फिडरमा समस्या आउँदा विद्युत सेवा अवरुद्ध
तुलसीपुर, ८ भदौ । यहाँको विद्युत सेवा पटक–पटक अवरुद्ध हुने गरेको छ । कहिले सिष्टम जाने त कहिले फिडरमा समस्या आएपछि बेला–बेलामा विद्युत सेवा अवरुद्ध हुने गरेको छ ।
यो समस्याले सेवाग्राहीहरु संगै विद्युत कार्यालयका कर्मचारीहरु पनि हैरानीमा पर्ने गरेका छन् । ‘लोडसेडिङ हो भने त्यो पनि छैन् विद्युतको ठेगान हुँदैन’, उपभोक्ता देवी रिजालले भने । उनीजस्तै यहाँका सबै उपभोक्ताहरु हैरानीमा पर्ने गरेका छन् ।
विभिन्न समयमा विद्युत अवरुद्ध हुँदा सेवाग्राहीहरु पनि आजीत भएका छन् । ‘कहिले के समस्या कहिले विद्युतको अनियमितताका कारण दूरदराजका जनता धेरै पीडित छौं’, उपभोक्ताहरु भन्छन् । शनिवार पनि हापुरेमा बाँसको रुख ढलेपछि धेरै बेर विद्युत आएन ।
आइतवार पनि तुलसीपुर बजार क्षेत्रको केही भागमा दिनभर विद्युत सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रको कार्यालयभित्र ११ हजार भोल्टेजको फिडरमा समस्या आएपछि आइतवार विहान ८ बजेदेखि आँखा अस्पतालअन्र्तगतको फिडर लाईन अवरुद्ध बनेको छ ।
कार्यालयका प्रशासनिक प्रमुख युवराज विष्टका अनुसार तुलसीपुर बजार क्षेत्रको ख लाईन, बेलुवा क्षेत्र र रक्षाचौर आँखा अस्पताल क्षेत्रमा विद्युत सेवा अवरुद्ध बनेको हो । विहानैदेखि मर्मत कार्य शुरु गरे तापनि फिडरमा जटिल समस्या आएकाले मर्मत हुन नसकेको प्रशासनिक प्रमुख विष्टले जानकारी दिएका छन् ।
उनले फिडरमा समस्या आएपछि नेपालगञ्जबाट प्राविधिक बोलाएको बताए । उनका अनुसार थप मर्मतका लागि नेपालगञ्जबाट प्राविधिक टोलीलाई बोलाएको र हाल काम चलाउको रुपमा विद्युत सेवा सुचारुका लागि पनि प्रयास भएको बताए । ‘फिडरमा समस्या आएपछि नयाँ फिडरका लागि परिपत्र पनि गरेका छौं ।’
मर्मत गरेर विद्युत सुचारु गर्ने प्रयासमा छौं’, उनले भने । उनले केन्द्रमा समेत परिपत्र गरेको बताए । बिहानैदेखि विद्युत सेवा अवरुद्ध हुँदा आँखा अस्पताल फिडर लाइनअन्र्तगतका उपभोक्ताहरु मर्कामा परेका छन् ।
