Goraksha

National Daily

दाङमा थप १० जनामा कोरोना संक्रमण

दाङ ३१ साउन । दाङमा शनिवार थप १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । घोराही स्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणका क्रममा घोराही र तुलसीपुर उपमहानगरपालिकाका २ महिला र ८ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका शाखा अधिकृत रोशन आचार्यले जानकारी दिएका छन् ।

उनका अनुसार तुलसीपुर उपमहानगरपालिका–१ का १६ बर्षीय, वडा नं. ४ का ३३ बर्षीय, ५ का ३४ र ४६ बर्ष, ८ का १७ बर्ष, ९ का २२ बर्षीय, १४ का ३१ बर्षीय र १५ का २८ र ३५ बर्षीय व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसैगरी घोराही उपमहानगरपालिका–१५ निवासी ३५ बर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको प्रतिष्ठानले जनाएको छ ।

तुलसीपुरका पुष्टि भएका कोरोना संक्रमितहरु सेन्टर मावि क्वारेन्टाइन र राप्ती लाईफ केयर क्वारेन्टाइनमा बस्दै आएका हुन । कोरोना पुष्टि भएकाहरुलाई बेलझुण्डीको कोरोना विषेश अस्पतालमा लगिएको छ ।

योसँगै दाङमा कोरोना संक्रमितको संख्या सात सय १० पुगेको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ । संक्रमित हुनेहरुमा एक सय २ जना महिला र ६ सय ८ जना पुरुषहरु रहेका छन् ।

यसैविच शनिवार देशभर ४ सय ६८ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ जना पुगेको छ । संक्रमित मध्य १७ हजार २ सय १९ जना उपचारपछि घर फर्किएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।

उनका अनुसार नेपालमा कोरोना संक्रमणबाट १०२ जनाको मृत्यु भएको छ । शनिवारमात्रै तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।