो । जसले गर्दा कतिपय मानिसहरु गाउँघर पुगिसकेपछि लक्षण देखियो र समुदायमा संक्रमण फैलिने जोखिम बढेर गयो । जसको परिणाम हामी अहिले देख्दै छौँ ।

सरकारी स्तरबाटै समय–समयमा यो त केही होइन भन्नेजस्ता अभिव्यक्तिहरुले जनसमुदायमा, जडिबुटी, अदूवा, बेसार खाएका हामी नेपालीलाई यो रोगले छुँदैन भन्ने जस्ता भ्रम सिर्जना हुनपुग्यो । यसले असावधानी तथा चरम लापरवाहीको वातावरण निर्माण भयो ।

५. मजदुर सम्बोधन :

सरकारले निम्न आय भएका मजदुर तथा दैनिक ज्यालादारीमा काम गरी जीविकोपार्जन गर्नेलाई प्राथमिकतामा राखि विशेष राहत प्याकेजहरु ल्याउने, उनीहरुको बस्ने, खाने व्यवस्था मिलाउन सक्नु पर्दथ्यो । जुन कुरा सम्बोधन हुन सकेन ।

जसले गर्दा उनीहरु अझ बढी आर्थिक मारमा त परे नै साथै आजको दिनसम्म आइपुग्दा रोगले भन्दा पनि बढी भोकले मर्नसक्ने वातावरण बन्यो र उनीहरु काम गर्न समूहमा बस्न, सुत्न बाध्य छन् । जसको असर कोरोना संक्रमणमा पनि प¥यो ।

६. आफ्नोपन तथा विश्वास :

विशेष गरी आफ्ना इष्टमित्र, साथीभाइ, छिमेकी, सहकर्मी आदिलाई उनीहरुले पनि सावधानी अपनाएकै छन्, उनीहरुलाई कोरोना छैन भन्ने आफ्नोपन र विश्वासको कारणले उनीहरुसँग सामाजिक दूरी र सावधानी तथा सतर्कता नअपनाएको कारणले पनि संक्रमण बढेको देखिन्छ । यस कुरामा पनि समयमै सजक र सतर्क हुन जरुरी छ ।

हामीले सुनिरहेको र मैले पनि बारम्बार भनिरहेको कुरा के हो भने कुनै पनि संक्रामक रोगले महामारीको रुप लिएमा सो महामारीको चेन ब्रेक गर्नु अपरिहार्य रहन्छ । भाइरस आफै फैलँदैन, यो फैलनको लागि कुनै माध्यम चाहिन्छ ।

अहिलेको हकमा मानिस नै रोग फैलाउनसक्ने प्रमुख माध्यम भएको सन्दर्भमा लकडाउन नै यस माहामारीबाट बच्ने, बचाउने तथा निरन्तर फैलिइरहेको यस भाइरसको चेन ब्रेक गर्न सकिने एक प्रमुख आधार थियो ।

हिजोको दिनमा सरकारद्वारा लकडाउनलाई व्यवस्थित गर्नुका साथै कन्ट्याक्ट ट्रेसिङ र चेकिङ अनि क्वारेन्टाइन र आइसोलेशनलाई तीब्र गतिमा लगि संक्रमणको अवस्था निर्मुल भएमा, संक्रमित सबै पत्ता लागि उपचारको क्रममा रहेको र अन्य संक्रमित थपिन सक्ने सम्भावना नरहेमा रोगको आधिकारिक खोप तथा औषधी बनेको तथा सजिलै सर्वशुलभ रुपमा उपलब्ध हुने वातावरण सिर्जना भएमा वा राष्ट्रले जस्तोसुकै विषम परिस्थितिमा पनि संक्रमित हुने तथा सम्भाव्य सबैलाई औसधोपचारको लागि ग्यारेन्टी गर्न सक्ने, जनसाधन तथा सुविधाको सुनिश्चितता गरेर मात्र लकडाउन खोल्नुपर्ने थियो ।

तर त्यो अवस्थाको महशुस नहुँदै लकडाउन खुलेकाले समुदायमा संक्रमित हुने सम्भावना बढेर गयो । जसको प्रतिफल अहिले हामीले देखिरहेका छौँ अनि भोगि पनि रहेका छौँ । आजको दिनमा लकडाउन खुलिसकेको अवस्थामा कसैलाई कोरोना पोजेटिभ देखिएमा तत्काल निशेधाज्ञा लगाउन जरुरी र निर्विकल्प नै हो ।

जसले गर्दा कन्ट्याक्ट ट्रेसिङ गर्न र संक्रमण फैलन सक्ने जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ तर हप्तौँ निशेधाज्ञा जारी गर्दा फेरि पनि स्थानीय सरकार तथा प्रशासनले निम्न आयस्तर भएका र दैनिक ज्यालादारीमा जीविकोपार्जन गर्नेलाई सम्बोधन गर्नुपर्ने हुन्छ, जसको अभाव देख्छु मैले । स्मरण रहोस्, सबैले बाँच्न पाउने अधिकार छ र कोही भोकै मर्न नपरोस् भनेर सचेत त हुनै पर्छ, सम्बन्धित सबै सरोकारवालाहरु ।

आजको अवस्थामा कृपया घरमै बसौँ, सुरक्षित रहौँ, सरकारको आदेशको पालना गरौँ, उच्च सावधानी अपनाऔँ, आफू मानवताको परिचय दिऔँ, सहयोग र सहानुभूति प्रदान गरौँ, बाँचौं र अरुलाई पनि बचाऔँ ।