घोराहीमा नेचुरोप्याथी अस्पताल, मंसिरदेखि सेवा
अमरराज आचार्य
दाङ, ९ भदौ । प्राकृतिक उपचार पद्धतिमा आधारित रहेर बिरामीलाई स्वास्थ्य सेवा उपलव्ध गराउने उद्देश्यसहित घोराहीमा नेचुरोप्याथी अस्पताल बन्दै छ । सम्भवतः आउँदो मंसिर पहिलो सातादेखि अस्पताल सञ्चालनमा आउने अस्पताल सञ्चालकले बताएका छन् । घोराही उपमहानगरपालिका वडा नं १० उत्तर अमराईमा १ बिगाहा क्षेत्रफलमा अहिले अस्पतालको भौतिक निर्माण कार्य भइरहेको छ ।
अस्पतालमा इण्डोर र आउटडोर दुवै सेवा विरामीलाई प्रदान गर्नेगरी ५० बेडको अस्पताल निर्माण गर्ने तयारी भए पनि हाललाई १५ जना विरामीलाई भर्ना गरी उपचार सेवा प्रदान गर्ने तयारी भएको अस्पतालका सञ्चालक छविनारायण गिरीले बताएका छन् । अस्पतालमा गिरीलगायत अन्य युवा व्यवसायीको पनि सहभागिता रहेको छ ।
अस्पताल सञ्चालकहरुले सो अस्पताललाई भविष्यमा प्राकृतिक उपचारको अध्ययन थलोका रुपमा विकास गरी मेडिकल कलेज सञ्चालनको समेत सोच राखेका छन् । प्राकृतिक रुपले मनोरम वातावरण बनाउनका लागि अस्पताल सञ्चालकले भवन निर्माण भन्दा पहिले नै उचो जमिनमा आवश्यकताअनुसारका विरुवा समेत हुर्काइसकेका छन् ।
बार्षिक ६० हजार भाडा तिर्नेगरी गुठीको जग्गा ३० बर्षका लागि करिब एक विगाहा जग्गा लिइएको बताइएको छ । यो विधाको अस्पताल मध्यपश्चिममै सम्भवतः पहिलो अस्पताल हो । यसको नाम वेलनेस हस्पिटल प्रालि राखिएको छ । यस्तै अस्पताल नवलपरासीको रजहरमा सञ्चालनमा छ ।
‘मलाई यस्तो अस्पताल बनाउने सोच भारतको कर्नाटक राज्यमा पुगेपछि आएको थियो, किनकि त्यहाँ मैले यस्तै अस्पताल राम्रोसँग चलेको देखेको थिएँ’, अस्पतालका अध्यक्ष गिरीले भने । कर्नाटकमा रहँदा गिरीले एकजना महाराजलाई भेट्ने अवसर पाए, एउटा जोगीले त्यहाँ मन्दिर बनाएको तथा त्यही मन्दिरमा दैनिकरुपमा भक्तजनहरुले चढाएका पैसा जम्मा गरी यस्तै प्राकृतिक अस्पताल बनाएका रहेछन् ।
‘एउटा जोगीले यति ठूलो अस्पताल बनाउन सम्भव भयो भने हामी युवा व्यवसायीले यस्तो सोच किन नराख्ने, त्यसैले शुरु गरेका थियौं, वेलनेस अस्पताललाई जन्माउन’, अध्यक्ष गिरी हौसिए ।
अहिले करिब ५० प्रतिशत भौतिक निर्माणको कार्य सम्पन्न भएको वेलनेस हस्पिटल प्रालिका अध्यक्ष गिरीले जानकारी दिए । आउँदो मंसिर महिनादेखि सेवा दिने लक्ष्यका साथ काम भइरहेको उनको भनाइ रहेको छ । ‘भदौ–असोजसम्म सञ्चालनमा ल्याउने योजना भए पनि लकडाउनको कारण केही ढिला हुने भएको छ’, अध्यक्ष गिरीले भने ।
लकडाउनको कारण निर्माणमा समस्या भएपछि ढिलाइ भएको कारण सञ्चालनमा ढिलाइ हुने उनको भनाइ रहेको छ । प्राकृतिक विधिबाट बिरामीको उपचार गरिने उक्त हस्पिटल ५० बेडको रहने भएको छ । सो अस्पतालमा सबै बिरामीहरुलाई प्राकृतिक तत्वहरुबाट उपचार गराइने छ । फिजियोथेरापी, मसाज, योगा, अक्युपञ्चरलगायतका विधि बिरामीको उपचारमा प्रयोग गरिने छन् ।
बिरामीको उपचारका लागि विएनवाइएस तह उत्तीर्ण डाक्टरको व्यवस्थापन समेत भइसकेको अस्पतालले जनाएको छ । नेचुरोप्याथी तथा योगा विधामा यो अधिकृत तहको पढाइ हो । तीनजना डाक्टर छनोटसमेत भइसकेका छन् । ‘अस्पतालले राम्रो पिकअप लिएको अवस्थामा प्राकृतिक चिकित्साको मेडिकल कलेज समेत सञ्चालनको सोच बनाएका छौं’, गिरीले भने ।
हस्पिटल निर्माणका लागि करिब साढे ४ करोड खर्च हुने अध्यक्ष गिरीले बताए । यस प्रकारको अस्पताल जिल्लामा पहिलो रहेको उनको भनाइ रहेको छ । बुटवल पश्चिममा यस प्रकारको हस्पिटल नभएको उनले बताए । यस क्षेत्रमा केही नयाँ काम गर्ने उद्देश्यले यस प्रकारको अस्पताल निर्माण गर्ने थालेको उनले बताए । ‘नाफा कमाउने भन्दा पनि सेवा गर्ने उद्देश्यले यस प्रकारको अस्पताल खोल्न थालेका हौ’, अध्यक्ष गिरीले भने ।
अस्पताल छविनारायण गिरी र नारायण जीएमले निर्माण गर्न थालेका हुन् । अस्पतालमा क्यान्सर, प्यारालाइसिस्, नशासम्बन्धी रोग तथा बाथरोग, तथा ढाड सम्बन्धी रोगको प्राकृतिक विधिद्वारा उपचार गरिने अध्यक्ष गिरीको भनाइ रहेको छ । प्राकृतिक पद्धतिबाट उपचार गरिने भएकाले उपचारसमेत सस्तो हुने उनको भनाइ रहेको छ ।
उक्त अस्पतालमा बढीमा खाना, वस्न र उपचारसहित दैनिक ४ हजार र सामान्य अवस्थामा खाना, बस्न, र उपचार गरी दैनिक १ हजार ५ सय खर्च लाग्ने गिरी बताउँछन् । अस्पतालमा प्राकृतिक उपचार, थेरापी, योगा, मसाज थेरापी, एकुपेन्सर, डाइटिङ, जीवन शैलीमा कसरी सुधार ल्याउन सकिन्छ भनेर काउन्सिलिङलगायतबाट उपचार गरिने छ ।
पारिवारिक वातावरणमा उपचार दिइने व्यवस्था हुने गिरी बताउँछन् । उक्त हस्पिटलमा भर्ना गरेर तथा ओपिडीरुपमा पनि सेवा दिने उनले बताए । अस्पतालमा प्राकृतिक उपचारसँगै अर्गानिक खानाको व्यवस्था हुनेछ । हस्पिटल निर्माण सम्पन्न नहुँदै कहिलेदेखि सञ्चालनमा आउँछ र सेवा पाइन्छ भनेर सम्पर्क गर्नेहरु दैनिक बढ्दै गरेको अध्यक्ष गिरीले बताए ।
‘हालसम्म करिब ३ सय बढी सेवाका लागि सम्पर्कमा आइसक्नु भएको छ’, अध्यक्ष गिरीले भने । पछिल्लो समय प्राकृतिक उपचारप्रति नागरिकहरुको आकर्षण बढ्दै गएको उनी बताउँछन् । केही समयअघिसम्म प्राकृतिक उपचारका बारेमा नागरिकहरुलाई जानकारी हुन नसकेको उनको भनाइ रहेको छ ।
जिल्लामा नयाँ कार्यको थालनी गर्दा केही समय यसको बारेमा नागरिकलाई जानकारी नहुँदा समस्या भोग्नुपरेको उनले बताए । ‘शुरुका दिनमा धेरै समस्या भोग्नु प¥यो धेरै आरोपसमेत खेप्नुपयो’, अध्यक्ष गिरीले भने । तर पनि आफू निरन्तर आफ्नो अभियानमा लागिपरेको गिरी बताउँछन् ।
अस्पतालमा डा. जनक बस्नेत, डा. हिरा योगी, डा. आजात पुरीले सेवा दिने भएका छन् । अस्पताल सञ्चालनमा आएपछि ४० जना बढीले रोजगार प्राप्त गर्ने गिरी बताउँछन् । हाल डेढ बिगाहामा अर्गानिक खेती गरिने गरिएको छ । तरकारी खेती, कागती खेती माहुरी पालन, फलफूल खेती गरिएको उनको भनाइ रहेको छ ।
व्याचुलर अफ नेचुरल फेथिक एण्ड योगिक पढाइ हुने
वेलनेस हस्पिटल प्रालिले केही समयपछि ब्याचुलर आफ नेचुरल फेथिक एण्ड योगिक साइन्सको कक्षा सञ्चालन गरिने जनाएको छ । कक्षा ११, १२ मा साइन्स विषय लिएकाले यसको अध्ययन गर्ने पाउने भएका छन् । यस विषय जिल्लामा सञ्चालन हुने भएपछि अध्ययनका लागि भारत जानुपर्ने बाध्यता हट्ने छ ।
साढे ५ वर्षको कोषको लागि ३५ लाख खर्च लाग्ने अध्यक्ष गिरीले बताए । अध्ययन शुरु गरेपछि ४० जनाले अध्ययन गर्ने अवसर प्राप्त गर्ने उनको भनाइ रहेको छ । यसले यस क्षेत्रका नागरिकलाई सहजता हुनेछ । आफ्नै स्थानमा बसेर आफूले चाहेको विषय अध्ययन गर्नेछन् । यसको प्रक्रिया पनि अघि बढिसकेको उनले बताएका छन् ।
