यसपालिको तीज कोरोना चरीले लरी लरर…
मधुसूदन सुवेदी
“न त माइत जान पाइयो, न त सारी देखाइयो, कोठाभित्र बसेर तीज मनाइयो, मन उड्यो हरर, माइती देश सरर, यसपालिको तीज कोरोना चरीले मैदानमा लरी लरर…” यी सबै कथा र व्यथा भर्खरै मात्र विदा भएको हरितालिका तीज-२०७७ को महिला दुःखेसो थियो । पछिल्लो समयमा एक महिना अघिदेखि पार्टी प्यालेस र ठूला रेष्टुरेण्ट तथा सार्वजनिक स्थान र स्थलमा जम्मा भएर मासु, बियरलगायत विभिन्न उत्तेजक पदार्थको ग्रहण गरी चट्किलो र भड्किलो पाराले नाच्ने तथा गाउने गरेको देख्न, सुन्न र भोग्न पाइन्थ्यो ।
यसपालि ती सबै कुरा थाँती रहँदा तीज बढी भड्किलो हुन समयले दिएन र महिलाको महान पर्वमा सबै दिदीबहिनी तथा संगीसाथी भेला भएर आत्म-कथा र आत्म-व्यथा साटासाट गर्न दिएन । पछिल्लो समयको तीज विकृति भनेको सकी-नसकी राम्रै लगाउनु र सकी-नसकी मीठै खानु, गहना र पोशाकलाई प्रदर्शनको साधन बनाउनु र समयको घेराभन्दा अघि नै पर्व मान्ने र धान्ने नाममा आडम्बरी संस्कार देखाउनु थियो ।
यो हुनबाट समयले रोके पनि, छेके पनि र प्रतिबन्ध लगाए पनि यसको अत्यन्त सुन्दर र सांस्कृतिक पाटो भनेको आफ्नो जन्मभूमि तथा बाबा-आमाको घरमा गई बाल्यकालदेखि खेलेका, हुर्केका, बढेका, पढेका संगी-साथी, दाइ-भाइ, आमा-बुवालगायत परिवारका सकल सदस्यहरु जम्मा भई आफ्नो घरमा जुटेको मीठो र चोखो कुरा जुटाई अत्यन्त रमाइलोको साथमा दर खाने, रातभरि नाच्ने, पटक-पटक खान मन लागेको खाद्य पदार्थ खाने, आफ्ना पीर-व्यथा गीतद्वारा अभिव्यक्त र्गे, आफ्नो घरको सुख-दुःख पोख्ने, आधा रात बिताउने, भोलिपल्ट उठेर स्नान गरी शुद्ध र पवित्र बस्त्र धारण गरी विभिन्न मठ-मन्दिर, चौतारो, सार्वजनिक भवन तथा मैदानमा असंख्य महिला-नारीहरु जम्मा भई भगवान् शिवजी तथा उमाको पूजा आराधना गर्ने, पिङ खेल्ने, गाउने, नाच्ने र बर्षायामको हरियाली धर्तीलाई नारीले आफ्नो रातो पहिरनद्वारा पृथ्वीमा फूल फुलेसरी बनाउने, जो अत्यन्त प्रकृतिप्रेमी आचरण थियो, त्यसलाई भने आजको यो पछिल्लो समयले निकै खल्लो बनाइदियो ।
अनेकौँ विकृतिका बाबजुद धर्तीप्रिय संस्कृति बोकेको यो हिन्दू नारीहरुको महान पर्व हरितालिका तीज एउटा अविष्मरणीय क्षण बनेर विदा भएको छे । कतिले यसलाई कोरोना तीज भनेर सम्बोधन गरे । कतिले यसलाई भाइरसको तीज भनेर सम्बोधन गरे, कतिले यसलाई संक्रमणको तीज भनेर सम्बोधन गरे, हरेकले हरेक नाम दिएर सम्बोधन गरेको यो २०७७ सालको तीज एकयुगमा एकपटक आएको एक पर्व भएको हो । जसले केही हेरफेर र उथलपुथल पनि पारेको छ ।
आशा छ, यो पालिको तीजले धेरैलाई ऋणी हुनबाट बचाएको पनि होला । धेरैलाई तीजपछिको समय तीजको ऋण तिर्नका खातिर मुग्लान पस्नुपर्ने योजनालाई परिवर्तन गराएको पनि होला । त्यसैले त भनिएको छ- जो गर्छन् भगवान् भलो नै गर्छन् । विभिन्न समस्याले तीजलाई विदाई गर्नुपरे पनि अबको समय हामी सबैका लागि सकारात्मक नै बनोस् ।
यी र यस्ता खाले मेला, पर्व बषौ-वर्ष र सालौं-साल घुमिफिरी आउँछन् । हामीले सबैले ध्यान दिने भनेको आफ्नो स्वास्थ्य र परिवारको स्वास्थ्यमा हो । हामी निरोगी भयौं, हामी सक्षम भयौं, हामी सबल भयौं भने हाम्रा लागि सदाबहार पर्व उत्सव र मनोरञ्जन बनेर आउनेछ । पर्वविना पनि पर्व समान बन्नेछ, उत्सवविना नै उत्सव समान बन्नेछ र सबै कुरा सुख र शान्तिमा परिणत हुनेछ । यदि हामी दुर्बल भयौं, यदि हामी रोगी भयौं, यदि हामी संक्रमति भयौं, यदि हामी कमजोर भयौं भने हाम्रा लागि सदासर्वदा दर्द, पीडा, अशान्ति, तनाव, थकान र दुःखान्तको जीवन बन्नेछ ।
तसर्थ सबैले यतिबेला जित्ने भनेको रोगलाई हो, संक्रमणलाई हो र भाइरसलाई हो । यसलाई जित्न र परास्त गर्न जुन-जुन विधि, तरिका, कर्म, आचरण, व्यवहार र सोचको आवश्यक पर्दछ त्यो गर्न, देखाउन र पालना गर्न तयारी बनौं । चाडवाड र पर्व भनेका महिना, पक्ष र तिथिमा आधारित हुन् । यो चक्रिय प्रणालीमा आधारित छ । एउटा पर्व जान्छ, अर्को पर्व आउँछ । अर्को पर्व जान्छ, तेस्रो पर्व आउँछ तर हाम्रो जीवन, हाम्रो चोला, हाम्रो शरीर त्यस्तो छैन र होइन ।
एकपटक गुम्यो, चुक्यो, फुस्क्यो, निभ्यो, सकियो र अन्त्य भयो भने सदाका लागि विदा भयो । त्यसैले पनि यो अद्भूत जीवनचोलालाई जे-जसरी हुन्छ बचाउने प्रयत्न गरौं । एकरात बाँचे ९ लाख तारा देख्न पाइन्छ भन्छन् । एकरात बाँच्नको लागि त कैयौं संघर्ष चाहिन्छ भने हाम्रो जीवनको त टुंगो नै छैन । मर्ने आज हो कि भोलि, बाँच्ने कति हो कति ? यो अनिश्चयको लामो जीवनलाई लामै बनाउने योजना तयार गरौं । कतिपय कुरा हाम्रो भाग्यमा निर्धारित होलान् भने कतिपय कुरा हाम्रो कर्ममा पनि निर्धारित होलान् । अदृश्य भाग्यलाई सबैले देख्न नसकिने हुँदा हामीले देखेको, सुनेको र भोगेको आफ्नै कर्मलाई सुधारौं ।
कर्मको फल अवश्य नै हामीले प्राप्त गर्नेछौं । हामीले गर्ने कर्म सर्धै सकारात्मक, धार्मिक, सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक हुन जरुरी छ । यो बेलाको सञ्जिवनी बुटी भनेको सकारात्मक सोच र भावनासहितको उच्च मनोबल हो । मन उच्च भयो भने भावना उच्च हुन्छ । भावना उच्च भयो भने विचार उच्च हुन्छ । विचार उच्च भयो भने कर्म उच्च हुन्छ र कर्म उच्च भयो भने हामीलाई आक्रमण गर्ने सम्पूणर् शक्ति, स्रोत, व्यक्ति र भाइरस परास्त हुन्छन् । तसर्थ यसपालिकाको तीज पर्व खल्लो र नरमाइलो भए पनि आगामी दिनहरु आफ्ना र आफन्तसहित हामी सबैका लागि उत्साह र उमंगको बनोस् भनेर कामना गरौं ।
