गोरक्ष समाचारदाता
तुलसीपुर, १३ भदौ । सिमेन्ट उद्योगका रुपमा सञ्चालन भएको रोल्पा सिमेन्टले चुनढुंगा अन्य उद्योगहरुलाई राज्यको नीतिविपरीत बेचविखन गरेको छताछुल्ल भएपछि दर्जनौं टिप्पर तुलसीपुर प्रहरीले गोटीखोलामा नियन्त्रणमा राखेको छ ।
आन्तरिक राजश्व कार्यालयले यो विषयमा छानबिन गरिरहेको भन्दै भ्याट बिल नलिएका ती चुनढुंगा बोक्ने टिप्परहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरको आग्रहमा आन्तरिक राजश्व कार्यालयले समेत स्थलगत अनुगमन गरेपछि ती सवारी साधनलाई नियन्त्रणमा लिइएको हो । तर उद्योगसम्वद्ध अधिकारीले भने अझै पनि भ्याट बिलको जोहो गर्दैछन् । उद्योगका अधिकारी भने यो विषयमा कुनै अभिव्यक्ति दिन चाहेका छैनन् ।
उनीहरु मोबाइल सम्पर्कबाट समेत टाढा रहेका छन् । ठूला करदाताका रुपमा कहलिएका उद्योगले केन्द्रमै कार्यालयमा बार्गेनिङ गरिरहेको बुझिएको छ ।
कुनै पनि आधिकारिक बिल नलिएको अवस्थामा बिहीवार दिउँसो केही गाडीलाई आन्तरिक राजश्व कार्यालयले नियन्त्रणमा लिएपछि शुक्रवारसम्म पनि उद्योगका अधिकारीले कुनै आधिकारिक बिल देखाउन सकेका छैनन् ।
भ्याट बिलमात्र नभएर ती टिप्परहरुले चुनढुंगा कहाँ लग्नेसमेत खुलाउन चाहेका थिएनन्, कहिले अमिलिया डिपोमा लग्ने त कहिले अग्नि सिमेन्ट र घोराही सिमेन्टमा पु¥याउने अभिव्यक्ति दिँदै आएका छन् । उनीहरुले पुन कन्स्ट्रक्सनको चलानी मात्र लिएर माल बोकिरहेको प्रहरीले जनाएको छ ।
त्यसो त रोल्पा सिमेन्ट उद्योगले दैनिक ४ सय टन चुनढुंगा उत्खनन्को अनुमति पाएको छ । तर समग्रमा दैनिक १ हजार टनसम्म चुनढुंगा सो उद्योगले अन्य सिमेन्ट उद्योगहरुलाई बेच्दै आएको छ । तर चुनढुंगा बिक्रीको कर भने छल्दै आएको छ । शुक्रवारसम्म पनि सो उद्योगले आधिकारिक भ्याट बिल आन्तरिक राजश्व कार्यालयलाई उपलव्ध गराउन सकेको छैन । आधिकारिक कागजात लिएपछि मात्रै नियन्त्रणमा लिएका टिप्पर छाडिने आन्तरिक राजश्व कार्यालयका प्रमुख लक्ष्मण श्रेष्ठले बताएका छन् ।
‘जहाँबाट माल उठाइन्छ, त्यही स्थानबाट भ्याट बिलको व्यवस्थापन हुनुपर्दछ अन्यथा माल एक जिल्लाबाट अर्को जिल्ला तथा एउटा उद्योगले अर्को उद्योगलाई बेच्न मिल्दैन’, श्रेष्ठले भने । अझै पनि भ्याट बिल र आवश्यक कागजात ल्याउन नसकेका कारण ५ वटा टिप्पर आन्तरिक राजश्व कार्यालयमै नियन्त्रणमा रहेको पनि उनको अभिव्यक्ति थियो । यो विषयमा ठूला करदाताको कार्यालयमा प्रतिवेदन पठाउने तयारी भएको पनि उनले बताए ।
रोल्पा सिमेन्ट उद्योगले सिमेन्ट उत्पादनमा भन्दा बढी चुनढुंगा बिक्रीमा बढी प्राथमिकता दिएको त्यहाँका स्थानीयबासीहरुले बताएका छन् । सिमेन्ट उत्पादनमा भन्दा चुनढुंगा बेच्दा राज्यलाई कर तिर्नु नपर्ने वातावरण भएको भन्दै यसरी चुनढुंगाको कारोबार पनि गर्दै आएको छ ।
राज्यका अधिकारीहरुलाई आर्थिक प्रलोभनमा पारेर सो उद्योगले यसरी महिनौंदेखि कर छल्दै चुनढुंगाको व्यापार गरेको अवस्थाम इलाका प्रहरी कार्यालय र आन्तरिक राजश्व कार्यालयले यो विषयमा स्थलगत अनुगमन गर्दा यो अवस्था आएको हो । आन्तरिक राजश्व कार्यालयले सञ्चालनको अनुमति नदिएसम्म रोल्पा सिमेन्ट कार्यालयले चुनढुंगा कुनै पनि स्थानमा बेचविखन गर्न पाउने छैन । तीनवटा सुरक्षा चौकी छल्दै आएका यी टिप्परहरुलाई तुलसीपुर इलाका प्रहरी कार्यालयले गोटीखोलामा नियन्त्रणमा लिएको छ ।
यसैबीच मूल्य अभिवृद्धि कर तिरेको रसिद ल्याएपछि गोटीखोलामा रोकिएका ४४ टिप्परलाई सञ्चालन अनुमति दिइएको आन्तरिक राजश्व कार्यालय तुलसीपुरले जनाएको छ । अब उप्रान्त सम्बन्धित गाडीमै बिल बोक्ने शर्तमा ती टिप्परहरुलाई छाडिएको कार्यालयले बताएको छ ।
तर कारबाही प्रक्रिया भने जारी रहने पनि कार्यालयको भनाइ रहेको छ । पहिलो पटकलाई बिल ल्याउन समय दिइएको भए पनि यसअघिका घटना र भविष्यमा हुने कारोवारका विषयमा ठूला करदाता कार्यालयमा पत्राचार एवं प्रतिवेदन पठाइएको पनि कर कार्यालयले जनाएको छ ।