Goraksha

National Daily

किसानको चिन्ता, टिप गर्न युरिया छैन

सरकारले ल्याउन सकेन, व्यापारीले ल्याए जफत
खेमराज रिजाल
दाङ, १ भदौ । ‘मनसुनले त खुबै साथ दियो, आकाशेपानीले पनि रोपाई भयो तर टिप गर्ने बेला एक बोरा मल पनि पाइनँ’–तुलसीपुर उपमहानगरपालिका–७ का किसान रोशन भण्डारीले भने । मुस्किलले धान रोप्ने बेला केही मल पाए पनि अहिले टिप गर्ने मलका लागि धेरै पटक कृषि सामग्री कम्पनीको डिपोमा धाउँदा पनि मल नपाएको भण्डारीको गुनासो थियो ।

भण्डारीजस्तै तुलसीपुर उपमहानगरपालिका–१७ बघौसीका किसान लक्ष्मण रिजालले पनि हुर्किंदै गएको धानबालीमा टिप गर्ने युरिया नपाएकोमा चिन्तित छन् । ‘मनसुनले साथ दिए पनि सरकारले मल उपलब्ध गराउन सकेन, हामी किसानलाई निकै चिन्ता छ’–रिजालले भने । रिजाल र भण्डारी त मल नपाउने किसानका प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरुजस्तै हजारौँ किसानले टिप गर्ने बेला रासायनिक मल युरिया पाउनसकेका छैनन् । टिप गर्ने बेला मल नपाउँदा किसानका खेतमा रोपिएका धान पनि पहेँलै हुनथालेको उनीहरुले बताएका छन् ।

मुलुकभरि नै यस पटक असार अन्तिम सातामै करिब ९० प्रतिशत खेतमा रोपाई भइसकेको थियो । रोपेको करिब एक महिनापछि धानबालीमा युरिया टिप गर्ने यही उपयुक्त मौसम हो । तर मुलुकैभरिका कृषि सामग्रीका डिपोमा रासायनिक मल छैन । कोरोनाका कारण भएको लकडाउनले भारतलगायत तेस्रो मुलुकबाट समेत आएका स्थानीयले यसपालि खेत बाँझो त राखेनन् तर सरकारले उनीहरुलाई रासायनिक मल उपलब्ध गराउन सकेन ।

‘मल आयातका लागि किसानले मुलुकैभरि दबाब दिइरहँदा पनि सरकार आफ्नै अन्तरकलहमा मात्रै अल्झिरह्यो, यसले मल आयात आवश्यक समयमा हुनै सकेन’–मल आपूर्ति गर्दै आएका एक सहकारीका सदस्यले भने । कृषि सामग्रीमा एक बोरा रासायनिक मल नपाएपछि साल्ट ट्रेडिङमार्फत् आफूले १५ बोरा मल ल्याएर किसानलाई बाँडे पनि त्यो पर्याप्त नभएको उनको अभिव्यक्ति थियो ।

किसानलाई मल आपूर्ति गराउँदै आएको तुलसीपुर उपमहानगरपालिका–१७ बघौसी स्थित मिर्मिरे सहकारीका अध्यक्ष लवरु चौधरीले आफूले किसानको माग अनुसार पर्याप्त मल पाउन नसकेको बताए । ‘कृषि सामग्रीले मल छैन भनेको छ, साल्ट ट्रेडिङबाट ल्याएका आठ÷दश बोरा मलले किसानलाई एक छेउ पनि पुगेन’—लवरुले भने । किसानको मागलाई मूल्याङ्कन गरी समयमै मल खरिद गर्न सरकार चुकेको पनि उनको अभिव्यक्ति थियो । सरकारले यसैगरी ढिलासुस्ती गर्ने हो भने तोरी र गहूँ बाली लगाउनेबेला पनि रासायनिक मलको यस्तै समस्या हुने पनि उनले बताए ।

सरकारले सधैँ मल आपूर्तिमा ढिलासुस्ती गर्ने भएकाले यस अघिका वर्षहरुमा व्यापारी स्वयम्ले मल ल्याएर अनुदानरहित मल किसानलाई उपलब्ध गराउँदै आएका थिए । तर पछिल्ला दुई वर्ष सरकारले यसरी मल आयात गर्न पनि अन्य व्यापारीलाई दिएको छैन । लुकिछिपी ल्याएको मल पनि पटक–पटक जफत गर्ने प्रवृत्ति देखिएको छ । ‘या त सरकारले सहज रुपमा उपलब्ध गराउनुप¥यो या त व्यापारीलाई मल ल्याउन दिनुप¥यो’–तुलसीपुरका एक व्यापारीले भने– ‘सरकारको मल आयात नीति नै छैन ।’

किसानहरुलाई ठूलो हिस्सामा रासायनिक मल कृषि सामग्री कम्पनीमार्फत् उपलब्ध हुन्छ बाँकी केही हिस्सा साल्ट ट्रेडिङ कम्पनीले उपलब्ध गराउँदै आएको छ । जसोतसो धान रोप्नेबेला केही मल यी दुवै निकायले उपलब्ध गराए पनि अहिले हुर्कंदै गएको धानमा टिप गर्ने एक बोरा मल पनि छैन ।

कृषि सामग्री कम्पनीको भैरहवा डिपोमार्फत् दाङका मल विक्री केन्द्रहरुमा रासायनिक मल उपलब्ध हुँदै आएको थियो । तर अहिले मुलुकका कुनै पनि डिपोमा रासायनिक मल एक बोरा पनि छैन । ‘केन्द्रले ठेक्का भइसकेको भनेको छ, सम्भवतः भदौ अन्तिम सातासम्म मात्र रासायनिक

मल यहाँ आउनसक्छ’–कृषि सामग्री कम्पनी तुलसीपुरका प्रमुख तीर्थ न्यौपानेले गोरक्षलाई भने । एक दशकको अवधिमा किसानलाई रासायनिक मलको अभाव नभएको कुनै वर्ष छैन । तर सरकार किसानका समस्यामा कहिल्यै पनि गम्भीर बन्न नसकेको किसानहरुको गुनासो छ ।