आज दर खाने दिन : कोरोनाको कहर सँगसँगै तीजको दर
बालाराम खड्का
तुलसीपुर, ३ साउन । आमाले पकाएको मिठो दर खानलाई….। सम्भवतः धेरै पहिलोपटक एक त्रासका बीच पर्वहरु मनाउन बाध्य बनेका छन्, चेलीहरु । जिल्ला बाहिर विहे भएका चेलीहरुका लागि त यो भाग्य पनि जुरेको छैन । कतिपय पालिकाहरुले दरखाने कार्यक्रम र नाचगान कार्यक्रमलाई समेत रोक लगाइसकेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ को महामारीको कहरबीच तीज पर्व दैलोमै आइपुगेको छ ।
एकातिर कोरोना भाइरसको जोखिम छ भने अर्कोतिर नेपालीहरुका महान चाडहरु धमाधम आइरहेका छन् । महिलाहरुको महान पर्व तीज आउन अब एक दिनमात्र बाँकी रहँदा यहाँका बजारहरुमा भने भीडभाड छ । कोरोनाको कहर सँगसँगै तीजको लहरसँगै किनमेल गर्न बजारमा आउनेहरुको हुल भने अत्याधिक छ ।
कतिबेला संक्रमित हुने भन्ने जोखिमलाई भीडभाडले भने वास्ता गरेकै देखिन्न । ‘एकातिर कोरोनाको कहर छ भने अर्कोतिर तीजको रहर छ, कहर र रहरबीच पनि तीजका लागि सामग्री गरिद गर्नेहरुको भीड निकै छ’, स्थानीय एक व्यवसायीले भने । बजारमा हाल खासगरी कपडा, श्रृंगार तथा खाद्यान्न पसलहरुमा बढी भीड लाग्ने गरेको छ । बर्ष दिनमा आएको पर्वमा कोरोनाको कहर हुँदाहँुदै पनि आफ्ना आफन्तलाई लत्ता-कपडा किन्ने घुइँचो लाग्ने गरेको छ ।
‘परम्परागतरुपमा चल्दै आएको तीजमा नयाँ कपडा किन्ने चलन अझै कायमै छ, हामी पनि छोरी बहिनीका लागि कपडा किन्न भनेर आएका हौं’, तुलसीपुरको एक कपडा पसलमा कपडा किन्दै गरेकी फूलवारीकी एक महिलाले भनिन् । कोरोना भाइरसको संक्रमण बढिरहे पनि आफूहरुले सुरक्षाको सबै कुरा अपनार बजारमा किनमेल गर्न आएको उनको भनाइ थियो । त्यसैगरी बजारका सबै पसलहरु हाल भरिभराउ हुने गरेका छन् ।
प्रशासनले सभा गोष्ठी, सम्मेलन र भीडभाड नगर्न भने पनि सभा, गोष्ठी र सम्मेलन नभए पनि बजारमा किनमेलमा आउने मानिसहरुको भीड भने धेरै लाग्ने गरेको स्थानीय निमबहादुर श्रेष्ठले बताए । ‘करिब ३ महिना थलिएको बजारमा भीडभाड धेरै छ’, उनले भने । यस बर्ष कोरोनाका कारण दरखाने र रमाइलो गर्ने परम्परा भने कम भएको छ ।
पर्वलाई लक्षित गरेरै स्थानीय प्रशासनले जिल्लाभरी ५ दिनका लागि रात्रि कफर््यू समेत जारी गरेको छ । सानो-सानो समूहमा आफ्ना आफन्तीले मिलेर दर खाने, रमाइलो गर्ने गरे पनि कार्यक्रमै आयोजना भने भएको छैन । ‘कोरोनाको संक्रमणका कारण दर खाने, तीज मिलन कार्यक्रम स्थगित भएका छन् तर स्वास्थ्य सजगता भने त्यति छैन’, मुना गुरुङले भनिन् ।
संक्रमणबाट बच्न सामाजिक दूरी कायम गर्नुपर्ने भने पनि बजारदेखि कार्यालयसम्म त्यसको पालना भने भएको पाइँदैन । चाहे त्यो सरकारी कार्यालय होस् वा अन्य कार्यालयहरु नै किन नहोस्, सामाजिक दूरी कायम नभएको स्थानीयहरु बताउँछन् । ‘पहिलो कुरा जीवन बचाउने हो जीवन बाँचेपछि चाडपर्व त पछि मनाए पनि हुन्छ’, स्थानीय यमनारायण वलीले भने । उनले यसरी सामाजिक दूरी कायम नहुँदा संक्रमण बढ्ने समेत बताए ।
आज दरखाने दिन । लामो समयसम्मको लकडाउनपछि फेरि नेपालीहरुको महान चाड तीज नजिकिँदै गर्दा दर खान चेलीहरु माइत जाने तरखरमा छन् । दिनभरजसो सडकमा निजी कार- जीप तथा मोटरसाइकलको भीडभाड निकै बढेको छ । करिब ५ महिना लकडाउनका कारण माइत जानसमेत रोकिएका चेलीहरु बुधवारै बावुको मुख हेर्ने क्रममा माइत पुगिसकेका छन् । ठूलो परिवारमा धेरै जमघटसमेत शुरु भएको छ । जिल्ला बाहिर रहेका चेलीहरुले भने फोनबाटै बाबाको आशीर्वाद लिए ।
एक जिल्लाबाट अर्को जिल्लामा सहज यातायात सेवा नभएकाले फोनबाटै चित्त बुझाउनु परेको छ । सार्वजनिक यातायातका साधनमा पनि अघिल्लो दिनभन्दा केही बढी यात्रुहरु देखिएको सवारीधनीले बताएका छन् । सामाजिक दूरी कायम गरेरै मास्क अनिवार्य लगाएर मात्र गाडी प्रवेश गर्न दिइएको एक सार्वजनिक बसका सहचालकले बताए । यद्यपि आधा यात्रु बोकेर गाडी गुडाएको दृश्य भने कहिँकतै देखिएन । मास्क नलगाउनेहरु पनि केहीले बसमा यात्रा गरिरहेका देखिन्थे । परिचालक र सहचालकले प्रहरी चेकिङ भएको स्थानमा मात्र यात्रुहरुलाई मास्क लगाउन सुझाइरहेका देखिन्थे ।
सुन पसलहरु भने सुन्सान
महिलाहरुको महान चाड तीज पर्व नजिकिएको एक सातासम्म निकै भीडभाड हुने सुनपसलहरु यो बर्ष भने सुनसान अवस्थामा छन् । कोरोनाको कहरले सुन लगाउने रहरलाई गुमनाम पारिदिएको छ । कोरोनाको कहरसँगै आर्थिक समृद्धिमा समेत कोरोनाले धक्का पुर्याएपछि यस्ता गहना पसलहरुमा भीडभाड निकै कम देखिएको व्यवसायीहरुले बताएका छन् । तुलसीपुर सुनचाँदी व्यवसायी समितिका अध्यक्ष मदन केसी यस बर्ष सुनको कारोबार कम भएको बताए । उनले सुन पसलहरु सुनसान भएको बताए । सुनको भाउ एकाएक बढेकाले गत बर्षजस्तो व्यापार नभएको व्यवसायी ललितकुमार गुप्ताले जानकारी दिए । सुन तोलाको १ लाख १४ सय पुगेसँगै फाटफुट ग्राहक आउने गरेको उनले बताए । ‘सुनको व्यापार न्यून छ, गतबर्ष जस्तो छैन सुनको भाउ आकाशिएकाले होला’, उनले भने । यसअघिका दिनमा बजारमा सुन पसलहरु भरिभराउ हुने गरेका थिए । भाउ बढेसँगै कोरोनाको कहरले हातमुख जोर्नसमेत मुस्किल भएको समुदाय गहना लगाउने शोखमा पनि छैनन् ।
