बालाराम खड्का
तुलसीपुर, १० भदौ । पूर्व सभामुख कृष्णबहादुर महराले राप्ती आँखा अस्पताललाई नमुना अस्पतालको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।
अस्पतालको निरीक्षणपछि भएको छलफल कार्यक्रममा बोल्दै महराले राप्तीको मोडेल अस्पतालको रुपमा विकास गरी यहाँका जनतालाई आँखा सम्बन्धी सबै सेवा प्रवाह हुनेगरी विकास गर्नुपर्ने बताए ।
उनले नेपाल नेत्रज्योति संघ अन्र्तगत सञ्चालित आँखा अस्पतालले दिँदै आएको सेवा र उपचार प्रविधिबाट आफू प्रभावित भएको भन्दै यस अस्पताललाई साधन स्रोत सम्पन्न गराउन सबै लाग्नुपर्ने बताए । महराले अस्पतालको भौतिक तथा औजार उपकरणको लागि आफूले सहयोग गर्ने समेत बताए ।
उनले राज्य तथा अन्य दातृ निकायहरुसँग अस्पतालको विकासका लागि पहल गर्ने बताए । ‘यस अस्पताललाई साधन स्रोत तथा भौतिक निर्माण गरी नमुना अस्पताल गराउन मेरो राज्य तथा दातृ निकायहरुसँग पहलकदमी हुनेछ’, महराले भने । उनले आफूले विभिन्न समयमा राप्ती आँखा अस्पतालमा उपचार सेवा लिने गरिएको भन्दै यहाँबाट प्रवाह गर्ने सबै सेवा उत्कृष्ट भएको भन्दै चिकित्सक तथा व्यवस्थापन पक्षलाई धन्यवाद समेत दिए ।
‘मैले भूमिगत कालका साथै विभिन्न समयमा यहाँ उपचार गर्न आउने गरेको छु, यहाँको सेवाबाट म सन्तुष्ट छु’, उनले भने । उनले राप्तीलगायत विभिन्न जिल्लाका नागरिकलाई सर्वसुलभ सेवा अस्पतालले प्रवाह गरी अन्धोपन निवारणमा ठूलो भूमिका खेलेको भन्दै थप विशेषज्ञ सेवा प्रवाहका लागि पहलकदमी हुने बताए । उनले राज्यले स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकता नदिएको भन्दै दुःख समेत व्यक्त गरे ।
‘सबै नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गर्ने दायित्व राज्यको हो तर राज्य यसमा गम्भीर छैन यो दायित्व वहन राज्यले गर्नुपर्छ’, उनले भने । उनले सधै दातृ निकायको भरमा संस्था चल्न नसक्ने समेत बताए । उनले अन्य विदेशी दातृ निकायहरुसमक्ष आफूले पहल गर्ने समेत बताए ।
कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा संघका सभापति कृष्णकुमार गिरीले नेपाल नेत्रज्योति संघअन्तर्गत सञ्चालित आँखा अस्पतालहरुको विकासमा आफूहरु लागेको भन्दै यसमा प्रदेश, स्थानीय तथा यहाँका विभिन्न व्यक्तिहरुको सहयोग रहेको बताए । उनले दातृ निकायहरुको सहयोगमा शुरु भएको राप्ती आँखा अस्पतालले राप्ती अञ्चलको अन्धोपन न्यूनीकरणमा ठूलो भूमिका खेलेको भन्दै छिमेकी राष्ट्रका नागरिकलाई समेत सर्वसुलभ सेवा प्रवाह गर्दै आएको बताए ।
उनले हाल कोभिड–१९ का कारण अस्पतालमा समस्या थपिएको भन्दै यसमा राज्यको सहयोगको आवश्यकता रहेको बताए । कार्यक्रममा अस्पतालका चिफ मेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवालले अस्पतालले प्रवाह गर्ने सेवाको बारेमा जानकारी गराएकी थिइन् भने अस्पतालका प्रशासक किरण पौडेलले अस्पतालको भावी गुरुयोजना बारेमा जानकारी गराएका थिए । महराले अस्पताल परिसरमा निर्माणाधीन ओपिडी भवनको निरीक्षणसमेत गरेका थिए ।