लिलाधर वली
दाङ, १३ भदौ । कोरोना विश्वव्यापी रुप लिँदै गर्दा दाङमा पनि कोरोनाको जोखिम बढ्दै थियो । छिमेकी देश भारत रोजगारीका लागि गएका जिल्लावासीहरु फर्किदै गर्दा दाङमा पनि कोरोनाका भाइरस भित्रिएको थियो । जोखिम न्यूनीकरणका लागि सरकारले लकडाउनका गरेको थियो ।
कोरोना जोखिमको समय भएका र बन्दका कारण बजारमा मास्क मूल्य बढेर किन्नै नसक्ने अवस्था भएको थियो । धेरैले कपडाका मास्क बनाए, बेचे आफ्नो कारोवार पनि बढाए । त्यही समयमा मास्क किन्न नसक्नेहरुका लागि मास्क बाड्न एक जना युवा सडकमा आए । उनले मास्क नलगाएर हिड्ने व्यक्तिहरुलाई मास्क दिन थाले । कोरोना विरुद्ध जोखिमका काम गर्नेहरुलाई उनले घरमै पुगेर पनि मास्क उपलव्ध गराए ।
सुरुमा उनले सञ्चार संस्थामा फोकस गरे । अनि भीडभाडमा रहने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई पनि उनले निःशुल्करुपमा मास्क उपलव्ध गराए । कति रुपैयाँ खर्च गरे मास्क किन्न र मास्क बाँड्न कति इन्धन मोटरसाइकलमा खर्च भयो भन्नेमा उनको ध्यान छैन । तैपनि सचेतनाको अभियानमा उनी मास्क एम्बेसडरका रुपमा दौडिरहेका छन् । सायद उनको यो यात्रा कहिले सकिन्छ थाहा छैन । बीरु भन्छन्– ‘संक्रमणको न्यूनीकरण र कोरोना भाइरसको खोप नबन्दासम्मका लागि मेरो अभियान जारी रहने छ ।’

लकडाउनका कारण भारतमा धेरै दंगाली अलपत्र परेपछि लकडाउन हटाएर अलपत्र परेकालाई ल्याउने काम गरिएको थियो । त्यही क्रममा दाङमा ह्वात्तै कोरोना संक्रमितको संख्या बढ्यो । उनीहरुको संक्रममा रहेका केही जनप्रतिनिधि तथा स्वास्थ्कर्मीमा समेत कोरोना संक्रमण देखियो ।
कोरोनाबाट बच्नका लागि औषधि नभएकाले त्यसबाट बच्न अनिवार्य मास्क प्रयोग र नियमित सावुनपानीले हातधुने गर्न सरकारले अनुरोध गरिरहेको थियो । तर लामो समयदेखिको लकडाउनका जिल्लामा मास्क किन्नसमेत पाउने अवस्था थिएन । जसका कारण मानिसहरु स्थानीयस्तरमै गार्मेन्टहरुले उत्पादन गरेका मास्कहरु लगाउन थालेका थिए ।
जोखिमको समयमा फ्रन्टलाइनमा खट्नेहरुलाई समेत मास्क पाउने अवस्था थिएन । सर्वसाधारणले पाउने त झन परको कुरा । त्यही समयमा घोराहीमा एकजना युवाले केएन–९५ मास्क वितरण गर्न शुरु गरे । उनी थिए घोराही उपमहानगरपालिका–१४ निवासी बीरबहादुर खत्री ‘बीरु’ ।
निःशुल्करुपमा मास्क बाँड्ने गरेका खत्रीले मास्क बाँड्ने मात्र होइन मास्क प्रयोग गर्दाका फाइदा समेत सिकाउने गरेका छन् । उनले मास्क नलगाएर हिँड्ने मानिसहरुलाई रोक्दै मास्क दिन्छन् र प्रयोगका बारेमा सिकाउँछन् ।
संकटका समयमा मास्क वितरण गर्न शुरु गरेका उनी खत्रीलाई पछिल्लो समय जिल्लामा दंगालीले ‘मास्कम्यान’समेत भन्ने गरेका छन् । जिल्लाका विभिन्न स्थानमा पुगेर मास्क वितरण गर्ने गरेका खत्रीलाई कहिल्यै घामपानीले छेकेन । न त भोक–तिर्खाले नै गलायो ।
अभियान निरन्तररुपमा चलिरह्यो देउखुरीको भालुवाङदेखि पश्चिम दाङको हापुरेसम्म । यो बीचमा करिब ८ हजार केएन–९५ मास्क र ३३ हजार बढी मेडिकल मास्क वितरण गरे । निःशुल्करुपमा मास्क वितरणमा लागेका उनमा एउटै चाहना छ कोरोनाको जोखिम रहेकाले सबैले मास्क प्रयोग गर्नुपर्छ ।
‘म राजनीति गर्ने मान्छे हुँ, मलाई राजनीतिको स्वार्थभन्दा पनि कोरोनाको जोखिमको समयमा जनतालाई कसरी बचाउने भन्ने चिन्ता लाग्यो’, उनले भने– ‘त्यो समयमा दाङमा कोरोनाको जोखिम बढेकाले जनताले मास्क किन्नसमेत पाउने अवस्था थिएन । त्यो अवस्थामा ५० पिस मास्क किनेर बाँड्न शुरु गरेको हुँ ।’

शुरूमा कोरानाबाट आफू पनि डराएको थिए । जसका कारण सरकारले गरेको लकडाउनको पूर्ण पालना पनि गरे तर संक्रमित बढिरहेका थिए । मानिसहरु मास्क नपाएर नलगाएरै हिडिरहेका थिए । त्यसपछि भने उनले आफूलाई घरभित्र बन्धक बनाएर राखिरहन सकेनन् ।
त्यसपछि परिवारमा बुवा, आमा, श्रीमती, भाइबुहारीसँग सल्लाह गरे । सबैको सहमति दिएपछि उनी कोराना भाइरसको संक्रमणबाट जोगाउन आफू घर बाहिर निस्केर स्वास्थ्य सामग्री निःशुल्क बाँड्ने थालेको उनले बताए । ‘यो अभियानमा लाग्न मलाई घर परिवारसँगै साथीभाइहरुको सहयोग छ’, उनले भने– ‘जोखिमको समयमा सबैको सहयोगले अभियान चलाउन समेत सहयोग पुगेको छ ।’
अभियानका क्रममा अहिले उनले केएन–९५ मास्क मात्र ८ हजार बढी बाँडिसकेका छन् । त्यसका लागि करिब ७ लाख रुपैयाँ खर्च भैसकेको समेत बताए । ‘अहिले केएन–९५ मास्कको मूल्य घटेर थोरै भैसकेको छ तर त्यो बेला एउटा मास्कको मूल्य ५ सय रुपैयाँसम्म पथ्र्यो’–खत्रीले भने– ‘त्यही समयमा मैले केएन–९५ मास्क निःशुल्क रुपमा बाँडे ।’
मानवसेवा नै उत्तम सेवा सम्झने खत्रीले अहिले गरिएको सेवाबाट आफू सन्तुष्ट रहेको समेत बताए । ‘मानवीय सेवाबाहेक अरू मेरो कुनै स्वार्थ छैन’–खत्रीले भने– ‘जोखिमको समयमा जनतालाई बचाउने काम राज्यको थियो तर राज्यले सहयोग नगर्दा जनता जोखिममा रहेपछि मैले शुरु गरेको हुँ ।’ अभियानमा उनले जनताले जितेर पठाएका नेतालाई समेत भने तर उनीहरुले सहयोग गर्न चाहेनन् ।
अभियानमा लागेका खत्रीका तीता अनुभव छन् । उनी सम्झन्छन्–‘जनतालाई जोखिमबाट बचाउनका लागि स्थानीय सरकारले निःशुल्करुपमा मस्क वितरण गर्न सक्छन्, सचेतनाका लागि मास्क लगाउन भन्न सक्छन् । तर मास्क बाँड्न त सकेनन् सकेनन् । कार्यालयमा आफू समेत मास्क प्रयोग नगरेर बस्ने गरेको भेटाए ।’ मास्क नलगाउने कर्मचारीलाई मास्क लगाएर बस्नुस्भन्दा सरकारी कर्मचारी नै झगडामा उत्रिएको समेत बताए ।
तर सबै त्यस्ता होइनन् । कोही कर्मचारीले त उनको अभियानमा सहयोगसमेत गरे । कसैले हौसल्ला बढाउने काम गरे । त्यसमा उनले मालपोत कार्यालय तुलसीपुरका प्रमुख नरेश खड्काको सहयोगलाई कहिल्यै नभुल्ने समेत बताए । ‘मैले मालपोत कार्यालयमा मास्क नलाएर पुगेका सेवाग्राहीलाई मास्क वितरण गर्दा कार्यालय प्रमुख बाहिर निस्केर मलाई धन्यवाद दिनुभयो’, उनले भने– ‘त्यहाँ रहेका कर्मचारीहरुलाई कार्यालय समय र सेवाग्राहीलाई कार्यालय आउँदा अनिवार्यरुपमा मास्क प्रयोग गर्नसमेत आग्रह गरे ।’
सञ्चारकर्मी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई मास्क वितरण गरेका उनी पछिल्लो समय सडकमा हिँड्ने जो कोहीलाई पनि निःशुल्क मास्क बाँडिरहेका छन् । मास्क भएर पनि सही तरिकाले नलगाउनेलाई मास्क सही तरिकाले लगाउनुका फाइदा सिकाउने गरेका छन् । त्यसैले उनी हिजोआज दैनिक बजारका चोकमा झोलाभरी मास्क बोेकेर हिडेको भेटिन्छन् ।
यसरी हिँड्दा उनले एकैदिनमा एक हजारसम्म मास्क वितरण गरेका छन् । प्रहरीले मास्क नलगाएर हिँड्ने सर्वसाधारणलाई १ सय रुपैयाँ जरिवाना तिराउन शुरु गरेपछि आफूले जरिवानाबाट सर्वसाधारणलाई जोगाउनका लागि मास्क बाँड्न शुरू गरेको उनी बताउँछन् ।
अभियानका क्रममा मास्क नलगाई हिँड्नेमा ठूलाबडा र जान्ने सुन्ने हौं भन्ने नै बढी भेटे । ‘सर्वसाधारण त कोरोनाको डरका कारण भए पनि मास्क लगाउने गरेका छन्, तर आफूलाई ठूला भन्नेहरुले लगाएको पाइनँ’, उनले भने– ‘जसले जनतालाई सचेत गराउन लाग्नुपथ्र्यो उनीहरु नै मास्क नलगाएर हिँड्ने गरेका छन्, कार्यालयमा बस्ने गरेका छन्, उनीहरुलाई मास्क दिन खोज्दा आँखा तर्छन् र हामीलाई सिकाउनु पर्दैन भन्छन्।’
तुलसीपुरको बाहिनीचोकमा एकजना हजुरआमाले मास्क दिँदा उनलाई आमाले बाबु सधैभरी बाँचिरहनू भनेर आशीर्वाद दिइन् भने घोराहीको ट्राफिक चोकमा तरकारी बेच्न बसेकी एकजना थारू महिलालाई मास्क दिँदा उनले वीरबहादुरलाई आफूले बेच्न राखेको काँक्रो दिन खोजिन्, तर उनले लिँदैन भन्दा कर गरिन्, अभियानमा लागिरहन सुझाव दिइन् ।
अभियानका क्रममा यस्ता मानिसहरुलाई भेट्दा आफूलाई खुसीसँगै थप ऊर्जा मिलेको उनी बताउँछन् । अहिलेको अप्ठेरो समयमा अरू पनि आफूजस्तै अभियन्ता बन्न सके कोरोनाविरूद्धको लडाइँ सजिलो हुने वीरबहादुरको विश्वास छ । ‘मेरो एउटा सानो प्रयास मात्रै हो, अरू पनि यसैगरी कोरोनाविरूद्धको लडाइँमा अग्रसर हुनुपर्छ’, उनी भन्छन्– ‘तर देखाउनलाई मात्र होइन, वास्तविक सेवा हुनुपर्छ । त्यसले मनलाई समेत शान्ति दिन्छ ।’