Goraksha

National Daily

बंगलाचुली गाउँपालिकाद्वारा तीजमा भिडभाड तथा नाचगान गर्न रोक

कमिरेचौर,२ भदौ । बंगलाचुली गाउँपालिकाले यस वर्षको हरितालिका तीजको दिन नाचगान ,भिडभाड गर्न रोक लगाउने निर्णय गरेको छ ।

गाउँपालिकाका ८ वटै वडाका गाउँवस्तिमा तीज तथा पञ्जमिका दिन हुने भिडभाड तथा नाचगान जस्ता कार्यलाई पूर्ण रुपमा रोक्नका लागि गाउँपालिकले सबै वडाहरुलाई पत्राचार गरेको बंगलाचुली गाउँपालिकाले जनाएको छ ।

बंगलाचुली गाउँकार्यपालिकाको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले जानकारी दिएका छन् ।

बैठकले दाङ जिल्ला संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले गरेको निर्णयलाई पनि गाउँपालिकामा लागु गर्ने भएको छ । सिसिएमसीले भदौ १ गतेदेखि ८ गतेसम्म बेलुका ७ बजेदेखि विहान ५ बजेसम्म जारी गरेको निषेधआज्ञालाई बंगलाचुली गाउँपालिकामा पनि पूर्णरुपमा पालना गराउने निर्णय गरेको हो ।

बंगलाचुली अध्यक्ष वलीले यो वर्षको तीज सबैलाई घरमै बसेर मनाउन, भिडभाड तथा नाचगान जस्ता कार्य नगर्न आग्रह गरेका छन । अध्यक्ष वलीले कोरोना भाईरसको जोखिम बढि रहेकाले सबै नागरिकको स्वास्थ्य रक्षाका लगि स्थानीय सरकार सधै गम्भिर रहेको समेत बताएका छन ।

स्थानीय सरकार जनताको स्वाथ्यप्रति सधै चिन्तित र गम्भिर भएको छौँ । जताले पनि स्थानिय सरकारलाई साथ दिन आवश्यक छ । अध्यक्ष वलीले महामारीको समयमा परिवारमै बसेर सुरक्षित तवरले चाडपर्वमनाएमा महामारीको जोखिम कम हुने हुँदा सबैलाई सजग हुन आग्रह गरेका हुन ।