Goraksha

National Daily

ओली-देउवा भेट

बाढी-पहिरो र कोरोनाबारे गम्भीर बन्न सरकारको ध्यानाकर्षण
गोरक्ष समाचारदाता
दाङ, १ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी पहिरो, कोरोनालगायतका बिषयलाई गम्भीरतापूर्वक लिएर काम गर्न पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा बालुवाटारमा भेट गरेका थिए । कतिपय संवैधानिक नियुक्तिहरुबारे प्रधानमन्त्रीले विपक्षी दलको नेताका रूपमा सभापतिसँग परामर्श गरेका थिए । त्यसैक्रममा देउवाले समसामयिक सवालहरूमा सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘सिन्धुपाल्चोकको जुगल गापाको लिदीमा पहिरोमा परेर दर्जन बढी जनताको ज्यान गएको छ र कयौं बेपत्ता छन् । गाउँबासीले दश दिन अघिदेखि नै गुहार गर्दा पनि तिनलाई सुरक्षित स्थानमा सार्न सरकारले ध्यान नपुर्‍याउनु अत्यन्तै दुःखद् भएको छ’, भेटवार्तामा सभापति देउवाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै भनेका छन्- ‘यति गम्भीर गल्तीको जवाफदेहिता सरकारले लिनुपर्छ कि पर्दैन ?’ देशको अन्य विभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति हुँदासमेत सरकारको भूमिका सन्तोषजनक नदेखिएको भन्दै देउवाले ब्यवस्थित र प्रभावकारी ढंगले कार्य गर्न आग्रह गरेका छन् ।
कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघेको छ र संक्रमण तीब्र गतिमा विस्तार भएको सन्दर्भमा पनि सरकारको ध्यानाकर्षण गराउँदै बढ्दो चुनौती सामना गर्नसक्ने ढंगले कार्य गर्न सरकार असमर्थ देखिएको बताएका थिए । ‘कमजोरीको समीक्षा गरेर नयाँ रणनीति निर्माण गर्न र कामको गति बढाउन सरकार किन गम्भीर छैन ?’ देउवाले प्रधानमन्त्रीसमक्ष प्रश्न गरेका थिए । आइसोलेसन र भेन्टिलेटर पर्याप्त ब्यवस्था गर्न ढिलाइ गरेको सन्दर्भमा पनि देउवाको आपत्ति थियो । त्यसैगरी त्रिभुवन विश्वविद्यालयमा देखिएका विवाद र विसंगतिउपर कुलपतिका रूपमा प्रधानमन्त्रीको ध्यान पुग्न जरुरी भएको भन्दै निश्चित विधि र संस्कृतिले विश्वविद्यालय चलाउने क्षमताभन्दा राजनैतिक पूर्वाग्रह बढी देखियो भनी असन्तुष्टि जनाएका थिए ।