विचारमा पूणर्सन्तुष्टि र यथार्थता

विनोद पोख्रेल

२०७७ बैशाख ७ गते
जीवन पनि गजबको छ । नयाँ पन्ना फर्काउँदा पुराना पन्नाहरु तल दबेजस्तो नयाँ वा धेरै पुराना भएपछि नयाँ लाग्ने अनुभवहरुले जीवनलाई नयाँ अनुभव र नयाँ आयाम दिएको जस्तो लाग्छ । सायद घटना वा अनुभवलाई उमेर र परिवेश अनुसार व्याख्या गरिने गर्छ । अझ योभन्दा माथि भावना भन्ने तत्व छ जस्तो लाग्छ ।

आफ्नो भावना जस्तो छ त्यही अनुसारको अनुभूति र त्यही अनुसारको व्याख्या हुने गर्छ । यस्तै यस्तै कारणले होला कतिपल्ट आफ्नै अभिव्यक्तिसँग समेत मानिस झुक्किने गर्छ । कतिपल्ट अभिव्यक्ति दोहोरिने पनि गर्छ अनि कतिपल्ट अभिव्यक्तिले पूणर्सन्तुष्टि दिने गर्छ र कतिपल्ट पूणर्सन्तुष्टिको अनुभव गर्न सकिँदैन ।

यसबारेमा मेरो विचार भन्ने हो भने यो स्वाभाविक हो । भावनाको न त स्रोत नै सीमित हुन्छ न त भावनालाई जित्न वा नियन्त्रण नै गर्न सजिलरी सकिन्छ । त्यसकारण यी कुराहरुलाई स्वाभाविक रुपमा लिन सकिन्छ । अझ जोड दिएर भनौँ-लिनु पर्छ । मैले धेरै पल्ट भनेको छु, जीवन आफ्नो भोगाईको भरमा परिभाषित हुने हो ।

त्यसकारण मैले जसरी जीवन बुझेको छु, त्यही ठीक हो भन्ने पक्षमा म पटक्कै छैन । उदाहरणकै लागि आजभोलिको अनुभव नयाँ अनुभवजस्तो भएको छ । म परिवारसँग घरमा लामो अवधिसम्म बसेको पनि छु । त्यसबेला यस्तो अनुभव पनि भएको जस्तो लाग्दैन । त्यस्तै हामीजस्ताका श्रीमतीहरुको जीवन धेरै जसो घरभित्रै सीमित भएको पनि थाहा छ । तर अहिले घरभित्र बसेर दिन बिताउनुपर्दा के-के न भयो जस्तो लागेको छ ।

जीवन सर्वोपरी हो त्यसकारण सको विरोध गर्नु पनि ठीक छैन । सीमा कसैलाई थाहा छैन । यस्तो जीवन बित्नुलाई राम्रो मान्न पनि सकिँदैन । अरुलाई घरमै बस भन्नु सजिलो छ तर आफू त्यसरी नै सीमित भएर बस्न त्यति सजिलो लाग्दैन । यो परिवेशले फेरि एकपटक जमिन भनौ वा कृषि उत्पादनको महत्वलाई बढाएको बुझेको हुँ, मैले ।

भकारीमा धान भएकाहरुलाई खानलाई हर्जा छैन । । अलिकति पनि बारी भएकाहरुलाई तरकारीको समेत कम चिन्ता हुने गर्छ । तर आफ्नो उत्पादन नहुनेहरु चाहे ठूला जगिरे हुन् चाहे ठूला व्यापारी, चाहे ठूला उद्योगपति साँझविहान अरुको भरमा खानुपर्नेहरुलाई अहिले नै भनेको जस्तो छैन होला । भोलिका दिनमा अझ अप्ठ्यारो पर्नसक्छ ।

खेतीले धेरै कमाउन र धेरै उपभोगवादी बन्न नसकिएला तर जीवन सजिलोसँग धान्न अथवा भनौ सस्टेन गर्न राम्ररी सकिन्छ । अन्य पेशाले जमिनकोलाई आकाशमा पनि पुर्‍याउँछन् भने आकाशकोलाई जमिनमा पछार्न पनि सक्छन् । अब त घरमा भकारी हुनेहरु डराउने बेला समेत आउँछ कि भन्ने चिन्ता लाग्न थालिसकेको छ, धेरैलाई ।

जमिनको भनौ वा खाद्यान्न उत्पादनको महत्व थाहै नभएको त पटक्कै होइन तर पनि यो परिवेशले उत्तम खेती भनेर पेशाहरुमध्ये जीवनको लागि उत्तम खेती (कृषि) नै हो भन्ने कुरा प्रमाणित गरेको छ । यो प्रकृतिले पठाएको हो ।

यसबाट पढ्नसक्नेहरु जीवनमा अर्को-अर्को पटक पनि यस्ता विपदमा सुरक्षित रहन सक्छन् । पढ्न नसक्नेहरु वा उपभोगवादमा रमाउनेहरुका लाग यो परिवेश इतिहासको पाठ मात्रै बन्न पनि सक्छ ।

२०७७ बैशाख ८ गते
बितेका केही दिनका लेखाई दोहोरिएको वा विशेष केही नभएको जस्तो लागेको छ । हुन त यो डरलाग्दो परिवेशमा यस्तो हुनु स्वाभाविक नै हो । तर एउटै विषयमा पक्ष केही फरक भए पनि लेखिरहँदा सायद आफैलाई मिच्छाट पनि लाग्छ ।

त्यसकारण पनि यस्तो भएको हुनुपर्छ । फेरि यस्तो स्थिति मैले पहिलो पल्ट अनुभव गरेको पनि छैन । सधैँ-सधैँ लेख्ने गर्दा र केही मात्रै पनि महत्वाकांक्षी भएर लेख्दा विषय सामान्य वा महत्वहीन भयो भने अलि राम्ररी सन्तुष्टि नपाएको अनुभव हुन्छ ।

भावना हो कहिल्यै महत्वपूणर् विषयमा केन्द्रित भएको हुन्छ भने कहिले त्यही विषयसँग मिच्छिएको पनि हुनसक्छ । फेरि सबै अभिव्यक्तिहरु उत्तिकै महत्वपूणर् हुन भन्ने महत्वाकांक्षा मात्रै हो । त्यो मैले पूरा गर्न सक्दैन । त्यति क्षमता ममा छैन । विशेष विषयमा महत्वपूणर् कुराहरु आफ्नो तर्फबाट त्यसलाई प्रष्ट पार्दै अभिव्यक्ति दिने धेरै हुन्छन् ।

आजभोलि त यस्ता व्यक्तिहरुको बाढी नै आएको छ भन्दा हुन्छ । सञ्चार माध्यम भेट्टाउनुपर्छ । उनीहरुले आफूलाई सर्वज्ञजस्तै गरी पेश गरेका हुन्छन् । यो पनि एउटा आवशयकता नै हो भन्ने मैले बुझेको छु । सञ्चार माध्यमजस्तो धेरै हुन्छन्, तिनको उपभोग गर्ने गराउने पनि धेरै हुनु स्वभाविक हो । फेरि शिक्षा र सञ्चारको विकासले धेरैलाई धेरै कुरा बुझ्नसक्ने र त्यसको धेरै पक्षबाट व्याख्या गर्नसक्ने पनि बनाएको छ ।

त्यसकारण पनि यस्तो स्थिति निर्माण भएको हुनसक्छ । म त आफूमा सीमित भएर अभिव्यक्त हुने सोच बनाएको मानिस मात्रै हुँ । त्यस कारण पनि मेरो अभिव्यक्तिहरु महत्वपूणर् नसक्नु पनि स्वभाविक नै हुन्छ । बरु एउटा ७० वर्ष पुग्न लागेको उमेरको व्यक्तिको निरपेक्ष सोचमा आएका अभिव्यक्ति कस्तो हुन्छ, त्यो इमानदारीसँग व्यक्त गरे भने मैले आफ्नो प्रतिबद्धता धान्न सकेको हुने छु । अति सामान्य कुरामा पनि भावना केन्द्रित हुन्छ ।

अति व्यक्तिगत कुरामा पनि सीमित हुन्छ भन्ने अनुभव इमानदारीसँग राख्न सके पनि त यो उमेरमा पुग्न अलि धेरै समय लाग्ने उमेरका व्यक्तिहरुलाई केही पथप्रदर्शन हुनसक्छ । तर मजस्तो निरपेक्ष अरु हुन्छन् कि हुँदैनन् त्यो मलाई थाहा छैन । मेरो अन्दाजको भरमा भन्ने हो भने अलि कमै हुन्छन् । मजस्तो म मात्रै छु भन्ने कुरामा मैले विश्वास गर्दैन ।

मानिस निरपेक्ष पनि हुनसक्छ भनेर वकालत गर्न पनि सक्दैन । त्यसैकारणले अलि थोरै छन् तर म जस्तो सोच भएका पनि छन् । यस्तैको मनोविश्लेषण गरेको अथवा यस्तैको भावनाको प्रतिनिधित्व गर्दै दिएको मान्न सकिन्छ, यी अभिव्यक्तिहरुलाई । समाजको लागि महत्वपूणर् नभए पनि कुनै कुनै व्यक्तिले यी अभिव्यक्तिहरु आफ्नो जस्तै अनुभव गर्न सक्यो भने पनि त म यथार्थमा आधारित भएँ । सन्तुष्टि खोजेर भेट्ने त हो ।

तर कुनै लत नभएको, महत्वाकांक्षा नभएको अब त अपेक्षा समेत नभएको जीवन बाँच्न सजिलो पनि छैन जस्तो लाग्छ । त्यस्तो लाग्दालाग्दै पनि म भने त्यही अलि अप्ठ्यारो जीवन बाँचिरहेको छु जस्तो लाग्छ । यस्तो जीवन ठीक छैन जस्तो पनि धेरैपल्ट महशुस गरेको छु ।