Goraksha

National Daily

आवश्यकताको पनि प्राथमिकता हुन्छ

के.पी. सुवेदी

कोरोनाको विश्वव्यापी महामारीमा नेपाल पनि अछूतो हुने कुरै आउँदैन । सुरु-सुरुमा लकडाउन गरिएका कारण व्यापकता लिन सकिरहेको थिएन तर लकडाउन खुकुलो भएसँगै ह्वात्तै बढेर नियन्त्रण बाहिर जान थालेपछि भयावह स्थिति आउने अनुमान गर्न थालिएको छ । काठमाडौंमा बढिरहेको दरको अनुमान गर्दा समुदायमा पुगिसकेको विश्लेषण गर्न थालिएको छ ।

सरकारी संयन्त्रको समुचित समन्वय र सञ्चालनको अभावमा कोरोना नियन्त्रण वशमा लिन असम्भव बन्दैछ । यसो हुनुमा सत्ताधारी दलको सत्ता लुछाचुँडी पहिलो कारण हो भने अन्य कारणहरुमा तीनवटै तहका सरकारका तहगत कमजोरी र लापरवाही नै जिम्मेवार छन् । पहिलो चरणको लकडाउनका बेला सरकारले धेरै प्रचार गरेर आफ्नो गुणगानमा रमाउनु, उसैका लागि यति धेरै घातक होला भन्ने सोचेको होइन ।

कुनै पनि समयमा भयावह रुप लिनसक्ने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएकै थियो । बेलावखतमा विश्व स्वास्थ्य संगठनको कोरोनासम्बन्धी स्वास्थ्य सुरक्षा मापदण्ड उच्चारण गरिए पनि त्यसको पालना आफूलाई माथिल्लो स्तरको सम्झनेहरुबाट हुँदै भएन । अनि सर्वसाधारण नागरिकलाई सचेतना शिक्षा दिनको साटो सास्ती मात्र दिने गर्दा नागरिकमा संशय उब्जनु अनौठो कुरा होइन ।

लकडाउन हटाइएपछि फेरि एका-एक कोविड-१९ ले महामारीको रुप लिएको छ । यसरी महामारी बढेर विकराल रुप लिनुमा सरकार मात्र जिम्मेवार पक्कै पनि छैन । सबैजनालाई लामो बन्दा-बन्दीले अत्याइसकेको थियो र मजदुरी गरेर जीविका गर्नेहरुको चुलो निभिसकेको थियो ।

सरकारले राहत वितरणमा निष्पक्ष र पारदर्शी बनाउन नसकेपछि पाउनुपर्ने र जसोतसो गुजारा चलाउनेहरुको वर्गीकरण हुन सकेन । जो सबै प्रकारले नजिक छ उसले पायो । केही पालिकाहरुको उदाहरण हेर्दा विपक्षी कुनै पनि सुविधाको हकदार हुनै सक्तैन भन्नेसम्म व्यवहारले देखाइदिए । यसैले महामारीमा राजनीति गरेकोजस्तो भएपछि बन्द नगरेर सावधानीपूर्वक व्यवसाय सञ्चालन भए गरिखान सजिलो हुने सबैको सोच हो ।

अहिले एक-एक बढेर आएको विरामी विवरणले त्यसको वास्तविक कारण छर्लङ्ग पार्छ । जहाँसम्म समाचारमा आएको कुरा मनन् गर्दा स्थानीयको गतिविधिले बढेको होइन । अधिकांश विरामी बाहिरबाट भर्खर नेपाल भित्रिएकाहरु हुन् भने तिनीहरु कहाँबाट आएका हुन् र कसरी अनियन्त्रित रुपमा भित्रिए भनेर त्यसको अध्यायन भएको होला । सम्भावित मानिसहरुलाई अलग्याएर परीक्षण गर्ने र संक्रमितहरुलाई आइलोलेट गरिहाले समुदायमा बढ्नबाट रोक्न सकिन्छ ।

प्रथम चरणको लकडाउन खुले पनि बाहिरी मुलुकबाट आउन नाका खोलिएको थिएन तर अनियन्त्रित रुपमा कसरी भित्रिए संक्रमितहरु ? गम्भीर चासोको विषय हो । किनभने प्राणघातक रुपमा बुझिएको रोग लुकिछिपी भिœयाउनु पनि अपराध नै हो । यस्ता संक्रमितहरु सीमानाकामा घुस दिएर भित्रिएको सुन्दा कति दुःख लाग्छ । यता सरकारलाई नाकाबाट अनियन्त्रित आगमन भइरहेको खबरै नहुने अर्कोतिर बन्द भनिएका नाकाबाट भारतीय नागरिक नेपालीलाई घुस दिएर भित्रिने, यो कस्तो विडम्बना हो ? जे नहुनुपथ्र्यो भयो, यस्तो सोत्तर हुने संकेत भइरहेको बेला प्रधानमन्त्री केपी ओली राम जन्मभूमिको विवादास्प्रद प्रवचनमा समय बिताउँछन् ।

जुनबेला आइसियु र भेन्ट्रिलेटर सहितका हजारौँ शै®या बनाउन आवश्यकता देखिन्छ त्यहिबेला प्रधानमन्त्री राम मन्दिर बनाउने कुरा गरेर मानिस हँसाइरहेका हुन्छन् । मन्दिरको मात्र कुरा होइन, यस्तोबेला रेल वा यस्तै विकासको कुरा पनि वेमौसमी हुन जान्छ । किनकि अहिले रोगबाट कसरी बच्ने र बाँच्नका लागि चाहिने अत्यावश्यक वस्तुहरुको व्यवस्था कसरी शुलभ गराउने भनेर सोच्नेबेला हो । भन्न पनि लाज लाग्ने कुरा, आज नेपालमा आफूलाई मजदुर, किसान र श्रमजीविहरुको पार्टी भन्ने नेकपाको सरकार छ ।

किसानको मुख्य बाली धान पसाउने बेलामा रासायनिक मल नपाएर किसानहरु चिन्तित छन् । हुन पनि रासायनिक मलबिना दुवो पनि नउम्रने अवस्था छ । किसानको साथी भनेर परिचय बनाउने नेकपाका नेता घनश्याम भुसाल कृषिमन्त्री छन् । यस्तो सर्वहाराको पार्टीका प्रखर नेताहरु सत्तामा भएकाबेला किसानको यस्तो विजोग हुनुपर्ने ?

कथित माथिल्लो तह भनेर आफूलाई भनाउन चाहनेहरुबाट नियम कानुनको पालना नभइरहेको देखेर तल्लो तहसम्म पनि अटेरी र विवेक शून्य हँंदै गएको देखिन्छ । हुन पनि ठूलालाई चैन र सानालाई ऐन भन्ने नेपाली उखान पहिल्यैदेखि चलिरहेकै छ र त्यसको सिको गरेझैँ आज पनि ठूला भनिनेहरुले आफूलाई अरुभन्दा माथि ठान्ने सोच कायमै छ ।

त्यसैले तल्लो तहले पनि अनुशासनहीन बनेर आत्मघाती सिको गर्ने कुरा सर्वथा गलत हुन्छ । आजको संगीन परिस्थितिमा आफू सुरक्षित रहन गर्नुपर्ने सबै विधि अपनाउनु बुद्धिमानी हुन्छ । सबैले आफ्नो सुरक्षामा ध्यान पुर्‍याउनु नै सबैको सुरक्षामा सहयोग गर्नु हो । हाम्रोमा जहिले पनि आफूले गर्न नसकेपछि अरुलाई दोष दिने चलन छ ।

यस्तो चलन सत्ताधारीदेखि तल सर्वसाधारणसम्म कूसंस्कार बनेर रहेको हुँदा अपजस लिन सित्तिमित्ति कोही चाहँदैन । यस्तो नियत रहुञ्जेल आफूलाई सच्याउन र सुधार्न सम्भव छैन । हामीले सुनिरहेका छौँ, आजको अवस्था आउँदा कहाँ कसको कसरी कमजोरी भयो ? विरामीले सामान्य उपचार नपाउँदा सरकारको स्वास्थ्य संयन्त्रप्रति प्रश्न उठाउन नपाइने, समयमा मल, वीऊ र आवश्यक सामग्री उपलब्ध नहुँदा कृषिमन्त्री कसैलाई औँला देखाएर जिम्मेदार भइहाल्ने हो भने के कुनै तन्त्रको अर्थ रहन्छ ?