Goraksha

National Daily

समानता र समताका कुरा

मनोज पौडेल

दशकौँदेखि हामी समानताका कुरा गरिरहेका छौँ, अधिकारका कुरा गरिरहेका छौँ, विभेद र वहिष्करणका विरुद्ध आवाज उठाइरहेका छौँ तर ती उठेका आवाजहरुले जति परिवर्तन आजसम्म हुनुपर्ने थियो त्यो परिवर्तन देखिएको भने अवश्य पनि छैन । किनकि हामी जहिल्यै सतहमा बग्यौँ । हाम्रो विश्लेषण, हाम्रा कार्यक्रम, हाम्रो चिन्तन कहिल्यै वृहत हुन सकेन । हामीलाई वास्तवमा समानता चाहिएकै होइन, समता चाहिएको हो ।

किनकि जहाँ समानता हुन्छ त्यहाँ न्याय नहुन सक्छ तर जहाँ समता हुन्छ त्यहाँ न्याय पक्का हुन्छ । साधारण र सजिलो भाषामा भन्दा मैले घरमा एउटा कुकुर र एउटा राँगो पालेको छु, मैले खानाको रुपमा दुवैलाई सधैँ बराबर घाँस दिएँ भने कुकुर कमजोर हुने र मर्ने पक्का छ । किनकी उसको लागि घाँस दिनु र नदिनुको औचित्य छैन ।

त्यस्तै यदि दुवैलाई मासु दिन्छु भने राँगो कमजोर हुन्छ र मर्छ । हो न्याय र अधिकार, समानताका कुरा गर्दा त्यो कुरा समतामुखी छ कि छैन त्यसलाई विशेष ध्यान दिनुपर्ने देखिन्छ र त्यो मानिसको अवस्था, चिन्तन, समाज, परिवेश, पहुँच, शिक्षा, आर्थिक स्थिति, भुगोल, सभ्यता-संस्कृति, परम्परा, सामाजिकीकरणमा निहित रहन्छ । वास्तविक कुरो त के हो भने गहूँमा मिसिएको धानलाई केलाउन सकिन्छ तर त्यो धान मिसिएको गहूँ पिसिसकेपछि अब धान केलाउन सम्भव हुँदैन ।

समानताको कुरा गर्दा जसलाई हामीले दिइरहेका छौँ उसलाई त्यो ग्रहण गर्न योग्य छ कि छैन भन्ने र त्यस कुराले उसलाई समान भावनाको विकास गर्छ कि गर्दैन ? वा कहिलेकाहीँ मेरो नजरमा कसैलाई दिइएको समान व्यवहार उसको लागि पीडादायक त छैन भन्ने कुराको ख्याल गर्नुपर्ने हुन्छ । चाहे त्यो परिवार, समाजको कुरा होस् वा राष्ट्रको । उदाहरणको लागि हाम्रो घरमा हामी सबै काम मिलेर गर्छौँ । म सरसफाईको काम गर्छु, छोरीको रेखदेख, पढाउने, रमाइलो गर्ने र खाना बनाउने, उनी कपडा धुन्छिन् र भाँडा माझ्छिन् ।

उनीलाई मैले भाँडा माझेको र कपडा धोएको कुरा मन पर्दैन र सँगै मिलेर गर्न खोज्दा रिसाउँछिन् । यदि कसैले मेरो श्रीमतीले परिवारका सबै सदस्यको कपडा धोएको र उनको नजिकै म बसेर हाँस्दै गफ गरिरहेको देख्यो भने के भन्छ होला ?… कस्तो श्रीमान् रहेछ अलिकति सहयोग त गर्नु पर्छ..? भन्ने मानिसलाई के थाहा हामी एकअर्कालाई काममा सहयोग होइन समझदारीले आफू अनुकूल कार्य गर्छौँ र समतामा विश्वास गर्छौँ ।

कहिलेकाहीँ समानता हामीले अनुभव गरेभन्दा फरक हुन्छ । सबैले समान होइन सबैले आफूलाई सहज हुने कुरा गर्नुपर्ने हुन्छ र जुन कुरामा सहज हुँदैन त्यो कुरा मिलेर गर्नुपर्ने हुन्छ । किनकि घरपरिवार हामी सबैको हो, समान जिम्मेवारी र कर्तव्य छ हाम्रो र समाज परिवारको बृहत रुप मात्र त हो नि ।

सबै बुझाई र सोचाईको कुरा हो । मैले तीज नजिकिँदै गर्दा सामाजिक सञ्जालमा धेरै स्टाटस देखेँ, जसले महिलाहरुको अधिकारको कुरा त गरेको थियो तर उनीहरुको भावनामा ठेस पुर्‍याएको थियो । अधिकारका कुरा गर्दा कसैको मनोभावनामा ठेस पर्‍याउनु भनेको मानसिक मात्र नभएर सामाजिक हिंसा पनि हो । हिंसा गर्नको लागि भौतिक रुपमै चोट पुर्‍याउन आवश्यक छैन ।

यसैगरी एसइई परिणाम पश्चात विद्यार्थीहरुको परिणामलाई लिएर पनि त्यस्तै देखिन पाइयो । यसमा विशेष गरेर दुई किसिमका अभिव्यक्तिहरु देखिए । एउटा बधाईको र अर्को आश्चर्य र उत्तीणर् विद्यार्थीको नतिजामाथिको कटाक्ष ।

दुवै किसिमका अभिव्यक्ति मलाई गलत लाग्यो, जसले कहीँ न कतै विद्यार्थीलाई हतोत्साहित गर्ने र उनीहरुको बालमनोविज्ञानमा नकारात्मक असर पारेको, केही अभिभावकहरुलाई पनि पीडा प्रदान गरेको महशुस मैले मेरो नजरबाट गरेँ । के कसरी खुलाउन जरुरी छैन, बुझ्नेलाई इसारा काफी छ । दुःखको कुराको त के भने आफूलाई विद्वान, जानकार, अधिकारकर्मी भन्नेहरुबाट पनि ती कुराहरु देख्न र सुन्न पाइयो ।

हामी सबैले जान्नुपर्ने, मनन् गर्नुपर्ने र अँगाल्नु पर्ने कुरा के हो भने मैले मेरो अधिकारको प्रयोग गर्दा अरुको भावनामा ठेस् लाग्न भएन, अधिकार हनन् हुन भएन, सबैको अधिकारको सम्मान गर्न सक्नुपर्छ । अधिकारको साथ कर्तव्य र जिम्मेवारीको बोध हुन जुरुरी छ ।

मेरो कोठामा वुफर छ, मलाई संगीत ठूलो आवाजमा सुन्न मन पर्छ भनेर पल्लो कोठामा बसेको विद्यार्थीको पढाई डिस्टर्व हुने गरी बजाउन त भएन नि ! म मेरो हात-खुट्टा फन्नाउन जति पनि स्वतन्त्र छु, मेरो अधिकारको कुरा भनेर कसैलाई हिर्काउन त मिलेन नि ! राजमार्ग मेरो पनि हो भनेर यसमा मेरो पनि समान अधिकार छ भनेर बीच सडकबाट हिड्न त मिलेन नि ! स्मरण रहोस् हाम्रो अधिकार त्यति समय र स्थानका लागि हो जति समय र स्थानले अरुको अधिकार हनन् गर्दैन, यदि गर्छ भने त्यो पनि एउटा अपराध हो । यस कुरामा हामी सबै सचेत हुने मात्र होइन जीवनमा सम्भव भए जति अवलम्बन गर्न पनि जरुरी छ ।

मैले केही अधिकारकर्मीहरुलाई विषयको मूलमर्म र प्रस्थान भन्दा पर शब्द छनोटमै बढी केन्द्रित भएर विवाद गरेको भेटेको छु । हो, सबैको शब्द छनोट राम्रो हुनुपर्छ, सम्मानजनक हुनुपर्छ, हामीले प्रयोग गरेका शब्दले कसैलाई चोट वा आहत पुर्‍याउनु हुँदैन, ती विषयमा त हेक्का राख्नुपर्छ । जसले राख्दैन उसलाई त म पनि मानिसको समूहमा राख्दैन । किनकि ती मानवता शून्य हुन् । तर कतिपय यस्ता शब्दहरु पनि छन् जसको प्रयोगले कसैलाई सामाजिक वा वैयक्तिक रुपमा आँच पुर्‍याउने, मनोविज्ञानमा असर पार्ने वा आपत्तिजनक छैनन् ।

ती कुरामा पनि बढी चासो र विवाद किन ? यी कुरा देख्दा हामी सतहमा धेरै बग्यौँ कि ? यसले हामी कहिल्यै गहिराईसम्म पुग्न सक्दैनौँ भन्ने मेरो ठम्याई हो । कुनै सन्दर्भमा शब्द भन्दा भाव ठूलो हुन्छ । जान्नुपर्ने कुरा के हो भने मीठो बोली र उचित र सम्मानजनक शब्दले पनि गाली गर्न, होच्याउन र पीडा दिन त सकिन्छ नि होइन र ? यदि हो भने शब्दको सतही बहसमा अल्झिएर समता, समानता र न्यायका कुरालाई गौण नबनाऔँ ।

मेरा यी विचार हेर्दै र पढ्दै गर्दा कतिपयलाई लाग्न सक्छ के भनेको होला ? त्यसो भए के त, जे बोले पनि हुन्छ ? …हुँदैन तपाईले बोल्ने हरेक शब्द सम्मानजनक हुनुपर्छ, आपत्तिजनक हुनु हँुदैन तर पनि त्यही शब्द छनोटको विषयलाई लिएर स्तरीय त यो हो, यो होइन भनेर बहस गर्नु त्यति उचित होइन कि भन्न मात्र खोजेको हो ।

हामीले बोल्दा, कुनै कार्य गर्दा, अभिव्यक्ति प्रकट गर्दा कसैको मान-सम्मानमा आहत नपुगोस्, हाम्रा शब्द तथा अभिव्यक्तिले लैङ्गिक, जातीय, शारीरिक तथा साम्प्रदायिक विभेद नगरोस् । कसैको मनोविज्ञानमा दखल नपुर्‍याओस, कसैलाई हतोत्साहित नगरोस्, आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन् नहोस् ।

यो आकाश र पृथ्वी, यो राष्ट्र हामी सबैको हो, सबैलाई समता र न्यायको अनुभूति मिलोस् । हामी सबै आफ्ना कर्तव्य र अधिकार पूरा गरी आफ्नो अधिकारका लागि संघर्ष गरौँ, समानता, समता र न्यायका लागि आवाज उठाऔँ, वेथिति विरुद्ध लडौँ ।