नेकपा (एमाले) निर्वाचन आयोगमा दर्ता
काठमाडौं, ३ भदौ । नेकपा (एमाले) निर्वाचन आयोगमा बुधबार विधिवतरुपमा दर्ता भएको छ । यसअघि सो दलको निवेदनलाई लिएर नेकपाभित्र विवाद चुलिएको थियो ।
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच २०७५ जेठ ३ मा एकता भएपछि एमाले अस्तित्वमा नभएका बेला बिराटनगर ६, मोरङ स्थायी घर रहेकी सन्ध्या तिवारीको अध्यक्षतामा सो दल दर्ताका लागि गत असार १६ गते निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको थियो । २१ सदस्यीय केन्द्रीय कार्यसमिति रहेको
सो दल निर्वाचन आयोगमा बुधबार दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार सो दललाई तत्कालका लागि दर्ता प्रमाणपत्र प्रदान गरिएको छ । राजपत्रमा प्रकाशित भएपछि आधिकारी प्रमाणपत्रपछि उपलब्ध गराइने उनले जानकारी दिए । यसअघिको नेकपा (एमाले) को निर्वाचन चिन्ह ‘सूर्य’ रहेको थियो । त्यो चुनाव चिन्ह नेकपाले लिएको छ । तर अहिलेको नेकपा (एमाले) दलले ‘पहाडबाट उदाउँदै गरेको सूर्य’ निर्वाचन चिन्हका लागि आयोगमा पेश गरेकोछ ।
निर्वाचन आयोगमा दल दर्ताको निवेदन परेपछि सबै प्रक्रिया पुर्याएर आयोग बैठकले निणर्य अनुसार दल दर्ता गरिएको प्रवक्ता श्रेष्ठले बताए । नेकपा सचिवालय बैठकमा दल दर्ताको विषयलाई लिएर टिकाटिप्पणी भएको थियो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई एमाले दल दर्ता गर्न आदेश दिएको आरोप लगाएका थिए ।
अध्यक्ष प्रचण्डको सो आरोपपछि केही दिन नेकपाको स्थायी कमिटी बैठक नै प्रभावित हुन पुग्यो । अहिले नेकपाले साउन ३० गते ६ सदस्यीय कार्यदल गठन गरेर समस्याको आन्तरिक समाधानको गृहकार्य गरिरहेको छ ।
