आँसुको मिलन

तल्लो जीवन उपन्यास अंश

यम रेग्मी
साथीहरू मस्त थिए बर्थ-डेको पार्टीमा । समा गिलासमा कोक हाली र हातमा लिई, टेबुलबाट अनि घुटुक्क दुई घुट्की निली, यताउता हेरी रक्षालाई देखिन । नजिकै पूजा बसेकी थिई । पुलुक्क हेरी साथीतिर, बोली-
‘खोई त रक्षा ?’
‘बाहिर कतै गा होली ?’ पूजा चम्चाले पुलाउ मुखमा राख्दै बोली ।
रञ्चे मुख लिएर गहका आँसु पुछ्दै सीताले लोग्नेको अनुहार हेर्दै बोली- ‘लौन बुढा ! छोरीलाई त एक्कासी के भयो के, माथि कोठामा सिरक ओढेर सुतेकी छे, रोइरहन्छे, सोध्दा केही बोल्दै बोल्दैन, छिटो अस्पताल लग्नुपर्‍यो ?’
कृष्ण पटाफट माथि कुदे, छोरीको कोठामा । पिक्निक जाँदाको गाडी दुर्घटनामा परेझैँ, एकछिन अघिको खुशीको प्रकाशमा तुवाँलोले छायो । खाँदाखाँदैका साथीहरू जर्‍याकजुरुक्क उठे । हातमुख नधोई कृष्णका पछि लागे ।
कृष्णले छोरीलाई उठाए । बच्चालाईझैँ काखमा बसाले । गहभरि आँसु थिए छोरीका, पुछिदिए ।
पानीको गिलास ओठमा पुर्‍याउँदै बोले-‘के भयो मेरो नानुलाई, लौ ! पानी पेऊ, धौ भा‘छ, अस्पताल जाने हो ?’ सबै साथीहरू आइपुगे र रक्षाको वरिपरि बसे ।
रक्षा केही बोलिन । कोइनोले पानीको गिलास पन्छाई । टाउको हल्लाएर जान्न भनी, होस हराएको बिरामीझैँ । एकटकले केहीबेर गोडातिर हेरी । बर्रर आँसु खसाली, आँखा बन्द गरी अनि कृष्णको काखमा पल्टिई ।
करुणा नजिक गई । रक्षाको हात आफ्नो हातमा लिई । औँला खेलाउँदै बोली-‘रक्षा ! ए रक्षा !! ए लाटी !!! बोल् न के भयो तँलाई ? हेर त हामी को-को छौँ ह्याँ, एक्कासी के भयो तपाई हँ ?’
रक्षा सुस्तरी आँखा खोली । टोलाएका नयनले बाबाको मुखमा हेरी । नजिकै रुमाल थियो । निधारभरिको पसिना पुछिदिए कृष्णले । कपडाभरि रातै अक्षता थियो त्यो पनि पुछिदिए । रक्षा बाबाको काखबाट टाउको उठाई । दयालु नजरले सबैतिर हेरी । सबै साथीहरुलाई वरिपरि बसेको देखी। फेरि आँसु झरे आँखाबाट । बगेका आँसु पुछी र सुस्तरी बोली-‘ आइ एम सरी फ्र्याण्ड । हेर न मलाई त के भयो भयो ? एक्कासी रिँगटा लाग्यो, हातखुट्टा सबै लुला भए । बल्ल-बल्ल पलङमा आएँ अनि पल्टिएँ ।’
आमा खानाको प्लेट नजिक राख्दै बोलिन्-‘यसले हिजो साँझदेखि मुखमा पानी हाल्या छैने । जन्मदिनको खुशीमा यसलाई खाना खान परेकै छैन । अरु केही होइन, कमजोरी हो । कमजोरीले रिँगटा लाग्यो । विहानदेखि कामको काममा छे, केही खानु छैन रिँगटा पनि किन लगागोस् ?’
सबै साथीले होमा हो थपे, मलिन मुखले । एकटकले रक्षाको अनुहारमा हेरिरहे । आमा जिद्दी गरिन् खाना खान । चराले चारो टिपेझैँ खान थाली रक्षाले ।
साँझ झमक्क पर्दै गयो । मलिन मन लगाएर साथीहरू आ-आफ्ना घरतिर लागे । रक्षालाई सहज हँुदै गयो । बाआमा पनि आफ्नो सुत्ने कोठामा आए ।
एकछिन अघिको भरिभराउ कोठा, सुनसान भयो । रक्षा जुरुक्क उठी पलङबाट, तनक्क शरीर तानी । नजिकै पानीको बोत्तल थियो । घटघटी आधा बोत्तल पानी पिई, एकै सासमा । शीतलता दियो, पानीले । भित्रबाट घर्‍याक्क ढोका लगाई, चुकुल लगाई, ढुक्क भई । शान्तिको सास फेरी ।
कोठामै थिए साथीहरूले दिएका बर्थ-डेका उपहार । नजर पुर्‍याई उपहारतिर । सबैभन्दामाथि थियो गोपालको उपहार । त्यही नै च्याप्प छोपी, वल्टाई-पल्टाई हेरी, अनौठो जीवलाई हेरेझैँ । छातीमा लपक्क टाँसी, आँखा चिम गरी अनि मुसुक्क हाँसी । सुखको लामो सास फेरी । अथाह आनन्द आयो, उसलाई । निकैबेरसम्म सुखको सागरमा डुबिरही ।
पलङमा थचक्क बसी । छातीमा कपडा टाँसेरै, निकै बेरपछि कपडा हटाई छातीबाट । प्लास्टिक खोली, कुर्था-सुरुवाल पिस रहेछन् । खुसीले झनै फुरुङ्ग भई, कपडा देखेर ।
मुलायम कपडा, गुलावी मीठो गाढा कलर भएको, अगाडि पुरै भाग कडाई, पछाडि त्यस्तै । जति हेर्‍यो उति हेरुँ-हेरुँ लाग्ने । साह्रै मन पर्‍यो उसलाई, गोपालले दिएको उपहार । जुरुक्क उठी बसेको ठाउँबाट, लपक्क शरीरमा टाँसी । दराजको सीसा अगाडि उभिई । प्रतिविम्ब तलदेखि माथिसम्म नियाली, मुसुक्क हाँसी, मीठो हाँसोले ।
झल्यास सम्झिई गोपाललाई । मन चीसो भएर आयो लाज र डरले । गोपालले चियाएर हेरेझैँ भान भयो, उसलाई । कोठाका सबै झ्याल ढोकातिर नजर पुर्‍याई, कोही कसैलाई देखिन । तर पनि मन ढुक्क हुन सकेन, डराइरही ।
कपडा पट्याई, प्लास्टिकमा राखी र काखामा च्यापी । कपडामा नजर पुर्‍यायर मुसुक्क हाँसी र मनमनै बोली-‘बेमान मान्छे, अरुलाई तनाव दिन जानेको, केटो भएर पनि केटीको सपिङ गर्न कति जान्या हो, केटीभन्दा सिपालु ।’
पुलुक्क भित्ताको घडी हेरी, झसङ्गग भई । तीनवटै घडीको सुई बाह्र अङ्कमा खप्टिएका थिए, बत्ती निभाई, कपडा छातीमै टाँसी अनि एकैछिनमा भुसुक्क निदाई ।
एक सातपछि, विहानी समय ।
‘गोपाल ! ए गोपाले ! फरुवा ठिक्क पार । आज आलु लगाउने हो, सबैले लगाइसके ।’ सीता आलुको पोको खोल्दै बोली ।
गोपाल फरुवा बोक्यो, सरासर बारीतिर लाग्यो । सीता दायाँ हात आलुको बाटा छोपी, वायाँ हातले मलको बाल्टिन छोपी । गोपालको पछि-पछि लागी । आमाको पछिपछि रक्षा पनि आई बारीमा ।
गोपाल खनेर सियो बनायो । सीता मल राखी सियोमा । रक्षा मलमाथि आलु रोप्न थाली । केही सियो आलु रोपियो ।
रक्षा आलु रोप्दारोप्दै च्वाट्ट छोडी, सरासर घरको पेटीका गई र शीतलमा थचक्क बसी । निधारको पसिना सपक्क पुछी अनि बोली- ‘मामु म यो घाममा आलुसालु रोग्न सक्दैन अब, घर आइस्यो साँझ रोपौँला, अरु ।’
सीता घोप्टो परेर मल राख्दै बोली-‘कति अल्छी छेस् नानी तँ पनि, यत्री भइसकिस् ए । भर्खरै त आका हौँ । आलु तेसै छन् । बसीबसी कसले खान दिन्छ तँलाई ? यो केटीलाई ब्या गर्ने केटो पनि महाअभागी हो ।’
रक्षा मुसुक्क हाँसी आमाका कुराले । पुलुक्क हेरी गोपाललाई । मुसुक्क मुस्कुराए दुवै, मीठो मुस्कानमा । हाँसोको मिलन भयो । दुवै लजाए पनि आफ्नै पाराले । गोपाल फेरि सियो पार्न थाल्यो ।
रक्षा कर्के नजर गोपालतिर हेर्दै सुस्तरी बोली- ‘छ त हात्तीभन्दा बलियो मेरो हिरो, सब काम गर्न जान्ने, नो टेन्सन मामु । मलाई रानी बनाएर पाल्छ । मेरो हिरोले ।’ सीताले पत्तै पाइन । उनीहरूको नजरको सम्वाद ।
रक्षामा नयाँ जाँगर उम्रियो, गोपालको अधरको मुस्कानले । जुरुक्क उठी, सरासर बारीमा गई । गोपाल खन्दै थियो, टक्क अगाडि उभिई । बोली-‘मामु हजुरले मलाई अल्छी भनिस्यो नि ! म पाछर्् फरुवाले सियो, हजुरले ल हेरिस्यो ?’
सीता छोरीको कुराले मुसुक्क हाँसी, ओँठ लेप्राई र बोली-‘सबै छाडी पुच्छर अगाडि ।’
गोपालसँग नजरले नै फरुवा मागी । हातमा फरुवा छोपी अनि बोली-‘हेर्नुहोस् मामु मैले खनेको’ बोल्दै खन्न थाली । एक सियो पुरा खनी । दमको बिरामीझैँ स्वाँ ! स्वा !! गर्दै ।
अर्को लाइन खन्न परुवा जोडले भूँइमा के हानेको थिई, ढुङ्गो रहेछ, फरुवा उछुट्टिएर खुट्टामा आयो । ऐया ! गर्दै घोप्टो परी । बुढी औलामा गहिरो चोट लाग्यो । तररर रगत बग्यो, औँलाबाट ।
गोपाल च्याप्प हातले समायो काटेको औँला, रगत बग्न पाएन । सीता मल्हम खोज्न घरतिर कुदी ।
रक्षा दायाँ हातका औलाले परेली पुछी, सुस्तरी शिर उठाई । लोलाएका नयनले हेरी गोपालाई । एकअर्काले हेराहेर गरे, निर्दोष आँखाहरूले, नजिकबाट । आधा दुखाई अनि आधा गोपालको हातको मीठो आनन्दी स्पर्ष । हर्ष र पीडा मिश्रित आँखाबाट तरर आँसु झरे । मुटु पग्लेर आयो मायाको रापले । गोपालका पनि झरे आँसु बररर, सङ्ला, नुनिला, ताता आँसु । जात भनेन आँसुले । लिङ्ग भनेन आँसुले । धनी, गरिब भनेन आँसुले । दुवैका आँसुका थोपाले निथ्रुक्क भिज्यो, जमिनको माटो । अङ्कुर भयो प्रेमको अनि मिलन भयो आँसुको । रक्षा काठोले कोट्याएर केही बेर खेलाइरही, आँसुले भिजेको माटो । टिठ लाग्दो गोपालको अनुहारमा हेरी ।
सुस्तरी नजरैले बोल्यो गोपाल-‘दुख्यो ?’
‘दुख्यो ? धेरै दुख्या छ ?’ खुट्टातिर पुलुक्क हेरी अनि टाउको हल्लाई । आँखैले बोली रक्षाले पनि ।
गोपाल रक्षाको अनुहार हेर्न सकिन । आँखा वर्षामा कुवाँको पानीझैँ भरिएर आए । कोइनोले आँखाका आँसु पुच्यो ?
तिमी किन रोएको त ? रक्षा आँखैले बोली । दुखेर !
काँ, के दुख्यो ?
दिल ।
पक्का ?
पक्का !
छ्या ! रुन्चे छोरो मान्छे । रुन्चे भनौ अबदेखि ? (लजाएर मुसुक्क हाँस्दै ।)
– हुन्छ ? तिमीले जे भने पनि मीठो लाग्छ । (टोलाएर)
नजरको मीठो सम्वाद चलिरह्यो केही बेर ।
‘त्यो ठाँडो मल्हम पनि चाहिएको बेलामा काँ भेटिन्छ र ? नचाहिएको बेलामा पो देखिन्छ । काँ राखे काँ ? जाँ खोजे पनि भेटिन्न ?’ सीता घरभित्र गनगन गरेको आवाज आयो बारीसम्म ।
दुवै सुस्तरी हाँसे । लाजले रक्षा मुखमै हेर्न सकिन गोपालको । पुरै अनुहार छोपी दुई हातका दश औँलाले । घोप्टो परेर खितखित गरिरही धेरै बेरसम्म ।
क्रमशः …