Goraksha

National Daily

अपाङ्गता भएकालाई ह्विलचियर

गोरक्ष समाचारदाता
दाङ, ४ भदौ । नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी शाखाले दुईजना अपाङ्गता भएका व्यक्तिहरुलाई ह्विलचियर प्रदान गरेको छ ।

घोराही उपमहानगरपालिकाको सहयोगमा केन्द्रले दुईजना अपाङ्गता भएका व्यक्तिहरुलाई ह्विलचियर सहयोग गरेको केन्द्रका कोषाध्यक्ष बसन्तराज भट्टले जानकारी दिएका छन् ।

उनका अनुसार शारीरिक अपाङ्गता भएका घोराही उपमहानगरपालिका–१० नारायणपुर निवासी पवित्रा बस्नेत र घोराही–१७ निवासी सरधनी चौधरीलाई ह्विलचियर सहयोग गरेको हो ।

२०५४ सालमा स्थापना भएको केन्द्रले अपाङ्गता भएका व्यक्तिहरुलाई आवासीय रुपमा राख्नेदेखि उनीहरुको क्षमता विकासका लागि विभिन्न प्रकारका कार्यक्रम तथा तालिम समेत चलाउँदै आएको छ ।