राष्ट्रकवि प्रति
विनोद पोख्रेल
नेपालीको गीत गाउने
नौलाख बढी प्रीति लगाउने
काँगढा र टिष्टासम्म
हाम्रै भनी कराउने
ज्योतिको पंख उचालेर
बुद्ध जन्मेको सम्झाउने
श्रृष्टिको बिहान शुरु भएको
यसै ठाउँमा सधै रमाउने
चौपारीमा बरपिपलका
महाबृक्ष सधै जगाउने
हाम्रो राष्ट्रका शत्रुहरू कन
घोडाको टापको आवाजले
थर थर पारी थर्काउने
गौरीको गीत गाउँदै गर्दा
बालककी आमा मार्नेसँग
ठिक भएन भन्दै तर्क गर्ने
ढोकामै उभिएर मालतीलाई
ढोका खोल्न बिन्ति गर्ने
एउटा सधैको तन्नेरी बनी
सय बसन्त पार गरेर
सुटुक्क महाप्रस्थान गर्यो रे !
अब उ कहिले आउने छैन
हाम्रा गीत अब गाउने छैन
नौलाख प्रिति लाउने छैन
टिस्टा अब आउने छैन
आकाश आज रोएको छ
प्रकृति आज ठूस्स परिछ
सायद आफ्नो प्रेमीलाई
नचाहेर विदा गरिछ
आफ्नो नियमसँग आज
प्रकृति आफै दिक्क परिछ
यात्री हिड्यो अब आफ्नो बाटो
उसलाई अब के चाहिन्छ र !
उ विना पनि नेपाल रहला
तर उस्तै गीत अव गाइन्छ र !
