लिटिल फ्लावरले प्लस टु कक्षा चलाउंदै

गोरक्ष समाचारदाता
तुलसीपुर, १० भदौ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ बिजौरीमा रहेको लिटिल फ्लावर सेकेण्डरी इंगलिस बोर्डिङ स्कुलले यसै शैक्षिक सत्रदेखि प्लस टु सञ्चालन गर्दैछ ।

वि.सं. २०५५ सालमा ग्रामीण क्षेत्रमा स्थापना भएको हो । उक्त बोर्डिङ स्थापना हुँदा यस क्षेत्रको आसपासमा एउटा मात्र बोर्डिङ सिर्जना बालबाटिका रहेको थियो । लिटिल फ्लावर स्थापना हुँदा कक्षा ५ सम्मको कक्षा सञ्चालन गरेको थियो जसमा १ सय विद्यार्थीबाट शुरु गरिएको थियो ।

५ कक्षाबाट शुरु गरेको बोर्डिङले २०६२ सालमा विद्यार्थीहरुलाई एसएलसीमा सहभागी भएका थिए । प्रथम वर्षमा ६ जनाले एसएलसी दिएकोमा ६ जना नै प्रथम श्रेणीमा उत्तीर्ण हुन सफल भएको बोर्डिङ स्कुलका प्रिन्सिपल विश्वमणि देवकोटाले बताए ।

‘गत बर्षका एसएलसी र यो बर्षको एसईईको नतिजाले विद्यालयलाई थप हौसला प्रदान गरेको छ’, देवकोटाले भने । परिमाण भन्दा गुणस्तरीय शिक्षालाई आफूहरुले अंगीकार गर्दै आएको बताउँदै उनले गुणस्तरीय शिक्षालाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने पनि बताए ।

गुणस्तरीय शिक्षाले नै विद्यार्थीहरुलाई आकर्षित बनाएको बताउँदै उनले विद्यार्थीहरुको मनोभवना बुझेर शैक्षिक गुणस्तर, थप अतिरिक्त शिक्षकको व्यवस्था, लाइब्रेरी, विभिन्न उमेर समूहका विद्यार्थीहरुको लागि खेलकुद सामग्री, खेलकुदको लागि आवश्यक प्ले ग्राउण्ड, सुद्ध पिउने पानीका लागि इलेक्ट्रिकल फिल्टर, टाढाका विद्यार्थीहरुको यातायात कठिनाइलाई मध्यनजर गर्दै स्कुल बस सञ्चालनलगायतका व्यवस्थापनले नै हाल विद्यार्थीहरुको संख्या पनि उल्लेखनीय रहेको देवकोटाको भनाइ थियो ।

सो बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरुले एसएलसीमा ९० प्रतिशत सम्म र एसईईमा ३.७५ ग्रेड ल्याउन सफल भएका छन् । जुन नतिजाले विद्यालयलाई थप हौसला प्रदान गरेको थियो, जसले गर्दा हाल यसै शैक्षिक सत्रबाट प्लस टु सञ्चालन गर्न थालेको देवकोटाले बताए ।

तुलसीपुर–१८ बिजौरीमा रहेका लिटिल फ्लावर बोर्डिङ स्कुलले साइन्स र म्यानेजमेन्ट गरी दुई वटा संकायमा प्सल टु सञ्चालन गर्दैछ । साइन्स विषयलाई नै पहिलो प्राथमिकतामा राखेर प्लस टु सञ्चालन गर्न थालेको प्रिन्सिपल देवकोटाले बताए ।

अभिभावकहरुको सल्लाह, सुझाव अनुसार र उहाँहरुको इच्छा, चाहना बुझेर नै हामीले प्लस टु सञ्चालन गरेको पनि उनले बताए । आफूले विद्यालय सञ्चालन गरेको २० वर्षको अनुभव सुनाउँदै उनले यसमा ढुक्क रहन पनि सम्पूर्ण अभिभावकहरुलाई आग्रह गरे । यो बर्ष विज्ञान र व्यवस्थापन संकायमा प्लस टु सञ्चालन गर्ने पनि उनले बताए ।