खेमराज रिजाल
रोल्पा, ११ भदौ । मुलुक विश्वव्यापी कोरोना संक्रमणको जोखिममा रहेको अवस्थामा ठूला उद्योगहरुले राजश्व (कर) छल्दै आएका छन् । यसरी राज्यलाई तिर्नुपर्ने कर नतिरेको भन्दै आन्तरिक राजश्व कार्यालय र ईलाका प्रहरीको छड्के परीक्षणले मूल्य अभिबृद्धि कर नतिरेको रोल्पा सिमेन्टका कम्तिमा आधा दर्जन टिप्परलाइ नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले समन्वय गरी आन्तरिक राजश्व कार्यालय तुलसीपुरका कर्मचारी समेतको रोहबरमा सो उद्योगले राजश्व छल्दै चुनढुङ्गा उत्खनन् गरी अन्य उद्योगलाई बेचविखन समेत गर्दै आएको थियो । ‘हाम्रो भ्याट बिल हेर्ने दायित्व त थिएन, तैपनि कर कार्यालयका प्रमुखलाई जानकारीसँगै उहाँले प्रतिनिधि समेत पठाइदिएपछि राज्यलाई कर छल्ने टिप्परलाई कर कार्यालयमा बुझाएका छौँ’-ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी सिंहले भने ।
पहिलो चरणमा ईलाका प्रहरी कार्यालयले तुलसीपुर उपमहानगरपालिका गोटीखोलामा केही टिप्परहरुको आधिकारिकता खोजेको थियो । त्यसैले चेकिङलाई समेत बढी सक्रियताका साथ अघि बढाएको थियो । त्यसै क्रममा कुनै पनि कागजात नभएर रोल्पा जिल्लाको पुन कन्स्ट्रक्सनका नाममा चलानी लिएर धमाधम रोल्पा सिमेन्ट उद्योगले चुनढुङ्गा अन्य उद्योगलाई बेचिरहेको छ ।
सो उद्योगले आफै सिमेन्ट उत्पादन केही मात्रामा गरे पनि खानीको चुनढुङ्गा भने अन्य सिमेन्ट उद्योगहरुलाई बेचविखन गर्दै आएको छ । रोल्पाको आफ्नै खानीक्षेत्रबाट उत्खनन् गरिएको चुनढुङ्गा घोराही सिमेन्ट प्रालि, अग्नि सिमेन्ट तथा अमिलिया डियोमा थुपार्दै आएको छ । तर उसले राज्यलाई कर नतिरेको अवस्था देखिएपछि आन्तरिक राजश्य कार्यालयले समेत स्थलगत अनुगमन गरेको थियो ।
करछलीसँगै पुन कन्स्ट्रक्सनको एकल सिण्डीकेटमा उद्योगका अधिकारीहरु समेत प्रभावित भएका छन् । किनकि अर्को ढुवानीकर्ता उद्योगका सञ्चालकलाई आवश्यकता छैन । करछलिदेखि राज्य संयन्त्रसँग लड्नसक्ने पुन कन्स्ट्रसन नै भएको मान्यतामा अन्य व्यवसायीलाई पनि पुनः थ्रो माल लिन आउन सिमेन्ट उद्योगले उर्दी समेत जारी गरेको छ ।
बाटो पनि ध्वस्त बन्दै
करछलि मात्रै होइन, सिमेन्ट उद्योगले सम्बन्धित कन्स्ट्रक्सनमार्फत् ढुवानीमा जोडिएका टिप्परहरुलाई दोब्बर भार समेत बोकाउन र चलाउन वाध्य बनाएको छ । सडकको क्षमता १० चक्के टिप्परले १६ टन मात्रै बोक्न पाउँछन् । तर रोल्पा सिमेन्ट उद्योगदेखि तुलसीपुर हुँदै अमिलियासम्म पुग्ने् दशचक्के टिप्परले क्षमताभन्दा १० टन बढी, अर्थात २७ टन समेत बोक्दै आएका छन् ।
यो अवस्थाले तुलसीपुर कपुरकोट सडक अब सहज यातायातका लागि धरापजस्तै भएको यातायात व्यवसायीहरुले बताएका छन् । दैनिक रुपमा क्ष्मताभन्दा बढी भारका सामान बोकेकै कारण घोराही होलेरी सडकखण्ड धरासायी भएजस्तै चाँडै नै तुलसीपुर कपुरकोटको अवस्था पनि यस्तै हुनसक्छ । तर स्थानीय सरकार, प्रहरी प्रशासन तथा नागरिक समाजले पनि यो अवस्थामा मौन बसेको देखिएको छ ।
भ्याट बिल मात्रै होइन, लाइसेन्स र ब्लुबुक पनि थिएन : कर प्रमुख
यसैबीच आन्तरिक राजश्व कार्यालयका प्रमुख लक्ष्मण श्रेष्ठले टिप्परहरुले कुनै पनि अत्यावश्यक डकुमेन्ट नल्याएको बताएका छन् । ‘करछलिको विषय त परैको कुरा हो, उनीहरुले लाइसेन्स र ब्लुबुक पनि बोकेका थिएनन्, यो कहाँसम्मको ज्यादती हो ?’- कार्यालय प्रमुखले भने । कुनै पनि डकुमेन्टबिनै टिप्परले चुनढुङ्गा बोकिरहेको बताउँदै अफिसियल आधिकारिकता र आवश्यक कागजात लिएर मात्रै ढुवानी व्यवसाय सञ्चालन गर्न आफूले भनेको पनि उनको अभिव्यक्ति थियो ।
तर समाचार लेख्दासम्म चुनढुङ्गा व्यापारका विषयमा कुनै पनि व्यक्तिले आधिकारिक प्रमाणित गर्न नसकेको अवस्था छ । राज्यलाई तिर्नुपर्ने कर नतिरेको अवस्थामा गाडी पक्राउ भइसकेको अवस्थामा पनि सिमेन्ट उद्योगका अधिकारीहरुले बोल्न चाहेका छैनन् । सो कम्पनीका अध्यक्ष अरुण कर्ष तथा प्रमुख प्रशासक घनश्याम लाल कणर्ले पनि फोन उठाएनन् । पुुन कन्स्ट्रक्सनले पनि कुनै आधिकारिक विज्ञप्ति सार्वजनिक गरेको छैन ।
आन्तरिक राजश्व कार्यालयले ५ वटा टिप्परलाई मात्रै नियन्त्रणमा लिए पनि थप टिप्परहरुलाई भने गोटीखोलाको प्रहरी विटमै राखिएको छ । यी टिप्परहरुले राजश्वको आधिकारिकता ल्याउलान् वा राजनीतिक संरक्षणमा फेरि यस्तै कारोबार गर्लान् ?