पुष्पा शर्मा
शम्भुको आत्महत्यालाई न त शहरले पत्याइरहेको छ न त उ जन्मेको हुर्केको गाउँले नै । सबैका लागि पत्यारै नलाग्ने तर सत्य घटना बनेर उभिएको छ, आत्महत्या । एकाविहानै जंगलमा घाँस काट्न गएका गाउँलेले उसको लाश रुखमा झुण्डिएको अवस्थामा भेटे । खबर गरे । प्रहरीले मुचुल्का उठायो । आत्महत्या भनेर लेखियो, कागजातमा ।
गाउँको जीवन होस् वा शहरको सबैको मन जितेको थियो उसले । सबैमा उत्साह अनि ऊर्जा थप्ने शम्भु । सकारात्मक चेत प्रवाह गर्ने शम्भु । शिक्षा र चेतनालाई समानान्तर रूपमा फैलाउँदै हिड्ने शम्भु । अनि परोपकारको पर्याय बन्दै गरेको शम्भु । यो अद्भूत क्षमताले धपक्क बलेको युवाले कसरी आत्महत्या गर्न सक्छ ? पत्याउने कसरी ?
गाउँको आशाको केन्द्र बनेको थियो शम्भु । सामाजिक काममा ऊ सधैँ अग्रसर । सेवा उसको संकल्प नै थियो । रातविरात सहयोग गर्नसक्ने सबैको विश्वासिलो ठिटो । घरमै बसेर बिएसम्मको पढाई सिध्याएपछि गाउँ नै मलिन भएको थियो । बधाई दिने क्रममा गाउँलेका अनुहारमा ऊर्जा भन्दा चिन्ताको भाव देखिन्थ्यो । कारण थियो, शम्भुको काठमाडौं गएर एमए पढ्ने योजना । गाउँ केही समयका लागि एउटा नेताको अभाव महशुस गर्न वाध्य बन्दै थियो ।
रामेछापको सुन्दर गाउँमा बाबाआमाको एक्लो छोराका रुपमा शम्भुको जन्म भएको थियो । त्यस गाउँका मानिसहरु खेतीपातीको काम गर्थे । गाउँसम्म मोटर बाटो पुगेको थिएन । सदरमुकाम पुग्न एक दिनभरि लाग्थ्यो । शम्भुले गाउँकै स्कूलबाट एसएलसी पास गरी उच्च शिक्षाको लागि सदरमुकाम जानुपरेको थियो । उच्च शिक्षाको साथसाथै बिएसम्मको अध्ययन पनि त्यहीँबाट नै पूरा गर्यो । अब त्यो भन्दा अगाडि पढ्नको लागि त्यहाँ सुविधा नभएकोले उसले अब आफ्नो पढाइलाई निरन्तरता दिन काठमाडौं जाने विचार गर्यो ।
‘बाबा अब म बाँकी पढाईको लागि काठमाडौं जान्छु । बिएसम्म त यहीँ क्याम्पस थियो र पढेँ तर अब बाहिर जानैपर्छ । काठमाडौं ठूलो शहर हो, त्यहाँ गएपछि अनेक अर्थ लाग्छ, भनेजस्तो जागिर पाइन्छ, आयोगको तयारी गर्ने अवसर हुन्छ ।’
छोराको कुरा सुनेर ‘यहाँको अवस्था यस्तै छ, हामी पनि अब बुढाबूढी भयौँ । कति दिन हामीले पुराउन सकौँला र ? जे सोचिस् राम्रै सोचिस् ठिक छ म जाने व्यस्था गरिदिन्छु तर काठमाडौं गएर आफ्नो घरपरिवार र तँलाई यत्रो विश्वास गर्ने र भरोषा मान्ने यो समाजको चटक्क माया नमार्नु । हामी दुवैको सहारा अनि भरोषा तँ नै होस्, सँगै यो समाज पनि त क्रमशः तँसँग आश्रित बन्दै गएको छ, हाम्रो चित्त दुखाउने काम कहिल्यै नगर्नु ।’
छोरालाई शहर पठाउने चामल, दाल र तीस हजार रुपैयाँको जोहो गरिदिए ्रशम्भुले । आफ्ना झोला तथा अन्य सामानहरु आँगनमा तयार पार्यो । आमाले एउटा हातमा रातो अक्षता र अर्को हातमा दही लिएर आँखाबाट आँसु चुहाउँदै देखापरिन् । छोरालाई टीका लगाउँदै आशीर्वाद दिइन्-‘राम्रोसँग पढ्नू, ठूलो मान्छे हुनु, नराम्रो बाटोमा नलाग्नु, समय समयमा घर आउनु, जस्तोसुकै परिस्थितिमा पनि सत्यको साथ नछोड्नु ।’
हस् आमा भन्दै बाबाआमालाई ढोग गरेर आफ्नो गन्तव्यतर्फ लाग्यो । त्यो बेला सिङ्गो गाउँ नै त नभनौँ हरेक घरको प्रतिनिधित्व हुने गरी एउटा भीड शम्भुको घर अगाडि उपस्थित थियो । एउटा वियोगको क्षणजस्तो देखिन्थ्यो त्यो । मलिन मुहार, रसिला आँखा अनि बिदाईका लागि हल्लिँदै गरेका हातहरू ।
शम्भु सदरमुकामबाट बेलुका चढेको गाडी भोलिपल्ट काठमाडौँ आइपुग्यो । कोटेश्वरमा उसले आफ्नो साथीलाई लिन आउन भनेकोले साथी प्रित ट्याक्सी लिएर उपस्थित भइसकेको थियो । सरासर साथीकै कोठामा गएर सामान झार्छन् । यसरी शम्भुको काठमाडौंको बसाई सुरु भएको थियो ।
पहिला-पहिला त काठमाडौंको महँगी, त्यसमा पनि मानवताविहीनहरुको बस्ती । न कतै कुनै सहयोग न त सरसापट, शम्भुलाई यो शहरमा जम्न निकै कठिन भयो । आफ्नो गाउँ, गाउँलेहरूको आफूप्रतिको विश्वास, सहयोगी भाव सबै सम्झन थाल्यो । कस्तो फरक गाउँ र शहरमा ! सुस्केराको सहारामा तनाव र छट्पटीयुक्त समय कटाउँदै गयो, उसले । अनि, घरिघरि आमाले पकाएको खाना सम्झिन्छ, घरि आफ्ना बाबाआमा र गाउँघर सम्झँदै टोलाउँछ्र । यस्तैमा प्रित आएर उसलाई झसङ्ग पारेर तर्साउन खोज्थ्यो । कलेज जानथालेपछि भने उसले अन्य केही साथीहरु बनाएको थियो ।
घरबाट ल्याएको पैसा कलेज भर्ना र कोठाभाडा तिर्दातिर्दै सकियो । फेरि घरमा पैसा पठाइदिनु भन्ने खबर पठायो । उताबाट ठिक्क अड्कलेर मात्र पैसा आयो । केही समयपछि अब शम्भु पहिलाजस्तो थिएन, उसलाई पनि साथीहरू सरह लाउने, खाने, घुम्ने रहर लाग्न थाल्यो । त्यति पैसाले उसलाई पुग्ने कुरै भएन । आफ्नो अन्य खर्चको लागि जागिर गर्ने विचार गर्यो । साथीहरूको सहयोगले एउटा निजी स्कूलमा पढाउन थाल्यो । विहान कलेज दिउँसो स्कूल गरेर आफ्नो पढाईलाई निरन्तरता दियो ।
यसैगरी उसले पहिलो वर्षको परीक्षमा राम्रै नम्बर लिएर पास गर्यो । शम्भुको लगनशीलता र मिहिनेती बानी देखेर स्कूलका सरहरु निकै खुशी थिए । उसलाई थप जिम्मेवारी दिएर स्कूल प्रशासनले स्कूलमै बस्ने व्यवस्था गरिदियो । अब भने उसको पढाईमा विस्तारै असर पर्न थालेको थियो । अहिले उसको कमाई पनि राम्रै थियो, घरबाट पैसा मगाउनु परेको थिएन बरु उल्टै बीचबीचमा पठाउने गरेको थियो ।
एक दिन अचानक घरबाट खबर आयो ‘बाबा विरामी हुनुहुन्छ, जसरी भए पनि छिट्टै आऊ ।’ ऊ स्कूलमा बिदा मिलाएर तुरन्त गाउँतर्फ प्रस्थान गर्यो । बाबालाई सदरमुकामको अस्पतालमा भर्ना गरेको रहेछ । घरमा काम गर्दागर्दै अचानक बेहोस भएर लडेका रहेछन् अनि छिमेकीको सहायताले त्यहाँसम्म ल्याएका रहेछन् । बाबालाई अस्पतालको बेडमा पल्टेको देख्दा शम्भुको मन अशान्त हुन्छ । यत्तिकैमा डाक्टर आएर ‘आतिनु पर्दैन, उहाँलाई मधुमेह देखिएको छ, त्यसकै कारणले बेहोस हुनुभएको हो । विशेषगरी खानपानमा ध्यान दिनुहोला मैले औषधि लेखिदिएको छु, बिहानबेलुका गरी खान दिनुहोला ।’ शम्भु एक हप्तासम्म बुबाको सेवा गर्दै गाउँमै बस्यो । बाबालाई अलि विषेक भएपछि मात्र ऊ काठमाडौं फर्केको थियो ।
यसैक्रममा त्यही स्कूलमा पढाउने निशा मिसको मृगनयनी आँखा र मीठो मुस्कानले शम्भुलाई विस्तारै आकर्षित पारिरहेको थियो । उसले आफ्नो मनमन्दिरमा निशा मिसको तस्वीर सजाइसकेको थियो । विभिन्न वहाना खोज्दै उनको अगाडिको आफूलाई उभ्याउँथ्यो । यसरी नै उनीहरुबीच अलि हिमचिम बढ्न थाल्यो । स्कूल बाहिर कामको वहाना गर्दै एकअर्कालाई भेट्ने, कफी खाने गर्न थाले । एक दिन हिम्मत जुटाएर निशालाई शम्भुले विहेको प्रस्ताव राख्यो । ‘निशा म तिमीलाई अगाढ प्रेम गर्छु, कहिल्यै नओइलाउने दुवोसरी, कहिल्यै कर्तव्य नबिर्सने बिहानीको सूर्यझैँ अनि कहिल्यै नमेटिने समयको गतिजस्तै म तिमीलाई अनन्त प्रेम गरिरहने छु, के तिमी मसँग विहे गछ्र्यौ ?’
शम्भुको एकएक शब्द निशाको मन मस्तिष्कमा घुमिरह्यो । ऊ निःशब्द मौन भएर बसिरहेको बेलामा अचानक निशा ! निशा !! को आवाजले झसङ्ग भई -्र ‘मैले यतिबेरसम्म के कुरा भनेँ सुन्यौ ?’
लाजालु मुस्कानसहित निशाले पनि आफ्नो मौन स्वीकृति दिएकी थिई ।
निशाले पनि शम्भु जस्तो आकर्षक व्यक्तित्व, इमानदार, मेहनती केटा मन नपराउने कुरै भएन । नियमित भेटघाट रसम्पर्कले उनीहरुको मायाप्रेमले झाँगिने मौका पायो । एकअर्कालाई राम्रोसँग बुझिसके पछि दुवै वैवाहिक बन्धनमा बाँधिन चाहन्थे । दुवैको घर सल्लाह गरेर बिहे पनि सम्पन्न भयो । अब दुवैजना एउटा फ्ल्याट लिएर ब्यवस्थित तरिकाले बस्न थाले । अहिले शम्भुले आफ्नो पढाइ पूरा गरिसकेको थियो । दुवैजनाको पेशा यौटै, कार्यक्षेत्र यौटै संगै स्कुल जाने संगैआउनेउनीहरुको दिन राम्रैसंग बितिरहेको थियो । उता घरमा आमालाई बाथ रोगले च्यापे छ । बाबासंगै आमाले पनि अब नियमित औषधि खानु पर्ने भयो ।
यस्तैमा एक दिन बाबालाई प्रेसरले हानेछ । आमाले रुँदै कराउँदै छिमेकीको सहयोगमा सदरमुकाम ल्याउनु भएछ । डाक्टरको सल्लाहले काठमाडौँ लिएर आउनु भयो ।
सहिद गंगालाल अस्पतालमा डाक्टरको चेकअप पछि शम्भुले बाबा आमालाई कोठामै बसाल्यो । फेरि फेरि यस्तैगरी प्रेसरले हानेमा अप्रेसन गर्नु पर्ने कुरा डाक्टरले भनेको हुन्छ । त्यसैले बाबालाई धेरै तनाव हुने काम कुरा नगर्न सबैलाई भनेको थियो ।
निशा गर्भवती भएको चार महिना बितिसकेको थियो । आफ्नो घरमा नयाँ सदस्यको आगमन हुने खबरले बुढा बुढी निकै खुशी देखिन्थे ्र बुहारी दुई जिउ भएकीले उनीहरु बच्चा नहुन्जेलसम्म काठमान्डौमा बस्ने निणर्य गरे । अब शम्भु र निशाको दैनिकी परिवर्तन भयको थियो । बिरामी बाबा आमा, सहरको ठाउँ
महङ्गीले आकास छोएको थियो । वचत गरेको पैसा पनि अलि अलि खर्च भैरहेको थियो । केही समय पछि निशा पनि स्कुल जान नसक्ने अवस्थामा पुग्छिन । सम्पूणर् जिम्मेवारी शम्भुको काँधमा आई लाग्छ ्र ऊ फेरि पहिला जस्तै गरि धेरै समय ट्युसन, कोचिङ, स्कुल पढाउनमै व्यस्त हुन थाल्यो ।
केही समय पछि निशाले छोरी जन्माउँछे ्र सुत्केरी श्रीमती, बच्चाको एक महिनाको स्याहार पछि उनीहरुलाई ससुराली छोड्छ । बाबालाई बीच बिचमा डाक्टलाइ देखाउनु पर्ने भएकोले उहाँहरु शम्भुसंगै हुनुहुन्थ्यो । यही समयमा चीनबाट फैलदै आएको कोरोना महामारीले नेपाल पनि अछुतो रहेन सकेन । हतार हतार स्कुलमा परीक्षा सकियो । सरकारले देशभर लकडाउन गर्ने निणर्य गर्यो ।
अब शम्भुले काठमान्डौमा बस्न सक्ने अवस्था देखेन र बाबा आमा सँग गाउँ फर्किन्छ ्र स्कुल बन्द भए पछि आम्दानीका श्रोतहरु बिस्तारै घट्दै जान्छ ्र अलि अलि वचत गरेको पैसा पनि बाबा आमाको औषधीमा खर्च हुन्छ । एक महिना बित्यो, दुई महिना बित्यो स्कुलको फोनमा घन्टी जान्छ तर उठ्दैन । स्कुलका संचालकहरुको मोबाइल अफ छ न त स्कुलले कुनै खबर नै गरको छ । काठमान्डौका घरबेटीले भाडा तिर्न ताकेता गरिरहेका छन् । बारम्बार फोन आको आई छ, कहिले के बहाना कहिले के बहाना बनाउदै शम्भु टार्दै जान्छ ।
यस्तैमा बाबालाई अचानक निकै गारो हुन्छ अनि एम्बुलेन्समा राखेर काठमान्डौ ल्याइन्छ । इमर्जेन्सीमा भर्ना गरि डाक्टरले जाँच गर्छन् । शम्भुलाई बोलाएर ‘तुरुन्त एन जी ओ ग्राफ गर्नुपर्छ हार्ट ब्लक भाको छ, पैसा जम्मा गरिदिनु हामी काम सुरु गर्छौँ ‘ भन्छन् । ‘जम्मा कति खर्च लाग्छ डाक्टर ?’
‘लगभग दुई लाख जतिको व्यस्था गर्नु ।’
‘हामीसंग अहिले त्यति धेरै पैसा छैन डाक्टर, उपचार पूरा हुँदा सम्म पूरा पैसाको व्यवस्था गर्दा हुँदैन र ? बाबाको अवस्थाले हामीलाई हतार हतारमा आउनु पर्यो ्र्र अहिलेलाई पचास हजार जम्मा गर्छु कृपया जसरी भए पनि मेरो बुबाको उपचार गरिदिनु पर्यो ।’
‘ठिक छ, तर बेलुकासम्ममा तपाईँले अरु पचास हजार जम्मा बुझाउनु पर्छ, सक्नुहुन्छ ? ‘
‘हुन्छ डाक्टर मा जसरी भए पनि व्यस्था गर्छु ढुक्क भएर उपचार सुरु गर्नुहोस् । ‘
शम्भु स्कुलमै पुगेर संचालकसंग भेट्न खोज्छ तर विभिन्न बहाना बनाएर प़mर्काइदिन्छन् । उसको हातमा सुको पर्दैन । निरास भएर साथी प्रीतलाई आफ्नो व्यथा सुनाउँछ ्र उसले कता कताबाट चिनेको बैंकको साथीबाट पैसाको व्यस्था गरिदिन्छ ्र दुई चार दिनपछि ऊसहित अन्य सात जना शिक्षकलाई स्कुलबाट निकालेको खबर थाहा पाएर ऊ स्तब्ध हुन्छ ्र
हिजो काम गर्दा सबभन्दा प्यारो शम्भु सर आज काम नलाग्ने भाँडोजस्तै मूल्यहीन भएको छ । उसले यत्रो वर्ष स्कू ललाई दिएको योगदानको उसले राम्रो मूल्य चुकाउनु पर्यो । आफूले काम गरेको, पसिना बगाएकोसमेत उसले पारिश्रमिक पाएन, उल्टै मानौँ ठूलै गल्ति गरेजसरी निष्काशित हुनु पर्यो ।
पांच दिन भैसकेको छ, बाबालाई पनि डाक्टरले घर लान मिल्छ भनेकोले कोठामा लिएर आउँछ । अब उसलाई यो सहर र यहाँका मान्छे देखेर घृणा लाग्न थाल्छ ्र मान्छे काठमान्डु ठूलो शहरमा आफ्नो भविष्य बनाउन आउछन् तर उसको भविष्य बनाउने सपना, महत्वपूणर् समय सबै काठमाडौँले खोसिदिन्छ ।
घरबेटीको सबै पैसा बैंकको । अन्ततः उसले जिन्दगीसंग हार खायो, निराश देखियो, त्यो गाउँको आशा र उत्साहको दीप निन्याउरो अनुहारसहित झोक्र्याउन थाल्यो । सबै बिराना, सबै पराया, मान्छे पनि पत्थर जस्ता ठान्दै थियो शम्भु । दिउँसो घरबाट केही पैसा जुगाड गर्न भनेर निस्केको शम्भु अली परको जंगल तिर गएको त देखेका रहेछन् केहीले ।
तर, उसमाथी एकाबिहानै जङ्गलमा घाँस काट्न गएका गाउँलेहरूको नजर त्यतिबेलामात्र पर्यो जुनबेला उ निर्जिब शरिरमा रुखमा टंगिरएर मन्द गतिमा हल्लीरहेको थियो ।