दूधको गुणस्तर सुधार्न छड्के नमुना
बालाराम खड्का
तु्लसीपुर, ३० साउन । तुलसीपुरमा रहेका डेरी उद्योगहरुको बिहीवार अगुनमन गरिएको छ । अनुगमनसँगै बजारमा बिक्रीका लागि राखिएका विभिन्न डेरी उद्योगहरुको नमुना छड्के रुपमा संकलन गरी परीक्षणका लागि नेपालगञ्ज खाद्यप्रविधि प्रयोगशालामा समेत पठाइएको छ ।
दूधजन्य पदार्थको अव्यवस्थित बिक्री–वितरण भएको भन्दै तुलसीपुर बजारमा रहेका डेरीहरुबाट दूधजन्य पदार्थको नमुनाको प्रतिवेदन आए पनि थप कारबाही प्रक्रियासमेत थालिने भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरले विभिन्न ५ वटा डेरी उद्योगबाट दूध तथा दूधजन्य पदार्थको नमुना लिएको खाद्य अनुसन्धान अधिकृत विवेक बञ्जाराले जानकारी दिएका छन् । दूधको अव्यवस्थित बिक्री–वितरण र गुणस्तरबारे जनगुनासो आएपछि अनुगमनसँगै नमुना संकलन गरिएको बञ्जाराले जानकारी दिएका छन् ।
दूधको ढुवानी, प्रशोधन र दूधको गुणस्तर कस्तो छ भनेर सो नमुना नेपालगञ्ज पठाएको उनले बताए । यहाँ गुणस्तर चेकजाँच गर्ने मेसिन नभएकाले नमुना संकलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्ज पठाएको र नमुनाको चेकजाँचको रिपोर्ट दुई दिनपछि आउने उनले बताए । ‘बजारमा दूधको अव्यवस्थित बिक्री–वितरण र गुणस्तर राम्रो नभएको जनगुनासो आएकाले अनुगमन गरी नमुना लिएका हौं, यसको रिपोर्ट आएपछि सबै कुरा थाहा हुनेछ’, बञ्जाराले भने ।
दूधको अवस्थाको नियमन गर्नका लागि अनुगमन शुरु गरेको भन्दै तुलसीपुरसँगै अब घोराही, लमहीमा पनि नमुना संकलन गरेर चेकजाँच गर्ने बताए । तुलसीपुरका विभिन्न डेरी उद्योगबाट, दूध, दही, घ्यूलगायतको नमुना लिएको कार्यालय प्रमुख बञ्जाराले बताए । उनले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको यस बर्षको नियमित कार्यक्रमअन्तर्गत अनुगमन शुरु गरेको बताए ।
बजारमा हाल दूधजन्य पदार्थको अभावसहित मिसावट र गुणस्तर पनि राम्रो नभएको बताएको छ । बञ्जाराले नमुना परी्रक्षणपछि यदि गुणस्तरीय नदेखिए नियमानुसार कारबाही हुने उनले बताए । कार्यालयले तुलसीपुर बजारमा दूध बिक्री–वितरण गर्दै आएका डेरीहरुको दूध बजारबाट आफैले खरिद गरेर नमुना परीक्षणका लागि पठाएको हो । कुन–कुन उद्योगको दूध मानव स्वास्थ्यलाई असर नगर्ने वा दूधको गुणस्तर न्यूनतम मापदण्डमा छैन भन्ने विषयमा भने नमुनाको परीक्षण प्रतिवेदन आएपछि कारबाही प्रक्रिया अघि बढाइने पनि कार्यालयले जनाएको छ ।
जिल्लामा ल्याक्टोमिटरले दूधमा रहेको फ्याटको मात्रा नाप्नुबाहेक दूधमा रहेका सबै तत्वहरु मापन गर्ने प्रविधि नहुँदा दूधमा प्रशस्त मात्रामा मिसावटसमेत हुने गरेको छ । प्रायः सबै डेरीहरुमा मिसावटयुक्त दूध हुने गरेको उपभोक्ताहरुको गुनासो रहेको छ भने केही डेरी उद्योगहरुले दूधमा रहेको फ्याटको मात्रा झिकेरसमेत बिक्री–वितरण गर्दै आएको पनि उपभोक्ताहरु बताउँछन् ।
