डिडिसीले भदौ दोस्रो सातामा बिक्री केन्द्र राख्ने
दाङ,३० साउन । सरकारले सञ्चालन गरेको दुग्ध विकास संस्थान (डिडिसी)ले दाङमा भदौ १२ गतेदेखि बिक्री केन्द्र सञ्चालन गर्ने जनाएको छ । जिल्लामा दूधजन्य पदार्थको अभावसँगै यहाँका उपभोक्ताहरुलाई सहजताका लागि दूध बिक्री केन्द्र स्थापना गर्ने बताएको छ ।
दुग्ध विकास संस्थान (डिडिसी) का अध्यक्ष बसन्त गिरीले नेपालगञ्जमा आयोजना सञ्चालन गरेको र अब दाङको तुलसीपुरमा पनि बिक्री केन्द्र सञ्चालन गर्ने तयारी गरेको बताए । ‘दाङको तुलसीपुरमा पनि हाम्रो उत्पादन बिक्री केन्द्र सञ्चालन गर्ने तयारीमा छौं, भदौदेखि शुरु हुनेछ’, उनले भने । डिडिसीको उत्पादन दाङमा आएसँगै दूधजन्य पदार्थको अभाव कम हुने उनले बताए ।
हाल नेपालगञ्जबाट डिडिसीले दूध समय–समयमा ल्याउने गरेको छ । डिडिसीले ल्याएको दूधमा समस्या आएको जनजुनासो आए पनि बिक्री केन्द्र सञ्चालनमा आएपछि त्यो नहुने गिरीले बताए । ‘तापक्रम र अन्य कारणले समस्या भएको होला हामीले उत्पादन गरेको दूधमा समस्या छैन’, उनले भने । गर्मीयामसँगै चाडपर्वको समयमा जिल्लामा उत्पादित दूधले यहाँको मागलाई थेग्न सक्दैन भने दशै तिहारपछि हिउँदको सिजनमा भने यहाँ उत्पादित दूधले बजार पाउनै समस्या हुने गरेको छ ।
पछिल्लो समयमा बर्षभरीमा करिब चार महिनाजति यहाँको दूध संकलन केन्द्रमार्फत दुग्ध विकास संस्थानमा समेत जाने गरेको डेरी सञ्चालकहरुले बताएका छन् । पछिल्लो समयमा जिल्लामै केही दुग्धजन्य उद्योगहरुसमेत सञ्चालनमा आएका छन् । जिल्लामा व्यावसायिक पशुपालकहरुको संख्या बढेसँगै यहाँ उत्पादित दूधको खपत बढाउन यस्ता उद्योगहरु सञ्चालनमा आउन थालेका हुन् ।
