Goraksha

National Daily

आज अट्वारी : थारू समुदायमा पुजिदै भीम

अमरराज आचार्य
दाङ, ७ भदौ । ‘हामी आशावादी छौँ कि फेरि पनि असत्यमाथि सत्यको विजय हुने छ, त्यसैले परम्परालाई जोगाइराख्न म पनि ब्रत बसेको छु’—दंगीशरण गाउँपालिकाका वडाध्यक्ष पूर्ण चौधरीले भन्दै थिए– ‘किनकि यो एउटा सांस्कृतिक जागरण पनि हो ।’

वडाध्यक्ष समेत रहेका थारू अगुवा पूर्ण चौधरीले यसो भनिरहँदा आधुनिक शिक्षा र आधुनिक इञ्जिनियरिङलाइ नै धावा बोल्ने थारू समुदाय भने अट्वारी पर्वको दर खाने तयारीमा छन् । सम्भवतः शनिवार राति भाले नबासुञ्जेल उनीहरुले अट्वारीको दर खाने चलन पनि छ ।

किन भीमलाई पूजा गर्न थालियो ? पूर्णले भनेका छन्– ‘किनकि दाङमा कुनै परापूर्वमा दानवको राज्य थियो, दानवको निरंकुशतालाई हटाउन पञ्च पाण्डवमा सर्वशक्तिमान भीमले आइतवार ब्रत बसे अनि दानवलाई हराए, ब्रत बसेपछि खाने रोटी तावामा होलेकैबेला दानाव आएपछि उसलाई परास्त गर्न भीम वनसम्म पुगे, जुनबेला भान्सामा उनले एउटा रोटी बसाएका थिए ।’ दानवको अन्त्य गरेपछि घर फर्कंदा पनि त्यो रोटी फर्काइएको थिएन, र जलेको पनि थिएन । त्यसैले थारू समुदायले एकोहोरो रोटी भीमलाई चढाउने परम्परा रहि आएको छ ।

रोटी हालेर भीम माछा मार्न गएका थिए । त्यसैले थारू समुदाय पनि अट्वारीमा माछा मार्न खोलामै पुग्छन् । किनकि भीमको आदर्शमा थारू समुदायलाई पूरै विश्वास छ । त्यसैले अट्वारीको दर स्वरुप उनीहरुले दूध, दही, माछा, मासु, सुँगुरलगायतका पौष्टिक आहार जुटाउँदै छन् । त्यसपछि उनीहरुले दर खाइसकेपछि सम्भवतः सोमवार छोरी चेलीहरुलाई सगुन लगिदिने चलन पनि छ । यद्यपि लकडाउनले यो काम भने रोकिएको छ । किनकि कोरोना भाइरसको प्रभाव यहाँ पनि लागू हुने छ ।

थारू समुदायको अट्वारी पर्व गैन्यारीसँग पनि जोडिएको छ । वनमा पाइने एक प्रकारको काठलाई रगडेर निकालिएको आगोले पकाएको पक्वान्न खाने संस्कार पनि अझै छ । तर कहीँकतै सांस्कृतिक विचलन पनि भएको छ । अहिले त आधुनिक परिकार मगाएर चेलिबेटीकोमा जाने परम्परा पनि रहेको पूर्णले बताए ।

यसैबीच अट्वारी पर्व आम थारू समुदायको असत्यमाथि सत्यको विजयको पर्वका रुपमा रहेको दाङका थारू अगुवा नेता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले बताएका छन् । अघिल्ला वर्षमा अट्वारी पर्वकै विषयमा केही झिनामसिना विवाद भए पनि ५ नम्बर प्रदेशले यसलाई सहजीकरण गरेको भन्दै सार्वजनिक बिदा दिएकोमा धन्यवाद समेत व्यक्त गरेका छन् । ‘यो पर्वले हामीलाई एउटा शक्ति दिने छ, जुन शक्तिले असत्यलाई हराएर सत्यलाई विजयी बनाउने छ’—कांग्रेस नेता चौधरीले भने । थारू समुदायले मिहिनेत बाहेकको अतिरिक्त लाभ लिने प्रवृत्ति नै नभएको भन्दै श्रमिकको मूल्य ल्याउनका लागि पनि यो पूजा भएको उनको अभिव्यक्ति थियो ।

थारू समुदायमा आज आइतवार अट्वारी पर्व परेको छ । अट्वारी पर्व मनाउन थारू समुदायमा शनिवार तयारी गरिएको थियो । कृष्ण जन्माअष्टमिपछिका दुई आइतवार अर्थात् कुशेऔंसीपछि पर्ने अट्वारी पर्व थारू समुदायले प्राचीनकालदेखि मनाउँदै आएका छन् । थारू समुदायले ‘माघी’पछि दोस्रो ठूलो पर्वको रूपमा अट्वारीलाई मनाउने गरेको थारू अगुवाहरुले बताएका छन् ।

थारू वाहुल्य क्षेत्र दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेतलगायतका क्षेत्रमा बसोबास गर्दै आएका थारू समुदायले दुई दिन अट्वारी पर्व हर्षोल्लासपूर्वक मनाउने गर्छन् । अष्टिम्कीमा महिलाहरू मात्रै ब्रत बस्छन् भने अट्वारीमा पुरुषहरु मात्रै ब्रत बस्ने प्रचलन रहेको थारू बुद्धिजीवी लक्ष्मीमान चौधरीले बताए ।

अट्वारी पर्व दाजुभाई तथा दिदीबहिनीहरुबीचको सद्भावको पर्व रहेको थारू बुद्धिजीवी चौधरीले बताए । ‘यो पर्व भाइबहिनीबीचको सद्भाव, आत्मीयताको पर्व हो’ उनले भने । पहिले मनाइने अट्वारीभन्दा पछिल्लो समयमा परिवर्तन भएको उनको भनाई रहेको छ । अट्वारीका लागि सम्पूर्ण तयारी शनिवार नै सकिएको थारू अगुवा चौधरी बताउँछन् । आइतवार बत बस्ने भएकाले अघिल्लो दिन दर खाने प्रचलन रहेको थारू अगुवाहरुको भनाई रहेको छ ।

पछिल्लो समयमा समयको परिवर्तनसँगै पर्व मनाउने प्रचलन पनि परिवर्तन हुँदै गएको बताइएको छ । अघिल्लो वर्षमा जस्तो यस वर्ष अट्वारीमा उल्लास नरहेको थारू पत्रकार संघका केन्द्रीय अध्यक्ष सन्तोष दहितले बताए । कोरोना भाइरसको बढ्दो संक्रमणको कारण सुरक्षित भएर मनाउनुपर्ने उनको भनाई छ । ‘पर्व मनाउँदा पनि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षा अपनाएर मनाउनुपर्ने अवस्था रहेको छ’–दहितले भने ।

दाजुभइले आफ्ना नजिकका चेलिबेटीलाई लगिदिने कोशेली (अग्रासन) लगेर जान पनि समस्या रहेको दहित बताउँछन् । ‘टाढा रहेका दिदीबहिनीहरुसम्म जान पनि समस्या रहेको छ’–दहितले बताए ।

अट्वारीको पहिलो दिन

अट्वारीको अघिल्लो रात अर्थात् शनिवारको दिन दर खाने चलन छ । त्यसपछि आइतवारको दिन ब्रत बसेकाहरूले बेलुकी पख नजिकै जलाशयमा गएर स्नान गर्ने गर्छन् । स्नानपछि बैठक कोठामा गाईको गोबरले लिपपोत गर्छन् । त्यसपछि ब्रत बसेका पुरुषहरूले गैन्यारी जातको काठमा काठ रगडेर आगो बालेपछि त्यसैले खाना पकाउने चलन छ । तर पछिल्लो समयमा सलाईको प्रयोग समेत गर्न थालिएको छ । त्यो आगोले सुरूमा अलि ठूलो आकारको भ्यावाँ रोटी एकातर्फ मात्रै पकाउने चलन छ ।

महाभारतका एक साहसिक पात्र भीम दंगीशरण राजाको दरबारमा शत्रुले आक्रमण गरेको खबर पाए लगत्तै भर्खरै रोटी पकाउँदै गर्दा सहयोगका लागि दौडिएर पुगेको किम्बदन्ती अनुसार त्यसैको प्रतीकको रूपमा पहिलो रोटी भ्याँवा एकतर्फी रूपमा पकाउने प्रचलन रहेको थारू अगुवाहरुको भनाइ रहेको छ । यो रोटी पकाइसकेपछि मात्रै अन्य विभिन्न प्रकारका रोटी पकाउने गरिन्छ । खाना तयार भएपछि दादुभाइले दिदीबहिनीका लागि आफ्नो खानाबाट अग्रासन वा केही भाग छुट्याउने र उनीहरुको घरसम्म पु¥याइदिने गर्दछन् ।

अट्ेवारीको दोस्रो दिन ब्रत बसेकाले विहान सवेरै उठेर नजिकै खोलामा गएर नुहाउँछन् । नुहाइसकेपछि बैठक कोठामा पुनः लिपपोत गर्छन् । ३ वा ७ थरिको तरकारी र भात पकाएपछि अट्वारीको पहिलो दिनझैँ सबै पकाएको खानाबाट आधा भाग निकाल्ने गर्छन् । जसलाई थारू भाषामा ‘कहार्ने’ भन्ने गर्छन् । भीमको नाममा सबै तरकारी र खानाबाट एक÷एक गास निकालेर आगोमा पूजा गरिन्छ । पूजा सकिएपछि मात्रै घरको मूल सदस्यले सबैलाई खान दिने गर्छन् ।

अट्वारीमा सार्वजनिक बिदा
प्रदेश नं. ५ सरकारले थारू समुदायको बड्का अट्वारी पर्वका अवसरमा भदौ ७ गते सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै भदौ ७ गते सार्वजनिक बिदा भएको जानकारी दिएको जनाएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय सहसचिव माधवराज मरासिनीले सूचना जारी गर्दै थारू समुदायको बड्का अट्वारी भदौ ७ गते परेकोले सोही दिन सम्बन्धित समुदायलाई सार्वजनिक बिदा दिएको जानकारी दिएका हुन् । प्रदेश सरकार (मन्त्रिपरिषद्का) २०७७ बैशाख १० गतेको निर्णयानुसार दाङ, बाँके, बर्दिया जिल्लामा सम्बन्धित समुदायका लागि सार्वजनिक बिदा दिएको उनले जानकारी दिए ।

हरेक वर्ष कृष्णजन्माष्टमि अर्थात अष्टिम्की पछिको दुई आइतवार अर्थात कुशेऔँसीपछिको पहिलो आइतवार अट्वारी मनाउँदै आएकोले यस वर्षको भदौ ७ गते थारू समुदायले अट्वारी मनाउन लागेका हुन् । थारू समुदायले अट्वारीमा बिदा दिन माग गर्दै आएका थिए ।

सरकारले अट्वारीमा बिदा दिएर आदिवासीको सम्मान गरेको थारू पत्रकार संघका केन्द्रीय अध्यक्ष सन्तोष दतिहले बताए । ‘राज्यले नै बिदा दिएपछि थारू समुदाय खुशी भएका छन्’–उनले भने । थारू वाहुल्य रहेका स्थानीय तहहरुले पनि सबैलाई सार्वजनिक बिदा दिएका छन् ।

फाइल फोटो