Goraksha

National Daily

‘सडक बनाऊ, टिप्पर चलाऊ’

जीर्ण सडक

दाङ, १ भदौ । घोराही–मुर्कुटी सडकखण्ड अन्तर्गत चल्ने टिप्परका कारण सडक बिग्रिएर स्थानीयले दुःख पाउने गरेको भन्दै घोराही उपमहानगरपालिका–१ हर्नाेकवासीले सडक बनाएर मात्र टिप्पर चलाउन आग्रह गरेका छन् ।

घोराही सिमेन्ट उद्योग र सम्राट सिमेन्ट उद्योगका लागि तापामा चुनढुङ्गा लिन जाने टिप्परका कारण सडक बिग्रिएर बसलगायतका साना सवारीका साधनहरु चल्न नसक्ने अवस्था आएको भन्दै हर्नाेकवासीले सडक अवरुद्ध गरेका हुन् ।

टिप्परले बाटो विगार्दा घोराही उपमहानगरपालिका–१ र ४ नं. वडाका पहाडी क्षेत्रका स्थानीयसँगै बंगलाचुली गाउँपालिकाका मानिसलाई किनमेलका लागि बजार आउनदेखि गाउँघरमा कोही विरामी पर्दा एम्बुलेन्स समेत जान नसक्ने गरी टिप्परले सडक बिगारेको स्थानीयवासीले बताएका छन् । कच्ची बाटो टिप्परले बिगारेपछि उक्त सडकअन्तर्गत् चल्ने बसलगायतका सवारीसाधनहरुलाई चल्न समस्या हुने गरेको छ । टिप्परले बिगारेको सडकमा बस पटक–पटक फस्ने गरेपछि स्थानीयले डोरी लगाएर तान्ने गरेका छन् ।

घोराही उद्योगका टिप्परहरु आजित बनेका स्थानीयले आइतवारदेखि टिप्पर सञ्चालनमा रोक लगाएका गरेका हुन् । वर्षातको समयमा सिमेन्ट उद्योगका लागि चुनढुङ्गा ल्याउन जाने टिप्परहरुका कारण मोटरसाइकल तथा साना गाडी चल्न नसक्ने अवस्था आएपछि हर्नाेकमा सडक अवरोध गरिएको घोराही–मुर्कटी सडक सुधार संघर्ष समितिका सल्लाहकार चन्द्रबहादुर सेढाईले जानकारी दिएका छन् ।

‘टिप्परका कारण वर्षातको समयमा मात्र होइन, हिउँदमा पनि सडकमा धुलो उडाएर हिड्नै नमिल्ने भएको हुन्छ’–हर्नाेकवासी सेढाईले भने–‘अहिले त झन सडकभरि पोखरी नै पोखरी छन्, मोटरसाईकल तथा साना गाडी हिड्नै मिल्दैन ।’ साना गाडी चलाउन नमिल्दा आपूmलाई बजार आउन तथा घर जान समस्या भएको उनले बताए ।

सडक मर्मत सम्भार नगर्ने तर क्षमताभन्दा बढी लोड बोकेर टिप्पर चल्ने गरेका कारण सडक बिग्रने गरेकाले अब सडक बनाएर मात्र टिप्पर चलाउनुपर्ने आपूmहरुको माग रहेको उनले बताएका छन् । ‘हाम्रो माग सडकमा टिप्पर चलाउनु हुँदैन भन्ने होइन, उद्योग सञ्चालनका लागि टिप्पर चल्नुपर्छ’–उनले भने–‘तर उद्योग सञ्चालनका लागि चल्ने टिप्परका कारण स्थानीयले दुःख पाउनु भएन, बाटो बन्नुपर्छ भन्ने हाम्रो माग हो ।’ उनीहरुले सडकको स्तरोन्नति गर्न समेत माग गरेका छन् । आफ्नो मागको सुनुवाई नभएर उक्त सडकखण्डमा सवारी चल्न नदिने उनीहरुको अडान रहेको छ ।

संघर्ष समिति गठन

यसैबीच आइतवार हर्नाेकमा भएको भेलाले नारायण पाण्डेको संयोजकत्वमा संघर्ष समिति समेत गठन गरेको छ । जसको सहसंयोजकमा रिमा कुँवर रहेकी छिन् । त्यसैगरी सदस्यहरुमा दोलबहादुर गिरी, श्याम पुन, बसन्त पुन, शारदा सेढाई, श्रीमान घर्ती, धनबहादुर बुढा, रेश्मीराज न्यौपाने, हेमन्त खड्का, बसन्ता कुवँर, इश्वरी कुवँर र लितक खड्का रहेका छन् । त्यसैगरी समितिको सल्लाहकारमा चन्द्रबहादुर सेढाई, भीमबहादुर कुवँर र मदन न्यौपाने रहेका छन् ।

सडक मर्मतको काम सुरु भइसकेको छ : प्रजिअ

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले वर्षातको समयमा बिग्रिएको घोराही–मुर्कुटी तथा घोराही–होलेरी सडकखण्ड मर्मतको काम सुरु भइसकेको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय दाङले शनिवार सरोकारवाला निकायहरुसँग बैठकको आयोजना गरेर वर्षातको समयमा बिग्रिएका दुवै सडकहरुमा मर्मतको काम आइतवारदेखि गर्ने सहमति अनुसार काम सुरु भइसकेको जानकारी दिएका छन् ।

‘घोराही–होलेरी सडकखण्डअन्तर्गत् सडकमा खसेको पहिरो हटाउने काम सुरु भइसकेको छ’–प्रमुख जिल्ला अधिकारी रिजालले भने–‘सहमतिअनुसार घोराही–मुर्कुटी सडकखण्डमा पनि सडक मर्मतको काम तत्काल हुन्छ ।’ दुवै सडकहरुमा सिमेन्ट उद्योगका लागि चुनढुङ्गा ल्याउन जाने टिप्परका कारण सडक जीर्ण अवस्थामा पुगेका हुन् ।

सडक जीर्ण बनेपछि यात्रुवाहक सवारीसाधनसँगै साना सवारीसाधनलाई समेत समस्या भएपछि जिल्ला प्रशासन कार्यालय दाङले शनिवार सरोकारवाला निकायसँग छलफल गरेर सडक निर्माणको जिम्मा लिएको कम्पनीलाई सडकमा खसेको पहिरो हटाउन र घोराही उपमहानगरपालिकालाई बिग्रिएको सडकमा ग्राभेलका लागि नदीजन्य पदार्थ उपलब्ध गराउने सहमति भएको थियो ।

ग्राभेल गर्नका लागि उद्योगका लागि चुनढुङ्गा लिन जाने टिप्परहरुले नदीजन्य पदार्थ ढुवानी गर्ने सहमति भएको छ ।