दाङ, ११ भदौ । नेपाल परिवार नियोजन संघले कोरोना भाइरसको महामारीको वर्तमान समयमा कुनै पनि सेवाग्राही यौन तथा प्रजनन स्वास्थय सेवाबाट बन्चित हुन नपरोस् भन्ने उद्देश्यले हेल्पलाइन सेवा सुरुवात गरेको छ ।
संघले सेवाको पँहुचबाट बन्चित, सिमान्तकृत समुदाय ,यौन तथा लैङ्िगक अल्पसंख्यक ,यौनकर्मी महिला ,एचआईभी एडस संक्रमित तथा अपाङ्गता भएका व्यक्तिहरुलाई निशुल्क रुपमा सेवा उपलब्ध गराउदै आइरहेको छ ।
कोरोना महामारीको समयमा सबैका लागि यौन तथा प्रजनन् स्वास्थ, परिवार नियोजन, सुरक्षित गर्भपतन, सुरक्षित मातृत्व, नवजात शिशु तथा बाल स्वास्थ्य, एचआईभी एडस, यौन संक्रमणलगायत स्वास्थ सम्बन्धी परामर्श तथा सेवाहरु निशुल्क रुपमा हेल्पलाइनबाट दिन थालेको हो ।
त्यसका लागि १६६००१४५००० नम्वरको ब्यवस्था समेत गरेको छ । अहिलेको अवस्थामा अफिसमै आएर सेवा लिन सहज नभएकाले सेवाग्राहीहरुलाई टेलिफोनबाटै सेवा प्रदान गर्ने उद्देश्यले हेल्पलाइनका माध्यमबाट सेवा दिन थालेको नेपाल परिवार नियोजन संघका निमित्त महानिर्देशक सुभाष श्रेष्ठले जानकारी दिएका हुन ।
कल ट्रान्सफरको माध्यमद्वारा विशेषज्ञ चिकित्सकहरुसँग आवश्यक सेवा र परामर्श सेवा लिन सकिने ब्यबस्था मिलाइएको नेपाल परिवार नियोजन संघका निमित्त महानिर्देशक श्रेष्ठले जानकारी दिए । उक्त सेवाका लागि बिहान ९ बजेदेखि दिउँसो ५ बजेसम्म हेल्पलाइन नम्बर १६६००१४५००० मा सम्पर्क राखी सेवा लिनका लागि सबै मा निमित्त महानिर्देशकले अनुरोध समेत गरेका छन् ।