सुनसान तीजका चौतारी …
बालारमा खड्का
तुलसीपुर, ६ भदौ । चौपारीमा न खैचडी र बाँसुरी बजे न मादल, पोहरसाल तुलसीपुर-७ को खर्चवा स्कूल नजिक रमाइलो भएको थियो, तीजको नाँचगानदेखि दिदीबहिनीहरुको भेटघाट । समूह-समूह बनाएर खैचडी र मादलमा कम्मर मर्काएको त्यो अतीत सम्झनामै सीमित भयो ।
त्यस्तै तुलसीपुर-१८ को दुधरासमा पनि यो साल सुनसान थियो, तुलसीपुर-११ को वेलटाकुरामा पनि जमघट भएन । घोराही, लमहीका मुख्य सडक छेउमा पनि महिला दिदीबहिनीहरु रातो साडीमा सजिएर छम्की-छम्की नाचेको देखिएन । सधैँ तीजको बेला जम्मा हुने त्यहाँका सबै धार्मिक स्थलहरु र पाटी चौतारामा अहिले भने तीजको रौनक देखिएन । थियो त फेसबुक लाइभ र टिक-टकमा तीजको रौनक ।
पोहर सालको जस्तो पर्वको रमाइलोलाई कोरोना भाइरसले चुँडेर लगेपछि आप्mनै घरको कोठामा टिभीमा गीत बजाएर नाँचगान गरेको अनुपमा केसी बताउँछिन् । पर्वमा रमाउनेभन्दा जोगिने चिन्ताले यस वर्ष चेलीहरु आप्mनै घरमा रमाइलो गरेको उनले बताइन् । त्यस्तै सधैँ तीजमा नाच हेर्न जाने र रमाइलो गर्ने विष्णु खनालले पनि यस वर्ष फेसबुक लाइभमै भए पनि तीजको नाँच र रमाइलो हेरेको बताए ।
नजिकका दिदीबहिनीहरु माइतमा गएर कोठामै आप्mना आफन्तीसँग रमाइलो गरे भने यातायात तथा अन्य कारणले माइतमा जान नपाएका चेलीहरुले भने आप्mनै घरमा जम्मा भएर तीज मनाएका छन् । ‘यो वर्ष तीज आएजस्तो पनि भएन, न कहीँ गइयो न रमाइलो नै भयो, यस वर्षको तीज अलि खल्लो भयो’ -स्थानीय चन्द्रा वलीले भनिन् । उनले दिदीबहिनीहरुसँग फोन र भिडियो च्याटमै सुख-दुःखका कुराहरु गरेको बताइन् ।
त्यस्तै यस वर्ष लहरेपिङ खेल्ने र छम्की-छम्की नाच्ने चाहना सबै कोरोनाले चुडाएको निमा खड्काले बताइन् । उनले घरको कैसीमा बसेर मोवाइलमा गीत बजाएर तीज मनाएको बताइन् । त्यस्तै केही महिला दिदीबहिनीहरुले भने बजारका खालि सडकमा टिकटक बनाएरै रमाइलो साटासाट गरे ।
विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोभिड—१९ को संक्रमणको जोखिम पनि उत्तिकै बढेको भएकाले प्रशासनले पनि कडाई गरेपछि गाउँघरमा लुकिछिपी नाँचगान समेत गर्न नपाएको स्थानीय बताउँछन् । समाजिक सञ्जालमा सजिएर तीजको रमाइलो भने सबैले गरेका थिए । यस वर्षको तीजको रमाइलो सामाजिक सञ्जालमा भने धेरै दिखिएको थियो । सामाजिक सञ्जालमा सजिएर फोटाहरु खिचेर रमाइलो गरेको दृश्य भने धेरै देखिएको थियो ।
कोरोनाको कहरका कारण सबै चेलीहरु जम्मा हुने अवस्था नरहेपछि अतीतको तीजलाई स्मरण गर्दै तीज पर्वलाई स्वागत गर्दै बिदाई गरिएको छ । यस वर्ष तीजकै लागि भनेर किनमेल र खर्च गर्ने भने कमै भएको देखिएको छ । यो वर्षको तीजमा धेरैका घरआँगनमा मादलको आवाज समेत सुनिएन ।
कहीँकतै स्पिकर लगाएर गीतहरु बजाइए पनि जमघट भने नभएको स्थानीय बताउँछन् । प्रशासन तथा सरोकारवालाहरुले कोरोनाको महामारीमा घरमै बसेर तीज मनाउन आग्रह गरेसँगै त्यसको पूणर् रुपले पालना समेत भएको छ । हुल बाँधेर नाँच हेर्न जाने तथा तीजमा हुने अवाञ्छित गतिविधि पनि यस वर्ष कमै भए । यो वर्षको तीज पर्व रौनकताबिनै सामान्य तरिकाले सकिएको छ ।
