सुप्रिया मां
हामी जीवनमा कति अगाडि बढ्न सक्छौँ ? भन्ने कुरा बाहिरको परिस्थिति कस्तो छ भन्ने नभई परिस्थितिप्रति हामीले गर्ने प्रतिक्रिया कस्तो छ ? त्यसमा भर पर्छ । बाहिरको परिस्थिति कस्तो छ भन्दा पनि विशेष किसिमको परिस्थितिमा आफूलाई विशेष प्रकारले आगाडि लैजाने तरिकाहरु खोज्छौँ कि खोज्दैनौँ ? त्यसले हाम्रो सफलता र असफलता निर्भर गर्दछ । सफल हुनका लागि अनुकूल परिस्थिति महत्वपूर्ण हो वा प्रतिकूल परिस्थितिमा पनि हामीले केही गर्न सकिन्छ ? यो हाम्रो आजको चिन्तनको विषय हो ।
हाम्रो जीवनमा के घटना घट्छ त्यो हाम्रो हातमा हुँदैन । तर घटनाप्रति आफूले कस्तो प्रतिक्रिया गर्ने ? त्यो सधैँ हाम्रो हातमा हुन्छ । जीवनमा आएको प्रतिकूल परिस्थितिले हामीलाई सधैँ दुईवटा बाटाहरु देखाएको हुन्छ । परिस्थितिबाट पाठ सिकेर जीवनलाई अझ उत्कृष्ट तरिकाले अगाडि बढाउने कि निराश बनेर भाग्य र परिस्थितिलाई दोष लगाउँदै बस्ने ।
विवेक भएको व्यक्ति त्यो हो जसले जीवनमा आइपर्ने प्रत्येक घटनाबाट पाठ सिकेर आफूलाई अझ उत्कृष्ट बनाउँदै लैजान्छ । परिस्थिति प्रतिकूल भइदियो र जीवनमा चुनौतीहरु आए भने आफ्नो सोचलाई परिवर्तन गरेर जीवनलाई अगाडि लैजाने सार्थक कुरा खोज्नु बाहेक हामीसँग अरु केही विकल्प छैन । हामीले यस्तो कुरामा पनि अब चिन्तन् र मनन् गर्न थाल्नुपर्छ कि हामीले अर्थहीन देखिरहेका कुराहरुमा पनि जीवनलाई उत्कृष्ट बनाउने कुनै न कुनै सूत्र लुकेको हुनसक्छ ।
जीवनलाई उत्कृष्ट बनाउने सूत्रहरुको कुरा गर्दा मलाई एउटा कथा याद आयो । एक जना राजाले आफ्नो दरबारमा एउटा सुगालाई पीँजडामा पालेका थिए । एकदिन राजा शिकार खेल्न जङ्गलमा जाने बेलामा उनले पीँजडाको सुगालाई सोधे ‘म आज जङ्गल जाँदैछु, जङ्गलमा तिम्रा माता-पिता पनि भेटिन्छन् होला, उनीहरुलाई तिम्रो के सन्देश लगिदिउँ ?’
त्यो कुरा सुनेर पीँजडाभित्रको सुगाले आँखाभरि आँसु पारेर राजालाई भन्छ- ‘महाराज ! मेरा माता-पितालाई यो सन्देश लगिदिनुहोस् कि म यो पीँजडाबाट चाँडोभन्दा चाँडो बाहिर निस्किन सकूँ, म यो बन्धनबाट मुक्त हुन चाहन्छु ।’
जब राजा जङ्गल पुगे, उन्को भेट पीँजडामा रहेको सुगाको माता-पितासँग भयो । राजाले सुगाका माता-पितालाई पीँजडामा रहेको सुगाले भनेको सन्देश सबै सुनाए । त्यो कुरा सुनेर दुवै दम्पत्तिले राजालाई आफ्नो सन्तानलाई पीँजडाको बन्धनबाट मुक्त गरिदिन विनम्र आग्रह गरे । राजाले सुगालाई पीँजडाबाट मुक्त गर्न नसक्ने तर कुनै सन्देश भए उनीहरुका सन्तानलाई लगिदिने कुरा सुनाए । राजाको यस्तो कुरा सुनेर सुगाका माता-पिता तत्काल बेहोस् भएर जमिनमा ढले ।
लामो समयसम्म पनि उनीहरु जमिनबाट नउठेपछि राजाले सोचे, दुवै सुगा आफ्ना सन्तानलाई कुनै पनि सन्देश भन्न नपाइकन मरेछन् क्यारे । सुगाहरु मरेको देखेर राजा आफ्नो बाटो लागे । राजा दरबार आइपुगेपछि पीँजडाको सुगाले राजालाई सोध्छ- ‘मेरा माता-पिताले मेरा लागि कुनै सन्देश पठाएका छन् कि ?’ भनेर ।
राजाले निराश भएको अनुहार देखाउँदै उनलाई सुनाउछन्- ‘तिम्रा माता-पिताले कुनै पनि सन्देश तिम्रा लागि पठाउन पाएनन्, उनीहरुले तिमीलाई पीँजडाबाट मुक्त गरिदिन आग्रह गरेका थिए, मैले त्यो कुरा पूरा गर्न नमानेपछि उनीहरु दुःख मानेर बेहोस भएर जमिनमा ढले, मलाई लाग्छ उनीहरु मरे होलान, त्यसरी नमरेको भए उनीहरुले पक्का पनि केही न केही सन्देश तिम्रा लागि पठाउँथे होलान्, किनकि उनीहरुले तिमीलाई अत्यन्तै माया गर्दा रहेछन् ।’
राजाको त्यो कुरा सुगाले सुनेको मात्र के थियो उ तुरुन्तै बेहोस् भएर पीँजडाभित्र ढल्छ । सुगा बेहोस भएर ढलेको देखेर राजाले सुगालाई पानी छर्केर उठाउनका लागि पीँजडाको ढोका खोल्छन् । पीँजडाको ढोका खोलेको चाल पाएर सुगा पीँजडाबाट बाहिर निस्कन्छ र राजाले समाउन नसक्ने ठाउँमा उडेर जान्छ । त्यसपछि राजालाई हेर्दै सुगाले भन्छ ‘देख्यौ त निर्दयी राजा, मेरा माता-पिताले मेरा लागि के सन्देश पठाएका रहेछन् ।’
यो कथाले हामीलाई के सन्देश दिन्छ भने हामीले अर्थहीन देखेका कुनै पनि कुराहरुमा हाम्रो जीवनलाई सफलतातिर लैजाने मूल्यवान् सूत्र पनि लुकेको हुनसक्छ । हामीले नराम्रो भयो भनेर निराश मानेका घटनाहरुमा पनि हाम्रो जीवनलाई सफलतातिर लैजाने प्रेरणा लुकेको हुनसक्छ ।
हामीले बाहिरको परिस्थिति अति नै नराम्रो भयो भनेर टाउको समातेर बसेको बेलामा पनि भित्र आफ्नो अन्तरहृदयबाट अब सामान्य मनोबल र शाहसले पुग्दैन, यो विशेष परिस्थितिमा आफूलाई माथि उठाउन आफूभित्रको विशेष शाहस र आत्मबल बढाएर केही त गर्नैपर्छ भन्ने सन्देश बारम्बार आइरहेको हुन्छ ।
आफ्नो हृदयको सन्देशलाई समातेर आफूसँग जे उपलब्ध छ त्यसलाई राम्रोसँग मनन् गर्ने हो र त्यसबाट केही गर्न सकिन्छ कि भनेर उपायहरु खोज्ने हो । आफूलाई अगाडि बढाउने उपायहरुतिर ध्यान दिन थालेपछि कुनै न कुनै उपाय अवश्य पनि पाइन्छ । त्यसैलाई समातेर अगाडि बढ्ने हो ।
जीवनमा सम्पन्न र समृद्ध भएका विश्वका कुनै पनि मानिसलाई हामीले हेर्ने हो भने उनीहरुले जीवनमा आइपरेको प्रतिकूल परिस्थितिमा आफूलाई निराश नबनाइकन शाहसिलो भई परिस्थितिलाई सामना गर्ने उपायहरु खोजेर अगाडि बढेको पाइन्छ ।
प्रकृतिले हामीलाई अनन्त ऊर्जा, शक्ति र अनन्त सम्भावनाहरु दिएको छ । हामीभित्र अनन्त शक्ति र सम्भावनाहरु छन् । बाहिर देखिएको दश प्रतिशत मात्र हो, भित्र अनन्त शक्ति र सम्भावनहरु छन् ।
हामीले परिस्थिति प्रतिकूल हुँदा आफूभित्र रहेको शक्ति र अनन्त ऊर्जालाई प्रयोग गर्न जान्नुपर्छ र प्रयोग गर्नुपर्छ । सफलतम् व्यक्तिहरुको जीवनी हामीले हेर्ने हो भने उनीहरुको जीवनको रुपान्तरण त्यतिखेर सम्भव भएको थियो जतिबेला बाहिरको परिस्थिति अति नै प्रतिकुल थियो र जीवनमा धेरै चुनौतीहरु आएका थिए ।
हामी जीवनमा कति अगाडि बढ्न सकिन्छ ? भन्ने कुरा हाम्रो सोचमा निर्भर गर्दछ । उदाहरणका लागि आफ्नो बस्ने घर नै भत्कियो भने पनि कति कमजोर घर बनाएको रहेछु ? अब अर्को बलियो घर बनाउँछु भन्न पनि सकिन्छ र बस्ने घर नै लड्यो भनेर निराश हुन पनि सकिन्छ । सही समयमा गरेको सही चिन्तनले जीवनमा ठूलो प्रभाव पार्छ ।
भनिन्छ- न्यूटनको टाउकोमा स्याउ खसेको हुनाले उनले सही चिन्तन् र मनन् गरेर गुरुत्वाकर्षणको नियम पत्ता लगाए । स्याउ आकाशतिर नगएर जमिनतिर किन खसेको होला भनेर चिन्तन् र मनन् गरे । यदि हाम्रो टाउकोमा त्यसरी नै स्याउ खसेर लागेको भए हामीले स्याउलाई, परिस्थितिलाई र भाग्यलाई नै दोष दिएर बसेका हुन्थ्यौँ होला ।
हामी मानसिक रुपमा निर्बल हुँदा बाहिरको प्रतिकूल परिस्थिति हामीलाई ठूलो लाग्छ । तर मनोबल बढाउनेबित्तिकै परिस्थिति अब सानो लाग्छ । आफ्नो प्रयास र क्षमताका अगाडि जस्तोसुकै चुनौतीहरुले पनि घुँडा टेक्नुपर्छ । आफूप्रति आइपरेको जस्तोसुकै परिस्थितिमा पनि सही चिन्तन् र मनन् गर्न सकियो भने त्यसले जीवनलाई रुपान्तरण गरिदिन्छ ।
प्रतिकूल परिस्थितिमा आफूभित्र रहेको अनन्त शक्ति र ऊर्जालाई उजागर गर्न, सकारात्मक सोचको विकास गर्न, आफूभित्रको मनोबल र शाहस बढाएर चुनौतीहरुको सामना गर्नका लागि अध्यात्मको ज्ञान र ध्यानले हामीलाई ठूलो सहयोग गर्छ । आजलाई यत्ति नै, हरि ॐ !
सुप्रिया मां आनन्दपथ सँस्थाका संस्थापक हुनुहुन्छ ।