दाङ, ११ भदौ । नेपाली कांग्रेस दाङ क्षेत्र नं २ ले जनताको कोरोनाको महामारीको समयमा जीवन रक्षामा ध्यान दिन सरकारलाई आग्रह गरेको छ ।
नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ का सभापति भूपबहादुर डाँगीले विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन् । पछिल्लो समय दाङ पनि उच्च जोखिममा रहेको भन्दै पिसिआर टेष्ट र संक्रमितको उपचारमा तथा जीवन रक्षामा पूर्ण लापरबाही गरी सरकारले समाजमा त्रास फैलाएकोप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा भनिएको छ ।
कोरोनाको कारण थप संक्रमण फैलन नदिनका लागि कार्य गर्नसमेत माग गरिएको छ । स्वास्थ्य सम्वन्धी सुरक्षार्थ र पिसिआर टेष्टको दायरालाई फराकिलो बनाइ कोरोना उपचारमा उच्च सतर्कता अपनाई अस्पतालका ओपिडी सेवासमेत सुरक्षितरुपमा सञ्चालन गरी जनताको जीवनरक्षामा सजक हुन विज्ञप्तिमा भनिएको छ ।
कोरोनाविरुद्धको लडाइँमा अग्रपंक्तिमा खट्नुहुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र सामाजिक अभियान्ताहरुप्रति धन्यवाद दिँदै आगामी दिनमा उच्च मनोवलका साथ अगाडि बढ्न भनिएको छ । विज्ञप्तिमा कोरोनाको कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै संक्रमितहरुको स्वास्थ्य लाभको कामनासमेत गरिएको छ ।