Goraksha

National Daily

प्रत्येक १५ सेकेण्डमा औसतमा एक संक्रमितको मृत्यु

काठमाडौँ, ८ भदौ । कोरोनाभाइरस सङ्क्रमणबाट विश्वभरि आठ लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्ला दिनहरूमा अमेरिका, ब्राजिल र भारतमा सबैभन्दा बढी संक्रमितको मृत्यु हुँदैआएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयर्टसका अनुसार कोभिड–१९ बाट मृत्यु हुने तथ्याङ्क शनिबार आठ लाख नाघेको हो । कोरोनाभाइरसले प्रति चौबीस घण्टामा पाँच हजार नौ सय सङ्क्रमितको औसतमा मृत्यु भएको छ । रोयटर्सले पछिल्लो केही साता लगाएर तयार गरेको तथ्याङ्कअनुसार प्रति घण्टा विश्वमा २४६ जना सङ्क्रमणले ज्यान गुमाएका छन् । प्रति १५ सेकेण्डमा एक सङ्क्रमित व्यक्ति श्वास लिन छाड्छन् ।

मृत्युदर पछिल्लो समय बढ्दैआएको छ । पछिल्लो १७ दिनमा एक लाख व्यक्तिको संक्रमणबाट निधन भएको छ । त्यसअघि छ लाखबाट सात लाख संक्रमितको मृत्यु हुँदा पनि १७ दिन नै लागेको थियो । अमेरिकामा शनिबार मृतकको संख्या एक लाख ७० हजार नाघेको छ ।

अमेरिकामा एक सातामा तीन लाख ६० हजार संक्रमित थपिएका छन् । पछिल्लो साताको अपेक्षा नयाँ थपिने संक्रमितको संख्यामा कमी आएको छ । भारतमा भने कोरोनाभाइरसबाट पहिलो मृत्यु भएको पाँच महिनापछि सोमबार पचास हजार नाघेको छ । २० लाखभन्दा बढी संक्रमित पुष्टि भएको अमेरिका र ब्राजिलपछि भारत तेस्रो राष्ट्र हो । विश्वमा कोरोनाभाइरसबाट हुने मृत्युदर ३.५ प्रतिशत हुँदा भारतमा १.९ प्रतिशत रहेको छ ।