दाङ, ११ भदौ । दाङमा समुदायस्तरमा कोरोना फैलिएको छ । बुधवार थपिएका घोराहीमा रहेको लक्ष्मी बैंकका कर्मचारीसँगै उनीहरुको परिवारमा समेत कोरोना संक्रमण पुष्टि भएपछि समुदायस्तरमा कोरोना पुगेको पुष्टि भएको हो ।
घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणका क्रममा बुधवार घोराही उपमहानगरपालिकामा ९ जना र तुलसीपुर उपमहानगरपालिकामा ७ जना गरि १६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमितमध्ये १० जना पुरुष र ६ जना महिला रहेका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिवर क्लिनिकमा २३ जनाको स्वाव परीक्षण गर्दा घोराहीमा रहेको लक्ष्मी बैंकमा कार्यरत थप ४ जना कर्मचारीसहित ९ जनामा कोरोना संक्रमण देखिएको घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले जानकारी दिएका छन् ।
‘सोमवार बैंकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको काउन्टरमा कार्यरत तीनजनामा कोरोना संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको कोरोना परीक्षण गरिएको थियो’, शाखा प्रमुख घर्तीले भने– ‘त्यसक्रममा सोही बैंकमै कार्यरत थप ४ जना र उनीहरुको परिवारका सदस्यहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।’ उनका अनुसार घोराही–१४ निवासी एक कर्मचारीका ३३ महिनाकी छोरी, २५ बर्षीय श्रीमती र ५० बर्षीय आमामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी घोराही उपमहानगरपालिका–३ का ४१ बर्षीय पुरुष र घोराही–११ का ३३ बर्षीय पुरुष लक्ष्मी बंैकमा कार्यरत कर्मचारी रहेको खुलेको छ । अन्य दुई जनाको पहिचान हुन सकेको छैन् । घोराही–१५ का २३ र ३८ बर्षीय दुई पुरुष र १८ बर्षीय बालिका घोराही–१८ का २७ बर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकृत रोशन आचार्यले जानकारी दिएका छन् ।
उनका अनुसार तुलसीपुरमा १०३ जनाको स्वाव परीक्षणका क्रममा तुलसीपुर उपमहानगरपालिका–१७ निवासी १७ बर्षीय र तुलसीपुर–५ निवासी ६२ बर्षीय महिला र तुलसीपुर–३ निवासी ४१ बर्षीय, तुलसीपुर–६ निवासी २५ र ४१ बर्षीय, तुलसीपुर–१० निवासी ५७ बर्षीय र तुलसीपुर–११ निवासी ३६ बर्षीय पुरुषहरुमा कोरोना संक्रमण देखिएको हो । उनीहरु बाहिरबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्तिहरु रहेका छन् । योसँगै दाङमा कोरोना संक्रमितको संख्या ७ सय ५४ जना पुगेको हो ।
प्यूठानमा थपिए ८ जना
यसैबीच प्यूठानमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको कोरोना परीक्षणका क्रममा प्यूठानको प्यूठान नगरपालिकामा ४ जना, नौबहिनी गाउँपालिकामा ३ जना र ऐरावती गाउँपालिकामा १ जना गरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।