कोरोनाको जोखिममा घोराही बजार

युवराज शर्मा

घोराही बजार दाङ जिल्लाको पुरानो बजार हो । अहिले यो उपमहानगरपालिका र स्थानीय तहको सरकार पनि हो । सिंहदरबारलाई गाउँ-गाउँमा भन्ने सरकारी आवाज थियो । त्यसैले स्थानीय तहको सरकारलाई गाउँको सिंहदरबार पनि भन्छन् । यो दरबारले कोरोना भाइरस विरुद्ध के-कस्ता काम गर्‍यो ? नागरिकका अगाडि छ भन्छन् सरकारका प्रमुख ।

तर घोराही पुरानो बजारलाई बजार बसाउने काम पनि यहाँका पुराना मधेशीहरु हुन् ।  जो भारतको उत्तरौला र विसखोहरबाट आई बसेका छन् । उनीहरुले व्यापारिक जमघट बढाएका हुन् । अरुहरुको तुलनामा उनीहरु ओझेलमा परेका छन् । भाइहरु छुट्टी भिन्न भएपछिका दिनहरु कमजोर बन्नु स्वाभाविकै हो । तर घोराहीमा बढ्दो संख्या विहारबाट आउने मधेशीहरुको छ । पुराना मधेशीहरुभन्दा विहारीहरु आर्थिक दृष्टिले सम्पन्न छन् । तर पुराना मधेशीहरुसँग जग्गाहरु अझैसम्म छन् । यसले उनीहरु खाद्यमा आत्मनिर्भर छन् ।

अहिले घोराही बजारमा विहारी मधेशीहरुको चकमक झकाझक छ । उनीहरुले नेपाली नागरिकता पनि प्राप्त गर्न सफल छन् । बजारको चहलपहल बढाउने, घुमफिर गर्ने, किनमेल गर्ने व्यक्तिहरुमा बजार गर्नेहरु महिलाहरुको संख्या बढी मात्रामा छ । धेरै महिलाहरुले मास्क लागउका हुँदैनन् ।

आफ्नो पछ्यौरीले मुख छोप्छन् । त्यो पनि प्रहरीलाई देखेपछि मात्र । करिब ७० प्रतिशतले मास्क लगाउने गर्दैनन् र दूरी कायम पनि गर्दैनन् । बाटोमा हिड्दा कोरोनाका मालिक हुन् कि जस्तो देखाउँछन् । लकडाउन अगाडिका दिनचर्या बिताए । केरोनाको ज्ञान गर्न सकेका छैनन् । घोराही बजारमा दिनदिनै कहाँबाट के कति मानिसहरु भित्रिएका छन्, त्यसको लेखाजोखा कतै छैन । अहिले बाहिरी मुलुकहरुबाट घोराही आउनेहरुको संख्या बढेको छ ।

लकडाउन र निषेधाज्ञा कोरोना समाधानको आधार होइन । रातिमा लकडाउन र निषेधाज्ञाले नागरिकलाई चेतना जाग्दैन । जबसम्म नागरिकमा चेतना हुन सक्दैन तबसम्म यस रोगबाट बच्ने उपायहरु प्रयोगमा आउँदैनन् । मानिसहरुलाई सुरक्षात्मक उपायहरु अपनाउन लगाउनु सरकारको कर्तव्य हो । लकडाउन र निषेधाज्ञाले दमनकारी नीति देखियो ।

कोरोना ५ दिन वा १० दिनमा नियन्त्रण हुँदैन । यस्ता दमनकारी कार्यशैलीले रोग बढाउने काम मात्र हो । चाडपर्वहरुमा घोराही बजार चहलपहलको ठाउँ हुन्छ । यस्तो भीडभाडलाई नियन्त्रण गर्नु व्यापारीवर्गका संघ वा समितिहरुका पदाधिकारीहरुको काम कर्तव्य हो । प्रहरीहरुले पसलहरुमा भीडभाड नगर्नुस्, मुखमा मास्क लगाउनुस् भन्छन् ।

दूरी कायम गरेर बस्नुस् अथवा हिड्नुस् र सरसफाईमा ख्याल गर्नुस् भन्नुपर्ने वातावरण बनाउनु लोकतन्त्रात्मक गणतन्त्रशैली अपनाएको भएन । व्यापारीहरुले पनि ख्याल गर्दैनन् । उनीहरुले सामान बेच्ने अवसर ठान्दछन् । कोरोनालाई नियन्त्रण गर्ने उपायहरु अपनाउँदैनन् । राजनीतिक दलका नेता, कार्यकर्ता, भ्रातृसंगठनहरुले नागरिकलाई चेतना जगाएर कोरोनाबाट बच्ने उपायहरु अपनाएको घोराही बजारमा पाइन्न ।

के उनीहरुको कर्तव्य होइन र ? केका लागि लोकतन्त्रात्मक गणतन्त्र भन्छन् ? धन कमाउने अवसरका लागि उपयोग गर्ने समय बनाएको अवस्था छ । घोराही बजारमा बस्नेहरुले आफूलाई सभ्य देखाए पनि पहिरण मात्र हो । व्यवहार र कार्यशैलीमा सुधार छैन । त्यसकारण गाउँमाभन्दा सहर बजारमा कोरोना बढेको बढ्यै छ ।

घोराही बजार पनि कोरोनामुक्त हुनसक्ने छैन । घोराही बजारलाई हेर्दा शिक्षकहरु जान्नेमान्ने व्यक्तिहरु, कर्मचारी र महिलाहरुलाई नियाल्दा करिब ७० प्रतिशतले मास्क लगाउँदैनन् । यदि लगाए पनि चिउँडोमा लगाउँछन् । दूरी कायम गर्दैनन् । एकअर्कालाई धक्याउँदै हिड्छन् र अर्को व्यक्तिलाई बाटो छोड्दैनन्, आफूलाई धनाढ्यवर्गको व्यक्ति ठान्छन् । जब कि कोरोनाले धनी र गरिब छुट्याउँदैन । सरुवा रोग भएकोले छुवाछूतबाट सर्छ ।

व्श्विमा यसको औषधि बन्नसकेको छैन । अति खतर्नाक संक्रमण रोग हो । मानिसमा शारीरिक कमजोरी भयो । रक्तअल्पता बढ्यो अनि स्वेतरक्तकण घटे । यस्तो अवस्थामा रुघाखोकी र ज्वरो देखापरेमा कोरोनाको लक्षण हुनसक्छ । त्यस्तो व्यक्ति तुरुन्त स्वास्थ्य केन्द्रमा उपचार गराउन जानुपर्छ ।

घोराही बजारमा विषादीयुक्त फलफूलहरुको विक्रीवितरण बढ्दो रुपमा छ । त्यस्ता फलफूलहरु भारतीय बजारबाट आयात भएका हुन् । फलफूलहरु तातोपानीले पखालेर खानुपर्नेमा कपाकप खाने चलन छ । यस सम्बन्धमा कुनै निकायहरुको ध्यान छैन । जब घटना घट्छ तब छानवीन सुरु हुन्छ ।

के यसको नियन्त्रण गर्ने प्रहरीहरुको मात्र काम हो र ? व्यापारीहरुले ख्याल गर्नु पर्दैन ? अहिले स्थानीय तहका पदाधिकारीहरुले व्यापारीहरुलाई निर्देशन गर्न सक्दैनन् र ? पक्कै पनि सक्दैनन् । यो ठाउँ स्थानीय सरकार बस्ने ठाउँ हो । सिंहदरबार बनेको छ । तर घोराही बजारमा कोरोना रोगको चेतनाकरण नागरिकमा जाग्न सकेको छैन । बजारियाहरुको यस्तो हालत छ भने गाउँको अवस्था कस्तो होला ? अनुमान गर्न सकिन्छ । दुःखमा गाउँलेहरु छन् ।

घोराही बजारलाई हेर्दा कोरोनाको बढ्दो जोखिम छ । यो रोगको प्रभाव महामारीको रुपमा देखिने छ । यहाँ अहिले भारतबाट कामको खोजीमा आउनेहरु धेरै भित्रिरहेका छन् । कतिपय यहाँका मान्छेहरु जो बाहिरी मुलुकमा गएका थिए उनीहरु पनि भित्रिरहेका छन् । यिनीहरुको स्वास्थ्य परीक्षण कसले गर्ने हो ? अझै स्पष्ट छैन । यहाँ भएका व्यक्तिहरुमा चेतना जाग्ने अवस्था छैन ।

लकडाउन र निषेधाज्ञा जस्ता नियन्त्रणका उपायहरुले नागरिकको आर्थिक र सामाजिक अवस्था कमजोर बन्ने मात्र हो । व्यवसायहरु सबै ठप्प भए । यो रोग ५ दिनपछि हट्ने होइन, अझ बढ्ने लक्षण सहरबजार क्षेत्रमा देखापरिसकेको अवस्था छ । नागरिकवर्गमा चेतना भए मास्क लगाउँथे, दूरी कायम गर्थे, एकअर्कासँग कुम जोडेर, हात मिलाएर, धक्याउँदै हिड्ने थिएनन्, आफूले आफैलाई सम्हालेर हिड्ने थिए । टेम्पोमा, जीप, कार, बसहरुमा कोचाकोच गरेर बस्ने थिएनन् ।

कतिपय टेम्पोहरुको लापरवाही छ भने कतिपयले धन कमाउने अवसर ठान्छन् । हुन पनि सरकार चलाउनेहरुले पनि असार मसान्तलाई धन कमाउने अवसर बनाएका थिए । त्यसको अनुकरण आफूहरुले गर्न चुकेनन् ।

सरकारले कर उठाउन लकडाउन खुला गर्‍यो । आवागमन चलाउन लगाउो । यातायातका साधनहरु अनियन्त्रित भए । राता प्लेटका निजी गाडीहरुले मन्छे ओसार्दा पनि ट्राफिक प्रहरीहरु बोल्न सकेनन् । उनीहरु कसरी बोलून् ? नियम मिच्नेहरु नेताका कार्यकर्ता र अरौटेभरौटेहरु छन् । उनकै रजाइँ घोराही बजारमा चल्दै आएको छ ।

घोराही बजारमा बढ्दो आवागमन गर्ने मानिसहरुलाई हेर्दा कोरोना भाइरस सम्पर्कमा धेरैजनालाई सर्ने निश्चित देखिन्छ । यहाँ रक्सी खाएर मात्तिनेहरुको कमी छैन । एकअर्कालाई छोएर हिड्दा रोग सर्छ भन्ने ज्ञान छैन । ज्ञान भएकाहरुले पनि बुझ पचाउँछन् । लकडाउन र निषेधाज्ञाबाट मानिसमा अनुशासन र बानी व्यवहारमा राम्रो परिवर्तन भएन । नागरिकमा चेतना जागेन । उनीहरुमा रोगका समबन्धमा चेतना जगाउने कार्यहरु भएनन्, कतै गरिएका पनि छैनन् । घोराही बजारमा नागरिकलाई कोरोना भाइरसको ज्ञान गराउन र बच्ने उपायहरुलाई पालन गराउन प्रहरीको प्रयोगले हुँदैन ।

राजनीतिक दलहरुका कार्यकर्ताहरुको परिचालन दलहरुका पदाधिकारीहरुले गर्नुपर्छ । नागरिक बाँचे मात्र राजनीति बाच्न सक्छ भन्ने ज्ञान गर्नुपर्छ । घोराही बजार कोरोना भाइरसको उच्च जोखिममा छ । नागरिकमा छाडापन बढ्दो छ । यस्तो वातावरण बनाउने राजनीति गर्र्नेवर्ग हुन् । घोराहीमा राजनीतिज्ञहरुको बोलवाला छ । कोरोनाको जोखिम पनि उनीहरुकै भेटघाट गर्नेहरु छन् ।