समाजमा शान्ति स्थापना गर्न गिठेपानीमा प्रहरी विट

अमरराज आचार्य
दाङ, ११ भदौ । घोराही उपमहानगरपालिका वडा नं १८ स्थित गिठेपानी, फुर्सेखालीमा वडा प्रहरी कार्यालयको अस्थायी प्रहरी विट राखिएको छ ।

बुधवार एक कार्यक्रमको आयोजना उक्त क्षेत्रमा हुने विभिन्न प्रकारका आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने तथा शान्ति स्थापना गर्नका लागि प्रहरी विटको स्थापना गरिएको हो । विभिन्न आपराधिक क्रियाकलाप बढेको भन्दै उक्त क्षेत्रका नागरिकहरुले प्रहरी बिट स्थापना गर्ने माग गरिँदै आएका थिए ।

लामो प्रयासपछि अहिले प्रहरी बिट स्थापना गर्न सफल भएको उक्त क्षेत्रमा रहेका ११ टोल विकास संस्थाका अध्यक्ष मातृकाप्रसाद पाण्डेले जानकारी दिए । प्रहरी बिट स्थापनासँगै यस क्षेत्रमा हुने आपराधिक क्रियाकलाप, लागू औषध दुव्र्यसनी नियन्त्रण तथा समाजमा शान्ति स्थापना गर्नका लागि सहयोग मिल्ने उनको भनाइ रहेको छ ।

स्थापना भएको प्रहरी बिट दीर्घकालीनरुपमा सञ्चालन हुनुपर्ने उनले बताए । यसका लागि स्थानीय बासिन्दाहरुले आवश्यक पर्ने सहयोग गर्ने बताए । ‘हामीबाट हुने सहयोग गर्ने हामी तयार रहेका छौं’, पाण्डेले भने ।

कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका प्रवक्ता तथा वडा नं १८ का वडा अध्यक्ष भरतमणि अर्यालले प्रहरीको विट स्थापनासँगै शान्ति स्थापना गर्न सहयोग पुग्ने बताए । वडा नं. १८ विभिन्न आपराधिक कार्य हुने स्थानको रुपमा चिनिने गरेको भन्दै यस्तो कार्य राम्रो नभएको बताए ।

यस प्रकारको कार्य परिवर्तन गर्न सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताए । ‘हामी सबैको सहयोगबाट नै समाज सुधार गर्न सकिन्छ’, वडा अध्यक्ष अर्यालले भने । वडा नं. १८ मा स्थायी प्रहरी चौकी स्थापना गर्न पहल भइराखेको उनले बताए । ‘यस क्षेत्रको अवस्थालाई मध्यनजर गर्दै स्थायी प्र्र्रहरी पोष्ट राख्नका लागि पहल भइराखेको छ’, अर्यालले भने । स्थायी प्रहरी पोष्ट राख्नका लागि आवश्यक पर्ने जग्गाको व्यवस्थापन गर्न समेत उनले आग्रह गरे ।

बालबालिकाहरुलाई आपराधिक कार्यबाट रोक्नका लागि अभिभावकहरुले भूमिका खेल्नुपर्ने उनको भनाइ रहेको छ । अभिभावकहरुले आफ्ना बालबालिकाहरुको निगरानी गर्नुको साथै सचेत बनाउनुपर्ने बताए । ‘आफ्ना बालबालिकाहरुप्रति अभिभावकहरु सचेत हुन जरुरी रहेको छ’, अर्यालले भने ।

बालबालिकाहरुको निगरानी गर्न तथा संस्कार सिकाउन नसक्दा आपराधिक क्रियाकलापमा संलग्न हुने गरेको उनको भनाइ रहेको छ । किशोर अवस्थाका बालबालिकाहरु बढी आपराधिक कार्यमा लाग्ने गरेको पाइएको अध्यक्ष अर्यालको भनाइ छ ।

दाङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले यस क्षेत्रको आवश्यकताअनुसार नै प्रहरी विटको स्थापना भएको बताए । प्रहरी विट स्थापनासँगै आपराधिक कार्य नियन्त्रण हुने उनको भनाइ रहेको छ । यस क्षेत्रमा विभिन्न समयमा आपराधिक कार्य हुने गरेको उनले बताए । अपराध नियन्त्रण गर्नका लागि स्थानीय बासिन्दाहरुले प्रहरीलाई सहयोग गर्नुपर्ने बताए ।

नागरिकको सहयोग भएमा आपराधिक क्रियाकलाप रोक्न सकिने उनको भनाइ रहेको छ । वडा प्रहरी कार्यालय घोराहीका प्रमुख दिनेश रिमालले प्रहरी विटमा २४ घण्टा नै प्रहरीको व्यवस्था हुने बताए । आवश्यक परेको समयमा थप व्यवस्था गरिने उनको भनाइ रहेको छ । समाजमा शान्ति स्थापना गर्नका लागि प्रहरी लागिपर्ने उनले बताए ।

नागरिकहरुले प्रहरीलाई सूचना दिएर सहयोग गर्नसमेत उनले आग्रह गरे । ‘नागरिकको सानो सूचनाले प्रहरीलाई धेरै ठूलो सहयोग मिल्छ’, रिमालले भने । प्रहरी एक्लैले मात्र केही गर्न नसक्ने भन्दै नागरिकको सहयोग अपरिहार्य भएको बताए । कार्यक्रममा बोल्ने बक्ताहरुले स्थापना गरिएको विट दीर्घकालीन हुनुपर्ने बताएका थिए । विट स्थापनासँगै आफूहरु सुरक्षित महसुस गरेको उनीहरुले बताए ।

त्यस अवसरमा एकता महिला बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष रेबा अधिकारी, आधारभूत विद्यालय गिठेपानी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशरवहादुर रावत, दिदी बहिनी टोल विकास संस्थाका अध्यक्ष घनबहादुर रावतलगायतले भनाइ राखेका थिए ।

कार्यक्रम ११ टोल विकास संस्थाका अध्यक्ष मातृकाप्रसाद पाण्डेको अध्यक्षतामा भएको थियो । यशोदा पाण्डेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण ११ टोल विकास संस्थाका सचिव दिनेश वलीले गरेका थिए । उक्त प्रहरी विट विभिन्न संघसंस्था, टोल विकास संस्थाहरु तथा विभिन्न व्यक्तिको सहयोगमा निर्माण गरिएको हो ।