प्रदेश प्रहरी प्रमुखद्धारा कार्यसम्पादन सम्झौता
दाङ,३२ साउन । ५ नम्वर प्रदेश प्रहरी प्रम्ुखले जिल्ला प्रहरी प्रमुखहरुलगायतका विभिन्न सुरक्षा निकायका प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरेका छन् । साउनको ३२ गते ५ नं. प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायब महानिरीक्षक रबिन्द्र बहादुर धानुकले प्रदेश प्रहरीमातहतमा रहेका १७ वटा कार्यालय प्रमुखसँग कार्य सम्पदन सम्झौता गरेका हुन ।
सम्झौता गर्नेमा प्रहरी तालिम केन्द्र बुटवल, दंगा नियन्त्रण प्रहरी गण सुनवल, सशस्त्र प्रहरी गण खजुरा बाँके, प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल, प्रदेश अन्तर्गत १२ वटा जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा नेपाल प्रहरी स्कूल घोराही रहेका छन् ।
कार्य सम्पादन सम्झौता अनुरुप उल्लेखित लक्ष्य पुरा गर्न प्रभावकारी कार्यान्वयनका लागि स्पष्ट कार्य योजनाका साथ आफू र मातहत प्रहरी इकाई तथा कर्मचारीहरुलाई पूर्ण लगनशील र प्रतिवद्धताका साथ परिचालन गर्न समेत प्रहरी प्रमुख धानुकले निर्देशन दिएका छन् ।
त्यसै अवसरमा ५ नं. प्रदेशको नागरिकको शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन, अपराध नियन्त्रणका साथै अपराध अनुसन्धान तथा सवारी दुर्घटना न्यूनिकरणको लागि प्रविधियुक्त अनुसन्धान प्रणालीको विकास, आर्थिक अनुशासन र पारदर्शिता, मानवअधिकार संरक्षण र सामुदाय केन्द्रीत प्रहरी कार्यहरुलाई मुख्य प्राथमिकता दिन समेत निर्देशन दिएका हुन ।
उनले वर्षायामको समय रहेकोले प्राकृतिक रुपमा आईपर्ने विपद्को व्यवस्थापनको लागि उद्दार सामग्रीसहित जनशक्तिलाई तयारी अवस्थामा बस्नुपर्ने र कोभिड–१९ महामारीको समय रहेकोले सदैव अग्रपंक्तिमा रहने नेपाल प्रहरीले कर्तव्य पालनाको सिलसिलामा आवश्यक सावधानी र सुरक्षा अपनाउनको लागि मातहतका प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका हुन ।
