नेतृत्व युवापिढीमा हस्तान्तरण

भूवन पोख्रेल

राजनीतिक संस्कार बस्नका लागि सामन्तवादी चरित्र निर्मुल हुन सक्नुपर्छ । संस्कार लोकतान्त्रिक बन्न सक्नुपर्छ । लोकतान्त्रिक अभ्यासमा अहंकारवादले ठाउँ पाउनु हुँदैन । पछिल्लो निर्वाचनमा अभूतपूर्व सफलतापछिका सम्पूणर् घटनाक्रममा नेकपा आफ्नो अभिष्ट पूरा गर्न निकै सफलत्व भइसकेको छ ।

अन्य राजनीतिक दलका तुलनामा राजनीतिक चतुर्‍याइँका लागि ऊ अब्बल सावित भइसकेको छ । यसमा उसले प्रतिपक्षी दल कांग्रेसको साथ सहयोगलाई पनि निरन्तर लिइरहेको छ । कांग्रेसले प्रतिपक्षको सशक्त भुमिका देखाउन चुकेको छ । नेपाली कांग्रेसभित्रको आन्तरिक लोकतन्त्र मजबुद्ध नहुने हो भने सिङ्गो मुलुकको लोकतन्त्रमा धमिरा लाग्नसक्छ । राजनीतिक माहोलको पवित्रताले मात्र लोकतन्त्रलाई दीर्घजीवी बनाउन सक्छ ।

‘मै नै पार्टी हुँ’ भन्ने जतिसुकै शक्तिशाली नेताले पनि छनक दिनु हुँदैन । दलहरुको अराजकता, अधिनायकवाद, अरहिष्णु आन्तरिक वातावरणले उत्पन्न गरेका परिस्थितिका कारण लोकतन्त्र अनावश्यक जटिलतातर्फ प्रवेश गर्दैछ । जनतामा देखिने उदासिनता र निराशा वा भनौँ राजनीतिक वितृष्णा संघीय लोकतान्त्रिक गणतन्त्रप्रति होयन ।

दलहरुको अराजनीतिक चरित्र प्रति हो अर्थात् नेताहरुको खराब नियतप्रति हो । प्रवृत्तितर्फ हो तर नीति र सिद्धान्तप्रति हो, प्रवृत्तितर्फ हो तर नति र सिद्धान्तर्फ होइन । लोकतन्त्रका जरा भूइँसम्म फैलाउनका लागि नेतृत्व तहले जनताको मन जित्नुपर्छ । नेताहरु बेलैमा जनभावनाको कदर गर्न नसके जनतामा पोखिएको असन्तुष्टि वा उत्तेजनात्मक प्रतिक्रियालाई कुतत्वले गलत ढङ्गबाट प्रयोग गरी सिङ्गो उपलब्धिलाई विथोल्ने प्रयासमा मलजल पुग्नसक्छ ।

राजनीतिक नेतृत्ववर्गको चरित्र नफेरि व्यवस्था मात्र फेरेर लोकतन्त्र र कल्याणकारी राज्यको स्थापना गर्न सकिँदैन । जनताको परीक्षणको कसैटीमा सबै दल उस्तै छन् र त जनताले कहाँ विकल्प खोज्ने भनी निराशा व्यक्त गरेका छन् । लोकतान्त्रिक शासन व्यवस्थाको अपरिहार्यता भनेको सामूहिकता हो वा शासनमा जनताको भागिदारी ।

तिनलाई अधिकारप्रति जागरुक बनाउनु र आफूले शासन तथा जनताको बीच पुलको काम गर्नु, लोकतान्त्रिक प्रणालीको निर्वाध सञ्चालनका लागि पहिला राजनीतिक दलहरुले आफूलाई सुधार्न सक्नुपर्छ ।

दलहरुले आफूलाई रुपान्तरण गर्न नसक्ने हो ने संक्रमणकाल झाँगिन्छ । अनेक भूमरीबाट लोकतन्त्रलाई जोगाउने राजनीतिक दलहर हुन् तर दलका प्रतिनिधिप्रति अधिकांश जनता किन विश्वस्त छैनन् ? यो राजनीतिक दलहरुले मनन् गर्नुपर्ने कुरा हो । किन जनतामा दलप्रति वितृष्णा छायो ? राजनीतिक संस्कार किन जनमैत्री बन्न सकेन ? यसमा नेतृत्ववर्ग बेलैमा सचेत बन्ने हो भने मुलुक परिवर्तनको बाटोमा अघि बढ्न सक्छ ।

कांग्रेसमा आसन्न महाधिवेशनलाई लिएर नेताहरुबीच तीव्र अविश्वास बढ्दै गएको छ । नेताहरुबीचको अविश्वास कति गहिरो छ भन्ने क्रियाशील सदस्यता वितरणमा अपनाइएको नियन्त्रणमुखी अंकुशले नै प्रष्ट हुन्छ । पार्टीको महाधिवेशनको बेला क्रियाशील सदस्यता वितरण र नवीकरणमा तल्लो तहदेखि माथिल्लो तहका नेतृत्वको चलखेल देखिन्छ ।

नेतृत्व चयनलाई तलमाथि पार्नसक्ने मुख्य ‘अस्त्र’ क्रियाशील सदस्यता नै हो । त्रियाशील सदस्यबाट निर्वाचित भएर आउने प्रतिनिधिहरुले नै केन्द्रीय महाधिवेशनका मतदाता चुन्ने गर्छ । संगठनलाई कमजोर बनाउने काम सदस्यता वितरण प्रणालीबाट भएको हो ।

विधानले क्रियाशील सदस्यता जतिबेला पनि वितरण गर्न सकिने व्यवस्था गरेको छ तर पार्टीमा सदस्यता महाधिवेशनको मुखमा मात्रै वितरण र नवीकरण गर्ने अभ्यास छ त्यो पनि अंकुश लाउने गरी नियन्त्रणमुखी शैलीमा । पार्टी कब्जा होला भन्ने आशंकाले सुदस्यता वितरणमै नियन्त्रण गर्दा पार्टीको सैद्धान्तिक पक्षमाथि नै प्रश्न चिह्न उब्जेको छ ।

एउटा युवा कांग्रेसको क्रियाशील सदस्य हुन्छु भनेर आयो भने खुला पार्टीले रोक्न कदापि मिल्दैन । पार्टीले सदस्यमा आउन छेक्यो भने अहिलेका युवा अडिइरहन सक्दैनन् । यसरी पार्टी सदस्यता वितरणमा अंकुश लगाउँदै जाने हो भने कसरी आगामी चुनावमा दुइतिहाई वहुमत ल्याएको नेकपासँग प्रतिस्पर्धा गर्न सकिन्छ ? क्रियाशील सदस्यतामा नियन्त्रण गर्दा युवा जमातको उपस्थितिमा कमी आउँछ ।

संगठनलाई खुम्च्याएर कमजोर बनाउनुको साटो बढाएर बलियो बनाउनेतर्फ लाग्नुपर्छ । यसतर्फ नेतृत्ववर्गले बेलैमा सोच्नु पर्दछ । माग अनुसार क्रियाशील सदस्यता नदिने हो भने कांग्रेसलाई माया गर्ने, कांग्रेसमा आउन चाहनेहरु अर्को पार्टीमा जाने खतरा बढेर जान्छ । क्रियाशील सदस्यता वितरणमा पुरानै ढर्रा नेताहरुले छाड्नसकेका छैनन् ।

नेपाली कांग्रेसमा अहिलेसम्म केन्द्रीय तहमा ध्रुवीकरण छ यसलाई बढाएर तलैसम्म पुर्‍याइयो भने महाधिवेशनको निष्पक्षता हुँदैन । पार्टी संगठनको जगसमेत हल्लिने खतरा बढेर जान्छ । क्रियाशील सदस्यता वितरण संगठन बढाउनेभन्दा पनि महाधिवेशनमा आफ्नो रणनीतिक योजना बनाउनेमा नेताहरुको प्राथमिकता परेपछि नै समस्या बल्झिएको हो ।

अहिलेको वितरणमा पनि विधान एकातिर मनस्थिति अर्कोतिर छ । अघिललो महाधिवेशनभन्दा यसपटक स्थानीय तहबाट क्रियाशील सदस्यताको माग बढेको छ । केन्द्रमा नेताहरुको स्वार्थ भए पनि सदस्यता संख्या बढाउनुपर्ने देखिन्छ । पार्टीलाई पुनर्जीवन दिएर अघि बढाउनका लागि भिजन दिनसक्ने समय सापेक्ष नेतृत्वले पार्टीलाई डोर्‍याउनुपर्ने वाध्यता छ ।

नेपाली कांग्रेसलाई वीपीको बाटोमा हिडाइ आमूल परिवर्तन गर्न रोडम्याप कोरेर अघि बढ्न सक्ने, गुट, उपगुटको अन्त्य गर्ने स्थानीयतहमा नै पार्टीलाई सक्रिय बनाउनुपर्ने जस्तो अभियान बोकेको नयाँ नेतृत्व कांग्रेसलाई आवश्यक छ ।

पार्टी प्रणालीको पुनः संरचना महत्वपूणर् र जटिल विषय हो । कांग्रेसको विधान र पार्टी प्रणाली नै नीतिभन्दा नेतामुखी छ । केन्द्रदेखि गाउँसम्मका निकायहरु गतिशील र कार्यमुलक छैनन्, निष्क्रिय छन् । कांग्रेसका नेताहरुले सिद्धान्तलाईभन्दा सत्तालाई र संस्थालाईभन्दा गुटलाई प्राथमिकता दिइएको छ । कांग्रेसका कार्यकर्ता पनि जनतामुखीभन्दा नेतामुखी छन् ।

कार्यकर्ताहरु जनताको घरदैलो होइन नेताहरुको घरदैलो चहार्छन् । त्यसर्थ, कांग्रेसका नेतादेखि कर्याकर्ताहरु जनताभन्दा टाढा बन्न पुगेका हुन् । कांग्रेसका अधिकांश निणर्य विवादित बन्न पुगेका छन् । विधिसम्मत सहभागितामुलक र समावेशी बन्नसकेका छैनन् ।

कांग्रेसलाई नेता होयन, नीतिप्रधान पार्टीको रुपमा रुपान्तरण गर्न सक्ने हो भने पार्टीलाई पुनर्जीवन दिन सकिन्छ । उदार र पारदर्शी सदस्यता प्रणाली कांग्रेस पुनः संरचनाको प्रस्थान विन्दु हुनसक्छ । वीपीले नेतृत्व गरेको कांग्रेस अहिलेभन्दा भौगोलिक जातीय, धार्मिक तथा सांस्कृतिक दृष्टिले समावेशी थियो तसर्थ सबै क्षेत्र, जाति, धर्म, भाषा, संस्कृति र समुदायमाझ कांग्रेस लोकप्रिय थियो ।

समावेशी शब्द प्रयोग नगरे पनि समावेशी सिद्धान्तलाई कांग्रेसले आफ्नो पहिचान बनाएको थियो । सक्रिय सदस्यता वितरणमा अनियमितता, सदस्यता प्रणाली पनि विवादित र नियन्त्रणमुखी छ । पार्टीको भविष्य जनाधार र संगठन विस्ताकार दृष्टि होइन गुटगट उद्देशय, रण्नीति र गणितीय जोडघटाउ अनुरुप सदस्यता वितरण गरिन्छ ।

लोकतान्त्रिक पार्टीले संगठन र सदस्यता प्रणाली लोकतान्त्रिक र उदार बनाउनु पर्छ । युवाहरुलाई आकर्षण गर्न नसक्नु पनि पार्टीको कमजोरी हो । युवाहरुका लागि पनि उचित भूमिका र नेतृत्व विकासको सम्भावना राखिदिनु श्रेयष्कर हुने छ । जबसम्म कांग्रेस सम्पूणर् लोकतन्त्रवादीको साझा मञ्च बन्न सक्दैन तबसम्म पार्टी जीवन्त बन्न कदापि सक्दैन ।

एक्काइसौँ शताब्दीको आधुनिक प्रविधिको युगमा युगसापेक्ष चुनौतीको सामना गर्नसक्ने संघर्षशील, ऊर्जाशील र भिजनरी नेतृत्व आजको आवशयकता हो । आगामी महाधिवेशनबाट जटिल चुनौती चिर्नसक्ने र कांग्रेसलाई लोकप्रिय पार्टी बनाउने सक्षम नेतृत्वको खोजी अपरिहार्य छ ।

जनता र कार्यकर्ताले विश्वास गरेको लोकप्रिय नेतृत्व चयन भएन भने कांग्रेसको भविष्यमै गम्भीर प्रश्न चिह्न खडा हुने छ । कांग्रेस पार्टीलाई आमुल परिवर्तन गर्नका लागि नेतृत्वको मापदण्ड वंश, वरिष्ठता वा मर्यादाक्रम नभई एक्काइसौँ शताब्दीको मागवमोजिमको विचार, सिद्धान्त र क्षमतामा विश्वास राख्ने हुनुपर्छ । यहाँ कुनै आग्रह वा प्रर्वाग्रहको कुरा नभई नेतृत्वका लागि योग्यता र क्षमताको मापदण्ड पूर्वशर्त हुनु आवश्यक छ ।

कांग्रेसमा नेतृत्व हस्तान्तरण समयको एक्काइसौँ शताब्दीको माग बन्न पुगेको छ । नेतृत्व हस्तान्तरण प्रक्रिया अत्यन्त पेचिलो प्रशन हुनसक्छ तर कांग्रेसको नियति र भविष्य यसैमा सुरक्षित छ । भारतीय कांग्रेसको इतिहास नेपाली कांग्रेसकोभन्दा पनि सुनौलो र गौरवशाली थियो तर भारतीय कांग्रेस इतिहासमा अहिले सबैभन्दा कमजोर र अलोकप्रिय बन्न पुगेको छ ।

यसका कारणहरुलाई पनि नेपाली कांग्रेसले मन्थन गरेर अघि बढ्न जरुरी छ । दृष्टिकोणविहीन कमजोर नेतृत्वलाई अघि सार्नु भनेको पार्टी क्षयीकरणको दिशामा धकेलिनु हो । वैचारिक नेतृत्व कस्तो छनोट गर्ने भन्ने आसन्न महाधिवेशनमा कांग्रेसजनको विवेकपूणर् निणर्यमा भर पर्छ ।

बलिदानी दिएका वीर शहीदबाट दीक्षित गणेशमान सिंह जस्ता व्यक्तिको संलग्नतामा वि.सं. २००५ सालमा नेपाली कांग्रेसको स्थापना भएको हो । यो पार्टी कस्ता व्यक्तिद्वारा स्थापित एवं सञ्चालित भएको थियो भन्ने नबुझी नेपाली कांग्रेसलाई बुझ्न सकिँदैन । गणेशमानले जीवन रहेसम्म बरु दुःख मञ्जुर गरे तर सिद्धान्तसँग कहिल्यै सम्झौता गरेनन् ।

त्यसैले त उनलाई ‘लौह पुरुष’ को अलंकारले पुकारिन्छ । अहिलेका सत्तालोलुप नेतृत्वका लागि गणेशमान उदाहरण बन्न सक्छन् । उनी कहिल्यै सत्तामा गएनन् । प्रजातन्त्र स्थापना र पुनःस्थापनाका निम्ति ३/३ वटा क्रान्ति, सत्याग्रह र जनआन्दोलनको उनले नेतृत्व गरे । उनी जनताबीच नै रहेर प्रजातन्त्र सम्बद्र्धनका निम्ति खटिरहे, जनताको आवाजमा आफ्नो आवाज एकाकार बनाइरहे ।

यस्ता व्यीक्तत्वले डोर्‍याएको कांग्रेसले अरु दललाई प्रजातान्त्रिक संस्कार, संस्कृति र यसका मूल्यमान्यता सम्झाउनुपर्नेमा आफै यसरी दिग्भ्रमित एवं विचलित हुँदै गउको देख्दा नेपाली कांग्रेसका समर्थक चिन्तित छन् । हिजोका कांग्रेसी जनरल सुवणर् शम्शेर कांग्रेसलाई दिएर थाक्दैनथे आजका कांग्रेसी त्यो कांग्रेसको लाम्टा चुसेर कहिल्यै अघाउँदैनन् ।

पुरानो कांग्रेसमा एउटा संस्कार थियो, साथीको आदर र सम्मान गर्ने कांग्रेस स्थापनाकै समयमा वीपी चाहन्थे कांग्रेसको क्रान्तिको नेतृत्व गणेशमानले गरुन् तर गणेशमानले वीपीलाई नेता बनाए । वीपीले मेलमिलापको नीति अवलम्बन गरे । पार्टीभित्र आन्तरिक द्वन्द्व र कलह कहिल्यै सुनिएन । तसर्थ युवा पिढीमा नेतृत्व हस्तान्तरण गर्दा पार्टी आन्तरिक रुपमा मजबुद र बलियो हुन्छ ।