महाविद्यावारिधि उपाधि प्राप्त राष्ट्रकवि घिमिरेमा विश्वकवि टैगोरको प्रभाव
डा.कृष्णराज डी.सी.
तिम्रो जीवनले नयाँ गति लियो हे ! राष्ट्रका गौरव
तिम्रो चिन्तनले नयाँ छवि दियो साहित्यका सौरभ
त्याग्यौ जीवनको अनन्त सुषमा यो लोकको मार्गमा
‘गौरी’ खोज्न भनी हिँड्यौ कि कवि हे ! यात्री बनी स्वर्गमा
गौरीलाइ लिई पुनः कवि तिमी आऊ यही धाममा
गर्नैछन् रचना अझै सरसिला साहित्यका नाममा
छन् शोकाकुलमा समस्त जन यी नेपालका सन्तति
सिङ्गो राष्ट्र तिमी गयौ भन कहाँ यो देशका उन्नति ?
गोर्खा लम्जुङका उचा हिमचुली कैलाशका देवल
माटोका ममता तिमी शिखर हौ, साहित्यका केवल
गौरीशङ्करका सपूत हँसिला आमा तिनै द्रौपदी
राम्रो जीवनका समर्थक तिमी मेरो छ है ! सम्मति
बारीमा पसिना बगाइ तनका बाला सुनौला झुल्यौ
नेपाली मुटुमा दिएर ममता साहित्यमा झन फुल्यौ
तिम्रो लेखनमा भएन कटुता मुस्कानको माधुरी
बैलायो अबता कठै ! विरहमा श्रीकृष्णको बाँसुरी
छाया आज ढल्यो नि ! राष्ट्रकविको माया उतारी कहाँ ?
तिम्रो काव्यकला परन्तु कसरी फर्किन्छ होला यहाँ ?
यौटा हर्ष थियो अलभ्यसरि भै दौड्यो निशाकालमा
तर्किन्छन् गहका सधैँ विरहले ‘धारा’ जलाधारमा
को गर्ला रचना मिहीन कविता साहित्यको साधना ?
तिम्रा अक्षर यी अनाथसरि छन् को गर्छ खै पालना ?
सेतो बादलको भुवासरि भयो तिम्रो सुधी जीवन
धेरै काल जिई परन्तु कसरी माया भुल्यौ कञ्चन ?
तिम्रो जीवनका अनेक रचना माली बनी राखुँला
तिम्रो दर्शनको विशाल दुनियाँ सत्ज्ञानले मागुँला
लक्ष्मीका सषि हौ गयौ अमर भै, यै भाद्रकै साँझमा
तिम्रो रुप नयाँ अवश्य रचुँला संसारको माझमा
कात्रोमा सजिई छ जानु दुनियाँ संसारदेखिन् पर
भन्ने ज्ञान दियौ अमङ्गल कुरा बिर्सेर बिर्सिन्छ र ?
बारीमा विरूवा फलाइ रसिला टाढा गयौ हे ! कवि
खानेछन् भमरा रमाइ फल यी साहित्यका हे ! छवि
तिम्रा शान्त सफा महान् हृदयका उद्गार ती बोल्दछन्
तिम्रा सिर्जनका प्रभाव कवि हे ! साहित्यमा खुल्दछन्
यो सारा भवको सुसृष्टि पथमा तिम्रो कलाकारले
ब्यूँझायो दुनियाँ सुकर्मतिर नै बोलाउँदै प्यारले
केही काल बस्यौ रुँगेर भव यो वैधव्यको जिन्दगी
छोरी शान्ति र कान्तिका दिलभरी बन्दै सुनौला गति
तिम्रा पीरव्यथा म बिर्सुँ कसरी हे ! ब्रह्मका सन्नति ?
छोडी आखिर कालमा सब गयौ गर्दै नयाँ उन्नति
मानिसको जीवन उसले सोचेजस्तो छैन बरु उसले भोगेजस्तै छ । पाश्चात्य दार्शनिक अल्बर्ड कामुका दृष्टिमा मानिस यस धर्तीमा नचाहेरै बाँचिरहेको हुन्छ र ऊ नचाहेरै आफू मर्दछ । यस चिन्तनलाई विसंगतिवादी चिन्तन भनिन्छ । जसले भगवान्सँग सयौँ वर्षको आयु वरदान माग्दछ ऊ चाँडै यस धर्तीबाट अवसान भएर जान्छ । तर, जो यस धर्तीबाट चाँडै सदाको लागि बिदा लिएर जान चाहन्छ ऊ बाँचिरहन्छ ।
तसर्थ, भन्ने गरिन्छ हाम्रो जीवन हामीले भोगेजस्तै छ, सोचेजस्तो छैन । यस धर्तीमा जन्म लिएका महान् पुरुषहरु जो स्वदेश र स्वजाति तथा विश्वमानव समुदायका लागि धेरै बाँचेर कुनै न कुनै रुपमा उनले आफ्नो अतुलनीय योगदान दिइरहुन् भन्ने चाहना मान्छे राख्दछ तर त्यस्ता मान्छेहरु धेरै बाँचेको इतिहास देखिँदैन ।
यही भयो वि.सं. २०७७ साल भाद्र २ गते मंगलवारका दिन । वि.सं. १९७६ साल आश्विन ७ गते गण्डकी अञ्चलको लम्जुङ जिल्लामा बाहुनडाँडा स्थित भिरपुस्तुनमा पिता गौरीशंकर घिमिरे र माता द्रोपदीदेवी घिमिरेका ज्येष्ठ सुपुत्रको रुपमा जन्मिएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनले । उनी जुन वार अर्थात् मंगलवारका दिन जन्मेका थिए त्यही वार यस संसारबाट सदाको लागि बिदा लिएर गए ।
काठमाडौं लैनचौरस्थित आफ्नै निवासमा आफ्ना सम्पूर्ण स्वजनहरुको माझबाट गत भाद्र २ गते ५ः५५ बजे भएको उनको स्वर्गारोहणले आज तीन करोडभन्दा बढी नेपाली जनतालाई मात्र होइन, यहाँका हिमालहरु, तालतलैया, नदीनालाहरु, डाँडाकाँडा, लेकबेसी, डाँफे, मुनाल, ढुकुर, मयुर, कोइली, हिमाल, पहाड, तराई आदि सबै आँसुले भिजेर शोकमग्न बनेका छन्, राष्ट्रकवि घिमिरेको दुःखद् निधनको कारणले । हुन त महाकवि देवकोटाले मुना–मदनमा भनेका छन् :
‘सर्पको दाँतमा विषको थैलो इखको तीखो फल
मानिसभित्र झन हुन्छ कालो मनमा हलाहल’
यसरी मानिसको मन कालो हुने व्यक्तिले यस संसारका महापुरुषहरुमाथि पनि दोषारोपण त गर्दछन् जसरी भगवान् रामचन्द्रलाई समेत गरिएको थियो । घिमिरेले करिब दुई शताब्दीमा टेकेर यस धर्तीबाट स्वर्गारोहणतर्फको यात्रा गरेका छन् । उनी सामान्य आर्थिक अवस्था भएको ब्राह्मण परिवारमा जन्मेका थिए ।
उनका पिता गौरीशंकर घिमिरे वर्षामा ‘जगरा’ लेकमा भैँसी लिएर जाने गर्दथे । आमाको टुहुरो बनेका घिमिरे बाबुसँगै उनी पनि माथि लेक जगरामा जाने गर्दथे र त्यहाँको हिमाली दृश्यले उनको मन साह्रै लोभिन्थ्यो र हिउँदमा मस्र्याङ्दी नदीको किनारमा अवस्थित उनको गाउँमा उनी बाबुसँगै झर्दथे । यसरी लेकबेसी गर्दैमा उनको बाल्यकाल बितेको थियो । तर, ब्राह्मण संस्कारअनुसार उनलाई सानैमा ‘तरापू’स्थित एक ब्राह्मणकी सुकन्या गौरीसँग वैवाहिक बन्धनमा बाँधियो ।
एक दिन भैँसीलाई घाँस काट्न रुखमा चढेका कवि घिमिरेका पिता रुखको हाँगो भाँचिएर तल घाँस खाइरहेको भैँसीको सिङमा परेर मरे । अब घिमिरे आमाबाबु दुवैको टुहुरो बने । यसरी बाल्यावस्थादेखि नै ठूलो दुःख भोग्दै आएका घिमिरे आफ्नै ससुराली तरापूमा बसेर ‘खुदीबेनी’ स्थित विद्यालयमा अध्ययन गर्ने गर्दथे । त्यसबेला उनको विद्यालयमा पण्डित नारायण दत्त आइपुगे र घिमिरेले आफूले रचेको ‘ज्ञानपुष्प’ शीर्षकको कविता नारायण दत्तलाई देखाए ।
सो कवितालाई नारायण दत्तले परिष्कार गरिदिएपछि वि.सं. १९९२ भाद्र १४ गते शुक्रवारका दिन प्रकाशित ‘गोर्खापत्र’ भाग ३५ को पृष्ठ २० मा उक्त कविता प्रथम पटक प्रकाशित भयो । यही कविताको प्रकाशनसँगै घिमिरेले औपचारिक रुपमा ८५ वर्ष लामो साहित्यिक यात्रा पार गरे ।
हालसम्म पनि उनका नीति, ज्ञान, प्रेम, लुच्चो, कामना, नीतितरङ्ग, अब, वैराग्यको लहर, हेर, तपोवन, गोर्खापत्र, आखिरका दिनसँगमा लानु के छ?, प्रेमी रोदन, स्वदेश भक्ति, प्रार्थना, गीता, वैराग्य, दृष्टान्त, कृतिसार, उद्योग, विद्या, शरद, दैवी इच्छा, वनशोभा, स्वदेशी गीत, हाम्रो भावना, जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी, विरामीले विवाह, कविजीसित, कोइली करायो, भाषानुवाद परिषद्को अभिनन्दन, अन्धो, विजयी गोर्खालीको प्रत्यागमन, गोविन्द महाकाव्यांश, अप्सरा, घामपानीको दुनियाँ, क्षणको मोल, विरहिणीको बाह्रमासा, किरण, अन्तिम आँसु, इन्द्रिणी, कवीन्द्र रवीन्द्रका गीतहरु, कवीन्द्र रवीन्द्र, सपूत स्यार्पा, जुन एक मुठी, बैशाखका दिन, द्यौराली, सुख र दुःख सञ्चित गर्छु र नेहरु एउटा पाटलको फूल आदि शीर्षकका कवि घिमिरेका अप्रकाशित कविताहरु यो पंक्तिकारसँग सुरक्षित अवस्थामा रहेका छन् । आशा गरौँ उक्त कविताहरु चाँडै प्रकाशित हुने छन् ।
कवि घिमिरेले गाउँको रामलाल नामक व्यापारीको बारेमा एउटा कविता लेखेर उसलाई बाल्यकालमा सुनाएका थिए । सो व्यापारी खुशी भएर आफूलाई प्रेरणा स्वरुप शिरमा फेटा गुथाइदिएको कुरा राष्ट्रकवि घिमिरेले यो पंक्तिकारलाई सुनाएका थिए । पं.नारायण दत्त र स्थानीय व्यापारी रामलालको प्रेरणाले कवि घिमिरे नेपाली कविताको रचनामा प्रेरित भई आजीवन लागिरहे ।
हरेक मानिसलाई आफूले काम गर्दै गरेको कार्यक्षेत्रमा सिद्धि प्राप्त गर्नको निमित्त विशिष्ट साधनाको आवश्यकता पर्दछ, नत्र आज सबै कविहरु शेस्क्सपियर, कालिदास, मिल्टन, गेटे, होमर, भर्जिल, लियोटाल्सटाय, लक्ष्मीप्रसाद देवकोटा, माधव घिमिरेको स्थानमा पुग्न सक्थे । त्यसो हुन नसक्नुको मूल कारण सुदीर्घ साधना र जन्मजात कवि प्रतिभाको अभाव हो ।
आज घिमिरेले खास गरी २००४ सालको राष्ट्रिय झण्डा शीर्षकको कविताको प्रकाशनदेखि थालनी गरेको नेपाली कविताको यात्रा २०७७ भाद्र २ गतेसम्म निरन्तर रुपमा चलिरह्यो । यो अविश्राम साहित्यिक यात्राको दौरानमा कवि घिमिरेले आफ्नो जिन्दगीका कति उतारचढाव भोग्नुप¥यो होला ? ती सारा पीडाहरुलाई एकातिर पन्छ्याएर आफ्नो जीवनको मूलप्रवाहमा उनी सतत् लागि नै रहे । ‘राष्ट्रिय झण्डा’ शीर्षकको कवितामा उनले उरालेको राष्ट्रवादी स्वर यस्तो छ :
‘नेपाली नाम हाम्रो त्रिभुवनभरका छौँ बडा वीर जाति
छाती निर्धक्क हाम्रो गति अति छरितो चढ्दछौ माथि,
हाम्रो बस्ती छ उच्चा शिखर हिमचुली देशको टाकुरामा
हम्रो आदर्श उच्चा झलल रवि शशी हेर हाम्रो ध्वजामा !’
यसरी २००४ सालदेखि उनले थालनी गरेको राष्ट्रवादी चेतनाको मूलप्रवाह उनका प्रत्येक कविताहरु क्रमशः कलमवीर, हामी पर्वतका कुमार, स्वदेशको सङ्ग्रेलो, विश्वबन्धु, तँ वीर होस्, भोका छन् दाजुभाइ, नेपाल ठूलो भए, फागुन ७ गते, तर अचल नेपाल नझुकोस्, हामी विपना रच्छौँ, इन्द्रेनी जब पर्छ, बैशाख, नवयुवक, यात्री, चरीलमिनी, अन्नपूर्ण, पहाडीसाँझ, कालीगण्डकी, इन्द्रेनीको जनिमा, गाली गर्दैन सारँगी, मेरो रुन्छ सरस्वती, दुलही हिमाल कञ्चनजंघा आदि फुटकर कविताहरुमा राष्ट्रकवि घिमिरेले आफ्नो सशक्त राष्ट्रवादी चेतनाको स्वर घन्काएका छन् ।
२०३६ सालमा प्रकाशित उनको ‘राष्ट्र निर्माता’ खण्डकाव्यले पृथ्वीनारायण शाहको नेपाल एकीकरणको अभियानलाई कलात्मक व्यञ्जनाका माध्यमबाट संवादकाव्यका रुपमा प्रस्तुत गरेको छ । जस्तै :
मैले रचेको मन भित्र भित्र
नेपालको दिव्य विशाल चित्र
देखेर यो चञ्चल हुन्छु कस्तो
लम्केर पललो चुलि छुन्छु जस्तो (पृ.६)
खेली सिँगौरी, शिरमाथि माटी
डुक्रन्छु साँडेशिर वीरजति–
‘हो मृत्तिका केवल साध्य तङ्खव
हो मृत्तिका केवल सिद्ध तङ्खव’ (पृ.७)
धूलो र मैलो पुछिदिन्छु सारा
र रङ्गद्वारा मुछिदिन्छु सारा
यो फूललाई परिवेश दिन्छु
यस्तै सदा–सुन्दर देश दिन्छु ! (पृ.९)
यसरी मन्त्रदष्टा ऋषिद्वारा प्रतिपादित वेदका ऋचाहरुजस्तै राष्ट्रकवि घिमिरेका प्रत्येक फुटकर कविता र गीतहरुमा नेपाली माटोको सुगन्ध र नेपाली मनको ढुकढुकीको निरन्तर धड्कन भेटाउन सकिन्छ । उनका कालजयी गीत र कविताहरुले स्वदेशप्रेम, मातृप्रेम, मानवप्रेम, विश्वप्रेमका साथै नेपाली संस्कृति र प्रकृतिप्रतिको अगाध आस्थालाई उद्बोधन गरेका छन् ।
घिमिरेको कवित्वको कारिगरी पन्ध्रौँ शताब्दीका युरोपेली प्रशिद्ध कलाकार लियोनार्दो दा भिन्चीको कुचीझैँ घिमिरेको कलम सुस्त–सुस्त महासागरझैँ बगिरहन्छ तर दर्शकले देख्न सक्तैन । कवि घिमिरेले यो पंक्तिकारसँग बताएअनुसार ‘दुलही हिमाल कञ्चनजंघा’ शीर्षकको कवितालाई पूरा गर्न उनलाई २२ वर्षको समय लागेको थियो ।
तर, यसको अर्थ २२ वर्षसम्म निरन्तर मैले त्यही कविता मात्र लेखिरहेँ भन्ने भने होइन भनेर कवि घिमिरेले मसँग बताएका थिएँ । घिमिरेका गीत र कविताहरु अमृतधाराझैँ मन र मस्तिष्कलाई एकैपटक स्पर्ष गर्नसक्ने शक्तियुक्त सुन्दर अभिव्यञ्जना हुन् । मानव जन्म र मृत्यु, शाश्वत मानव प्रेम, शाश्वत जीवन दर्शन र देशप्रेमको सर्वोच्चतालाई उनले आफ्नो लेखन मान्यतामा कहिल्यै विचलन आउन दिएनन् ।
‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे, गाउँछ गीत नेपाली, लाग्दछ मलाई रमाइलो, नेपाल आमा कहीँ छौ घाम, कहीँ छौ छाया हे ! आदि विशिष्ट राष्ट्रवादी कलात्मक व्यञ्जनाले ओतप्रोत भएका कवि घिमिरेका गीतहरुले किरण खरेल, अम्मर गुरुङ, रत्नशंशेर थापा, हरिभक्त कटुवाल, कालीप्रसाद रिजाल, कृष्णहरि वराल, श्रवण मुकारुङ आदिजस्ता दोस्रो पुस्ताका गीतकारहरुलाई जन्मएका छन् भन्ने टिप्पणी भाषाविद् प्रा.डा. माधव पोख्रेलले गरेका छन् ।
१९औँ शताब्दीका अमेरिकी कवि वाल्ट ह्विटमन र फ्रान्सेली कवि चाल्र्स भोद्लेयरले कवितामा गेयात्मकताको आवश्यकता अनुभूति गरेझैँ घिमिरेले पनि आफ्ना प्रत्येक सिर्जनाहरुमा गेयात्मकताको आवश्यकताबोध गरेका छन् भन्ने टिप्पणी पनि पोख्रेलले गरेका छन् । उनले बालगीत र बालकविता पनि रचेका छन् । घिमिरेका कवितामा लोकशैलीको प्रयोग भएको टिप्पणी महाकवि देवकोटाले वि.सं. २०१४ सालमा रुसको तासकन्दमा भएको वृहत अफोएसियाली साहित्यिक सम्मेलनमा बताएका थिए ।
घिमिरेका शब्दहरु संस्कृत नेपाली होइन बरु प्रकृत नेपालीहरु साहित्यमा प्रयोग गरिएका छन् । सकेसम्म सबैले बुझ्ने शब्द चलाएर धेरै लोकछन्द प्रयोग गरी नेपाली लोक सामग्रीको अधिक्तम प्रयोग गरेर सबैभन्दा राम्रा राष्ट्रिय काव्य लेख्ने कवि घिमिरेले आफ्नै गीत आफ्नै बाँसुरी (२०५९), चारुचर्चा (२०५८), २५ वर्षका खण्डकाव्य (२०३९) यो प्रज्ञा प्रतिष्ठानबाट घिमिरेद्वारा सम्पदित कृति हो नागानन्द नाटक (२००२), चम्पू नाटक, नवमञ्जरी बालगीत संग्रह (१९९४), चैतबैशाख (२०६०), घामपानी (२०१२), सुनपङ्खी चरी (२०५३), मनचिन्ते मुरली (२०५७), विजुले र विजुला (२०६३), किन्नरकिन्नरी (२०३३), राष्ट्र निर्माता (२०३६), गौरी (२०१५), राजेश्वरी (२०१७) आदि कविता र काव्यहरुमा लय चेतनाको विशिष्ट प्रयोग भएको देखिन्छ ।
त्यस्तै इन्द्रकुमारी काव्य संकलन (२०५७), बोराको पर्दा (२०५७), गौँथली र गजधम्य (२०५७)मा पनि कवि घिमिरेले लयचेतनाको विशिष्ट प्रयोग गरेका छन् । उनका गीती नाटकहरु मालती मंगले, वीषकन्या, हिमाल पारि, हिमाल वारि, देउकी, बालकुमारी, शकुन्तला, अश्वत्थामा आदिहरुमा पनि सूत्रात्मक तथा सुक्तिमय लोकशैलीको विशिष्ट लयात्मक चेतना फेला पार्न सकिन्छ ।
उनका रचनामा नेपाली लोकतङ्खवको अधिक्तम प्रयोग गर्ने जुन अतुलनीय क्षमता छ त्यसलाई कुनै नेपाली लेखक र कविले भेट्न सक्तैन । प्रशिद्ध समालोचक प्रा.डा. गोविन्दराज भट्टराईले भनेका छन् ‘राष्ट्रकवि घिमिरेले महाकवि देवकोटाले पाउन नसकेको सम्मान र प्रतिष्ठा प्राप्त गर्ने सौभाग्य पाए ।’
उनले २०६० सालमा नेपाल सरकारबाट राष्ट्रकविको उपाधि पाए मात्र होइन राष्ट्रवादको संरक्षणमा उनले दिएको योगदानको उच्च कदर गर्दै सेनाको मानार्थ उच्च उपाधि समेत उनलाई प्रदान गरिएको छ । घिमिरेलाई राष्ट्रकविको उपाधि यदि प्रदान नगरिएको भए पनि उनी राष्ट्रकवि नै भएको कुरा भट्टराईले बताएका छन् ।
भट्टराईका अनुसार बेलायती अलेक्जेण्डर पोपका काव्यका पंक्तिहरु दुनियाँले गाएजस्तै आज नेपाली जातिले उनलाई गाउँदै छ । आज उनको सम्झनाले देश भिजेको छ । २०७३ सालमा त्रिविविले महाविद्यावारिधिको मानार्थ सम्मान घिमिरेलाई प्रदान गरेको थियो । सो उपाधि राष्ट्रपतिबाट राष्ट्रिय सभागृहमा घिमिरेलाई हस्तान्तरण गरिएको थियो ।
२०७२ साल असोज ३ गते ५३औँ ग्रेसलिस्ट पास गर्न बसेको त्रिविसभाको बैठकले घिमिरेलाई महाविद्यावारिधि मानार्थ उपाधि प्रदान गर्ने निर्णय गरेको कुरा समालोचक भट्टराईले उल्लेख गरेका छन् । खासगरी घिमिरेले नेपाली वाङमयको उन्नतिमा आठ दशकदेखि आफूलाई समर्पित गरी दीर्घसेवा पु¥याएको र सम्पूर्ण नेपाली जातिको गौरव बढाएको हुँदा उनलाई सो उपाधि प्रदान गरिएको कुरा समालोचक भट्टराईले उल्लेख गरेका छन् ।
आधुनिक नेपाली साहित्यको शैशवकालदेखि निरन्तर रुपले कविता, काव्य सिर्जना गर्दै गौरी, राजेश्वरी, राष्ट्र निर्माता, मालाती मंगले आदिजस्ता धेरै काव्य कृति सिर्जना गरी नेपाली कविताको विशेष धारलाई समुन्नत गराएकोले उनलाई त्रिविविले महाविद्यावारिधिको उपाधि प्रदान गरेको समालोचक भट्टराईले बताएका छन् ।
यसरी कवि घिमिरे आजन्म स्वजाति, स्वबन्धु, स्वसंस्कृति र स्वप्रकृतिको सम्मान र संरक्षणको लागि मन, वचन र कर्मले लागेको हुँदा उनलाई राष्ट्रकविको सम्मान प्रादान गरिनु त्यति ठूलो कुरा होइन । अझ उनी विश्वसाहित्यकै शिखर कविको स्तरमा पुग्नसक्ने व्यक्तित्व भएको कुरा विशिष्ट समालोक एवं भाषाविद् माधव पोख्रेलले बताएका छन् । भाषाशैलीका दृष्टिले विश्वकवि रवीन्द्रनाथ टैगोरको प्रभाव कवि घिमिरेमा भेटिन्छ ।
उनले वि.सं. १९९९ देखि वि.सं. २००० तिर रवीन्द्रनाथ टैगोरका कविताको संकलन गर्ने मौका पाएपछि घिमिरेको काव्य जीवनमा क्रान्तिकारी परिवर्तन आएको देखिन्छ भनी समालोचक पोख्रेलले बताएका छन् । कवि घिमिरले यो पंक्तिकारसँग बताएअनुसार विश्वकवि रवीन्द्रनाथ टैगोरले जसरी आफ्ना कविता लेख्दा प्रकृतिलाई माध्यम बनाई लेख्ने गर्दथे त्यसैगरी आफूले पनि प्रकृतिलाई जीवन्तपात्रको रुपमा प्रयोग गरी कविताहरु रच्ने गरेको देखिन्छ । उदाहरणको लागि रवीन्द्रेली शैलीको कवि घिमिरेको ‘किरण’ शीर्षकको कविता यस्तो छ :
नरम मिर्मिर किर्मिर छिर्बिर
भुवन यो कति सुन्दर सुन्दर !
किरणका अति पावन निर्झर
सुरपुरी महिमा भुइँमा झर
सुनउला छविमा म नुहाउँला
गगनमा चिडियासरि गाउँला (चैतबैशाख पृ.४)
कवि घिमिरेले आफ्नो जीवनको अन्त्य कहिल्यै नभएको खालि प्रारम्भ मात्र भएको कुरा उनले आफ्नो ‘किन्नरकिनरी’ गीतसंग्रहमा संकलित ‘प्रारम्भ हो खालि’ शीर्षकको गीतमा बताएका छन् । २०२० सालमा लेखिएको प्रस्तुत गीत विशेष गरी २०२५/०२६ सालतिर मुखरित भएको पाइन्छ ।
जे होस्, आज घिमिरे हामीमाझ छैनन् । उनले आफ्नो सम्पूर्ण नाटकीय भूमिका निर्वाह गरी स्वर्गलोकको यात्रा प्रारम्भ गरिसके । तसर्थ, बाँच्दासम्म पनि उनी आफू विभिन्न साहित्यिक कृतिहरुको रचना प्रारम्भ गर्ने गर्दथे ।
आज उनको मृत्युपश्चात पनि उनको स्वर्गलोकको यात्रा प्रारम्भ भएको छ । उनको जीवनको उत्तरार्धमा रचित ‘ऋतम्भरा’ महाकाव्य पूरा भइसक्यो ? भनेर माधव पोख्रेलले राष्ट्रकविकी छोरी शान्तिसँग जिज्ञाशा राख्दा पूरा भइसकेको तर बुबाले चिल्ल्याउने काम गरिरहनुभएको कुरा समालोचक माधव पोख्रेलले अन्नपूर्ण पत्रिका २०७७ भाद्र ६ मा उल्लेख गरेका छन् ।
शायद राष्ट्रकविको इच्छाअनुसार उक्त महाकाव्य उनको मृत्युपछि प्रकाशन गर्ने थियो कि ? भन्ने अनुमान गर्न पनि सकिन्छ । आफ्नो मृत्युपछि मात्र प्रशारण होस् भन्ने कविको इच्छाअनुसार घिमिरेको एउटा गीत यस्तो छ :
त्यसरी होस् मरण !
त्यसरी होस् मरण –
जसरी सुत्छन् तारमा गीतका चारु चरण
हिमचुली देशमा दिनको शान्त भेषमा
जसरी गर्छन् विश्राम सूर्यका स्वर्ण किरण
प्रस्तुत गीतमा पनि कविले विश्वकवि टैगोरको शैलीलाई उपयोग गरेका छन् । टिप्पणी गर्ने गरिन्छ घिमिरेका रचनाहरु सामाजिक रुपान्तरणका दृष्टिले अलि कमजोर भए कि भनेर । तर, यस्तो टिप्पणी घिमिरेलाई पढ्न त परैजाओस् छुनसम्म नसकेका पाठकहरुको कच्चा विश्लेषण मात्र हो भन्ने मलाई लाग्दछ ।
उनका राजेश्वरी, इन्द्रकुमारी, मालती मंगले, शकुन्तला, पापिनी आमा, बालकुमारी, हिमाल पारि हिमाल वारि, विषकन्या गीतीनाटक तथा खण्डकाव्यहरुले नारीमाथि गरिएको अन्याय, अत्याचार, शोषण र दमनको शालीन तथा लाक्षणिक रुपमा तीखो व्यङ्ग्य प्रहार गरेका छन् । ‘गौरी शोक काव्य’ कवि घिमिरेले साहित्यको सिंगमर्मरमा खडा गरेको ताजमहल हो । जसमा घिमिरेले आफ्नो मृत्युपछि कोही नरोऊन् भन्ने भाव यसरी व्यक्त गरेका छन् :
छैनन् आज उनी म रुन्छु, नहुँला भोलि म, मेरा रुनन्
पृथ्वी मर्दछ पर्सि यो, पिलपिले ताराहरु ती रुनन्
सारा निष्ठुर नाशको पछि यहाँ आएर को रन्छ हे
नाशैलाई छ सिर्जना सब भने रोएर के हुन्छ हे
फर्की क्वै पनि आउँदैन र सधैँ पर्खन्न कोही पनि
कालो आदि र अन्त ! खालि बिचमा झिल्का लिने जीवनी
एक्लै क्वै दिन निस्किएँ म त भने कोही नखोजून् यहाँ
एक्लै अल्पिनु सृष्टिको चलन रे, कोही नरोऊन् यहाँ
गौरी शोककाव्य (पृ.२४)
निष्कर्षमा भन्नुपर्दा कवि घिमिरेले मरणशील मानव जीवनको निमित्त कोही रुनु बेकार हो । किनभने मानिस मर्नैको मिमित्त जन्मिएको हो । यसरी मरणशील मानवको मृत्युमा आँसु बगाउनु राम्रो होइन । किनभने धेरै आँसु बगाएपछि स्वर्गारोहण भएको व्यक्तिलाई अगति मिल्छ भन्ने सनातन हिन्दू धर्ममा उल्लेख भएको पनि पाइन्छ । जे होस्, घिमिरे राष्ट्रकवि मात्र होइनन्, उनी त विश्वकवि रवीन्द्रनाथ टैगोरको पंक्तिमा पुग्नसक्ने सिद्धहस्त एवं भाग्यमानी नेपाली साहित्यका सुन्दर स्रष्टा हुन् ।
जसरी रवीन्द्रनाथको गीताञ्जलीलाई नोवेल पुरस्कार प्राप्त भएको थियो, त्यसैगरी घिमिरेको ‘अश्वत्थामा’ गीतिनाटकलाई अंग्रेजीमा अनुवाद गरी नेपाल प्रज्ञा प्रतिष्ठानले नोवेल पुरस्कारको दाबी गर्दै स्वीडिस एकेडेमीमा समेत पठाएको थियो । उनको औषधोपचारको लागि नेपाल सरकारले जुन सहयोग ग¥यो त्यसको लागि सरकारलाई सबैले धन्यवाद दिनैपर्छ । साथै उनको अन्तिम दाहसंस्कार राजकीय सम्मानका साथ गरियो त्यसको लागि पनि सरकारलाई धन्यवाद नदिई रहन सकिँदैन । घिमिरेले पाएको यो सम्मान सम्पूर्ण नेपाली स्रष्टावर्गको सम्मान हो भन्ने कुरा आज प्रत्येक स्रष्टाले बुझ्नु नितान्त जरुरी छ भन्ने मलाई लाग्दछ ।
(लेखकले राष्ट्रकवि घिमिरेको कवित्वमा विद्यावारिधि गर्नुभएको छ ।)
