राधेश्याम उपाध्याय
अगस्त्य मुनिको आश्रममा वर्ष दिन बसेर युधिष्ठिरहरु हेमकुटीगिरि गए । त्यसपछि शिव पुरी काँशी गई विश्वनाथको दर्शन गरे र ब्राह्मण तथा दुःखी दरिद्रीहरुलाई प्रशस्त धनसम्पत्ति बाँडे । त्यहाँबाट महेन्द्रगिरि गए । त्यहाँ जमदग्निका छोरा परशुरामको दर्शन गरे । परशुरामले क्षेत्रीयहरुलाई एक्काइस पटक पृथ्वी परिक्रमा गरी विनाश गरेका थिए ।
उनले कार्तवीर्य जस्तो भयङ्कर दानवलाई मारेका थिए । उनले आफ्ना बुबा जमदग्निको आदेशमा आफ्नी आमाको समेत हत्या गरेका थिए । पुनः बुबासँग वरदान प्राप्त गरी आमालाई जीवन दिएका थिए । आफ्ना बाबुसँग उनले चिरञ्जीवी हुने वरदान समेत पाएका थिए । केही समय उनीहरु त्यहाँ बसेर प्रभाष (समुद्र) तटमा पुगे ।
त्यहाँ यादवहरुको श्रीकृष्ण वलरामसँग भेट भयो र कौरव तथा सकुनीले छल गरेर आफूलाई दुःख दिएको कहानी सुनाए । त्यहाँ केही दिन बसी नर्मदा तीर्थमा गए । नर्मदा तीर्थबाट पयोष्णि नदीको तीरमा गए । त्याहाँ गएर लोमश ऋषिले च्यवन ऋषिको चरित्र सुनाए ।
च्यवन ऋषिको कथा
यही पयोष्णी नदीको तीरमा रहेको घना जङ्गलमा महर्षि भृगु बस्दथे । भृगु ऋषिकी पत्नी पुलोका गर्भवती थिइन् । गर्भवती भएको समयमा उनलाई सुकले आश्रमबाट उठाएर लग्यो । सुक वास्तवमा प्रलोमा नामको राक्षस थियो । प्रलोमा नामको राक्षसले आश्रमबाट भृगु ऋषि पत्नी पुलोमालाई उठाएर लग्दा ठूलो रुवाबासी तथा भागदौड भयो र उनको गर्भ पतन भयो । त्यही पतन भएको बच्चा नै च्यवन ऋषि भए ।
तेजस्वी त्यो बच्चा देख्नेबित्तिकै बच्चाको प्रकाशबाट प्रलोमा राक्षसको मृत्यु भयो । पछि तिनै च्यवन ऋषि पनि यही जङ्गलमा ठूलो तपस्या गरी बस्दथे । धेरै वर्ष तपस्या गर्दागर्दै ऋषिको शरीरभरि धमिराले माटोको ढिस्को बनाएर ढाक्यो र ऋषि नदेखिने भए । त्यही समयमा शर्याति राजा शिकार खेल्न आफ्नी पत्नी छोरी र सैनिकहरुलाई लिएर सोही जङ्गलमा आए । शर्याति राजाकी छोरी सुकन्या पनि आफ्ना सङ्गीसाथिहरुसँग डुल्न थालिन् ।
च्यवन ऋषिको शरीर धमिराले ढाकेर दुई गोटा प्वालबाट आँखा चम्किरहेको देखिन् । राजकुमारीले चम्किरहेको वस्तु देखेर आश्चर्य मान्दै छेस्को लिइन र के रहेछ भनी घोच्दा ऋषिका दुवै आँखा फुटेर रगत बग्न लाग्यो । त्यो देखेर राजकुमारी डराइन् र त्यहाँबाट भागिन् । ऋषिले क्रोध गर्दा राजा-रानी शैनिकहरु सबैको मलमूत्र बन्द भयो ।
राजाले के उत्पात भयो भनी दुःखी भए र सबैलाई केही अपराध भयो कि भनी सोधे । सोधपुछ गर्दा छोरीले केही अपराध गरेको थाहा पाए र राजा दुःखी भए । राजा माफी माग्नका लागि छोरी सुकन्यालाई लिएर ऋषि च्यवनको सामू गए । राजाले माफी पाऊन ऋषिका पाऊमा परे । ऋषिले पनि आफू बृद्ध भएको र दुवै आँखा समेत गुमेकाले जीवन निर्वाहमा समस्या पर्ने भएकाले आफ्नो सेवाका लागि आफ्ना आँखा फोडिदिने राजकुमारीलाई मलाई दिएमा मात्र क्षमा दिने कुरा बताए ।
राजाले पनि ऋषिको स्रापका डरले सुकन्यालाई दिए । सुकन्याले पनि पतिलाई कुटीमा लगि सेवा गर्न लागिन । कुनै दिन ऋषिलाई भेट गर्न सुरवैद्य (अश्विनीकुमार) आए । उनीहरुको सुकन्याले आदरपूर्वक सेवा गरी खुशी पारिन् । अश्विनीकुमारहरुले वर माग भने । सुकन्याले पनि खुशी साथ आफ्ना पतिका गुमेका दुवै आँखा र पतिको यौवनावस्था मागिन् ।
अश्विनीकुमारहरुले पनि हुन्छ भने र ऋषि च्यवनलाई सरोवरमा नुहाउनका लागि लगे । तीनैजना सरोवरबाट नुहाएर बाहिर आउँदा एकै रुपका अति सुन्दर देखिए । सुकन्याले आफ्ना पतिलाई छुट्याउन नसकेर चिन्तित भइन् । सुकन्याले आफ्ना पति छुट्याउन नकेको अवस्था देखेर अश्विनीकुमारहरुले हाँस्दै आफूहरु आफ्ना स्वारुपमा आए र तिम्रा पति यी हुन भनी सिकाइदिए । बृद्ध च्यवनले यौवन र आँखा समेत पाई आनन्दका साथ दिन बिताउन थाले ।
कालान्तरमा राजा शर्यातीले ठूलो यज्ञ गर्न लागे । मुनि च्यवन पनि उक्त यज्ञमा गए । छोरी-ज्वाईलाई देखेर राजा छक्क पर्नुका साथै खुशी भए । छोरी सुकन्याले सबै वृत्तान्त सुनाइन् र राजा-रानीको मन खुशी भयो । यज्ञ सुरु भयो । यज्ञका हर्ताकर्ता मुनि च्यवन नै भए, उनले आफूलाई अश्विनी कुमारहरुले लगाएको गुणको पैँचो तिर्न मन लाग्यो ।
यज्ञमा अश्विनीकुमारहरुलाई यज्ञ भाग दिन मिल्दैनथियो । त्यसै यज्ञमा मुनिले खुशी भएर अश्विनीकुमारहरुलाई यज्ञ अरु समान भाग दिए । यो देखेर इन्द्रले विरोध गरेर रोक्न आए र मुनिको छाति ताकेर आफ्नो बज्र प्रहार गर्न लागे । इन्द्रको यस्तो सेखी देखेर मुनि क्रोधित भए र हाँस्दै हेला गरेर आफ्नो योगबलको प्रभावले इन्द्रको बज्र समेतको हात स्तम्भन (जस्ताको त्यस्तै) गरिदिए । यो देखेर इन्द्र लज्जित भए र स्वर्ग गए । मुनिको शक्तिबाट अश्विनीकुमारहरुले यज्ञभाग (सोमपान) पाऊनका लागि अधिकारी भए ।
नर्मदा तीर्थबाट पाण्डवहरु जला र उपजला तीर्थ गए । त्यसपछि उनीहरु श्वेतकेतु मुनिको आश्रममा गए । त्यसपछि उनीहरु गन्धमादन पर्वत र गंगोत्री गए । त्यहाँ वराह भगवान्को दर्शन गरे र गन्धमादन पर्वततर्फ लागे । गन्धमादन पर्वत जाँदा बाटो अप्ठ्यरो र विकट भएकाले द्रौपदीलाई हिंड्न समस्या भयो र भीमले आफ्नो छोरा घटोत्कचलाई सम्झना गरे । घटोत्कच तथा उनका शोनिकहरु आए र युधिष्ठिरहरु सबैलाई बोकी आकाश मार्गबाट बद्रीनारायण पुर्याए ।
बद्रीमा पनि युधिष्ठिरहरुसँग ज्ञानी, मुनि, ब्राह्मणहरुसँगै थिए । त्यहाँ उनीहरुले नरनारायण भगवानको दर्शन गरे । त्यहाँ जटासुर नाम गरेको दानव मौका मिल्यो भने पाण्डवहरुलाई मार्न भनेर अगाडि नै आफ्नो रुप बदलेर ज्ञानी ब्राह्मण बनेर बसिरहेको थियो । त्यसलाई नचिनेर पाण्डवहरुले ब्राह्मण समान आदर गर्ने गर्दथे । उसले मार्ने मौका हेरेर बसेको थियो । एक दिन भीम योद्धा शिकार खेल्न वन गएका थिए ।
ऋषि मुनिहरु पनि आ-आफ्नो स्नान र ध्यानमा लागेका थिए । तीन भाई र द्रौपदी एक्लै कुटीमा बसेका थिए । त्यही एक्लै भएको मौका छोपी दानव कुटीमा गयो र सबैलाई थर्काउँदै चारै भाइलाई च्याँपेर पर्वततर्फ ठूलो स्वरले थर्काउँदै जङ्गलतर्फ भाग्यो । युधिष्ठिर त्यसको बल देखेर आत्तिन लागे ।
त्यो थाहा पाएर भीम तुरुन्तै दाजु भए ठाउँमा आए । भीमलाई देखेर चारै जनाको शाहस आयो । भीम र राक्षसको घमासान युद्ध भयो । अन्त्यमा भीमले राक्षसको घाँटी थिचेर मारे । त्यहाँबाट अर्जुनसँग भेट गर्ने इच्छाले पण्डवहरु कैलाश पर्वततर्फ लागे । बाटोमा वृषपर्व नामका राजाले तप गर्दथे । उनीसँग भेट भयो ।
केही दिन त्यहाँ बसी बिदा भई अगाडि बढे र आष्र्टिषेण ऋषिको आश्रममा गए । त्यहाँ पनि केही दिन धर्म र नीतिको चर्चा गरी बसे । अब यो भन्दा उत्तरतर्फ जानु हुँदैन, उता देवताहरुको बासस्थान हो भनी गुरु धौम्यले सिकाए । अर्जुन किन ढिला गरे भनी युधिष्ठिरहरु चिन्तित थिए, त्यही अवसरमा आकाशबाट दिव्य रथमा चढेर इन्द्र र अर्जुन त्यही स्थानमा आए ।
इन्द्रले युधिष्ठिरलाई बुझाउँदै भने अब अर्जुनसरह वीर यो पृथ्वीमा केही छैन । मसँग भएको सम्पूणर् धनुर्विद्या सिकाइदिएको छु । अब कौरवहरुलाई मारी निष्कण्टक राज्य सञ्चालन गर्दै प्रजाहरुलाई पाल्नु तिम्रो ठूलो कीर्ति रहने छ भनी धेरै अर्ति तथा सान्त्वना दिई देवराज इन्द्र फर्किए । अर्जुनले स्वर्गको सबै बृत्तान्त दाजुहरुलाई सुनाए ।
युधिष्ठिरले स्वर्गमा अर्जुनले सिकेर आएका अस्त्रशस्त्रहरुको प्रदर्शन हेर्ने विचार गरे । अर्जुनले पनि दाजुको इच्छा अनुसार सारा अस्त्रशस्त्रहरु मन्त्रेर प्रयोग गर्न लागे । वनजंगल, पहाड, नदीनाला समग्र पृथ्वी कम्प भएर थर्कन थाले ।
यो देखेर नारदजी आई यसरी त्रिभुवन मास्ने काम नगर, सबै शस्त्रको प्रयोग युद्ध भूमिमा गर्नु र हेर्नु दिव्यस्त्रले तीनै लोक भष्म गर्नसक्छ भनि सम्झाएर गए । अर्जुनले पनि प्रयोग गर्न बन्द गरे । केही समय त्यहाँ बसेर आफ्नो बनवासको अवधि दश वर्ष कटाए । एघारौँ वर्ष सुरु भएपछि सबैको आशीष र अर्ति लिएर पाण्डवहरु त्यहाँबाट बिदा भई विशाखयुप वन हुँदै द्वेत वनमा रहेको सरस्वती नदीको तटमा गई बसे ।