Goraksha

National Daily

जन्म दिवसमा कोभिडको चिन्ता

सरकार कोरोना भाइरसको संक्रमण नियन्त्रण र संक्रमितहरुलाई स्वास्थ्योपचार एवं व्यवस्थापन गर्न नसकिरहेको अवस्थामा कोरोना भाइरसको संक्रमणबाट जोगिने र जोगाउने सन्दर्भमा जनस्तरबाटै चासो व्यक्त गर्न थालिएको छ । यसै सन्दर्भमा तुलसीपुर उपमहानगरपालिका–७ का एक जना राजनीतिप्रेमीले नेपाली कांग्रेसका वडाभरिका क्रियाशील सदस्यहरुको आफ्नै खर्चमा कोरोना विमा गरिदिने उद्घोष गरे । यसैगरी तुलसीपुरकै एक जना व्यवसायी ऋषि भण्डारीले आफ्नो ४१औँ जन्मदिन पनि कोरोनाकै सचेतनाको सेरोफोरोमै मनाए । जन्मदिने आमाको आग्रहमा उनले कोभिड सचेतना फैलाउँदै दीर्घजीवनको आशीर्वाद थापे । सडकमा गस्ती गर्ने प्रहरीलाई मास्क बाँडे, पसलमा आउने ग्राहकहरुलाई सेनिटाइजर र मास्क बाँडे अनि कोरोना भाइरस विरुद्ध लड्ने सचेतना सहितका होर्डिङबोर्डहरु बजारका चोक–चोकमा झुण्ड्याए । मानौँ अब कोभिड–१९ को संक्रमण समुदाय तहमै फैलिइरहेको अवस्थामा सचेतना पनि समुदायबाटै हुन थालेको छ । यो एउटा उदाहरणीय एवं अनुकरणीय पक्ष पनि हो ।

कोरोना प्रजातिको कोभिड–१९ भाइरसको संक्रमणले विश्वलाई नै तसाइरहेको छ । विश्वका सर्वशक्तिमान राष्ट्रहरु नै यसको चपेटोका कारण आन्तरिक अर्थतन्त्र गम्भीर अवस्थामा पुगिसकेको बताइरहेका छन् । विश्व शक्तिमान राष्ट्र संयुक्त राज्य अमेरिका, चीन, भारत, जापान, कोरियालगायतका सबै मुलुकहरुको अर्थतन्त्र कोभिड–१९ को संक्रमणले ध्वस्त पारिरहेको अवस्थामा नेपालजस्तो मुलुकमा पनि कोरोना भाइरसको संक्रमण दिन दुईगुणा र रात चौगुणाको अवस्थामा फैलिइसकेको छ । नेपालको विद्यमान स्वास्थ्य प्रणालीले अब यहाँ कोरोना भाइरसको संक्रमणले गलिसकेका बिरामीको उपचार सम्भव छैन । किनकि नेपालभर बढीमा २ हजार पनि सघन उपचार बेड तयार छैनन् । भेण्ट्रिलेटरको परिकल्पना पनि नगन्य अवस्थामा रहेको छ भने कोभिड विशेष अस्पतालमै पनि पर्याप्त जनशक्ति नभएको अवस्था छ ।

नेपालको स्वास्थ्य प्रणालीले उपचार व्यवस्थापनलाई थेग्नै नसक्ने अवस्थामा अबको हामी सबै नेपालीको दायित्व भनेको सकेसम्म संक्रमणबाट आफू बच्ने र अरुलाई पनि बचाउने नै हो । त्यसका लागि न्यूनतम स्वास्थ्य मापदण्ड पूरा गर्नुको कुनै विकल्प छैन । सामाजिक दूरी, मास्क र सेनिटाइजरको नियमित प्रयोग तथा सरसफाईमा विशेष ध्यान दिनु नै कोरोनाको संक्रमणबाट बच्ने उपाय हो । तर अहिलेसम्मको अवस्था हेर्दा स्वसुरक्षाका सवालमा जिल्लाका नागरिक कत्ति पनि गम्भीर भएको अवस्था देखिएको छैन । यो एउटा दुर्भाग्यपूर्ण अवस्था हो । किनकि हामीलाई कडा खालको संक्रमण भएको अवस्थामा उपचारको कुनै सम्भावना छैन । यो अवस्थामा पनि हामी आफ्नो र अरुको स्वास्थ्यप्रति गम्भीर बन्न सकेनौँ भने त्यो सबैभन्दा ठूलो दुर्भाग्य हुने छ । किनकि सरकार कोरोना भाइरसका संक्रमितहरुको उपचार एवं व्यवस्थापनमा असफल भइरहेको बेला सरकारलाई अब नागरिक सहयोगको आवश्यकता छ । त्यसैले संक्रमणबाट कसरी जोगिन सकिन्छ भनेर आफै चिन्ता गर्ने अवस्था अहिलेको आवश्यकता पनि हो । प्रमोद र ऋषिलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै स्वसुरक्षाका विषयमा आम नागरिकलाई आह्वान गर्दछौँ । कोरोना भाइरसको संक्रमणबाट आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ ।