Goraksha

National Daily

डाक्टरको विदाइमा भावविभोर

गोरक्ष समाचारदाता
तुलसीपुर, २८ साउन । बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयका निमित्त निर्देशक डा. रामकामेश्वर ठाकुरलाई विदाइ गर्दा स्थानीयबासी भावविभोर भएका छन् । गाईगोठ जस्तै अवस्थामा रहेको आयुर्वेद अस्पताललाई साँच्चिकै अस्पतालका रुपमा स्थापित गरेका डा. ठाकुरलाई मंगलवार पतञ्जली योग समिति बिजौरीले विदाइ गरेको थियो ।

‘पृथ्वी गोलो छ, त्यसैले म यहाँ फेरि पनि आउन सक्छु, थप सशक्त भएर’, सोमबार बिजौरी योग समितिले आयोजना गरेको बिदाई तथा सम्मान कार्यक्रममा डा. ठाकुरले जाँदा–जाँदै भनेका थिए । निधारमा अविर, घाँटीमा दोसल्ला र मनमा थप उत्साह बोकेर बिदाई हुने सम्भवतः प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीका उनी नै पहिलो डाक्टर हुन् । यसअघि नेतृत्व गर्ने अस्पताल प्रमुख केही न केही विरोधमा आएर सुटुक्क सरुवा भएको अवस्थालाई उनले तोडेका छन् ।

अस्पतालको वरपर गौचरनजस्तै थियो, बरण्डामा विरामीको आकस्मिक उपचार, भर्नाको त धेरै कम सम्भावना हुन्थ्यो, बेड भएरै पनि भर्ना कक्षभरि माकुराका जाला, केही कक्षमा गाईगोठ, केही कर्मचारीको खुराफात गर्ने अखडा मात्र थियो । बिरामी जचाउने भन्दा पनि आयुर्वेदिक धुलो लिने थलाका रुपमा रहेको सो अस्पताललाई डा. ठाकुरले तीन बर्षमै अहिले बिरामीलाई भर्नाका लागि पनि समय लिनुपर्ने अवस्थामा ल्याएका हुन् । अहिले अस्पतालमा रहेका ३० बेड पुरै भरीभराउ हुने गरेको छ ।

डा. ठाकुर बिजौरीमा स्थापित हुनुको एउटा प्रमुख कारण थियो, पायल्स र फिस्टुलाका बिरामीहरुको क्षारसूत्रबाट उपचार । यसअघि जिल्लामै पनि केही निजी क्लिनिकहरुमा घुमन्ते चिकित्सकबाट हुँदै आएको क्षारसूत्र प्रविधिलाई उनले बिजौरी क्षेत्रीय अस्पतालमै सुरुआत गरे । निजी क्लिनिकमा ८ हजारदेखि १० हजार सम्म खर्च लाग्ने क्षारसूत्र विधिलाई बिजौरी अस्पतालमा २ हजारमै उपचार गरेर देखाए । ‘भारतमा पनि केही तालिम गरेको थिए, धेरै गाह्रो थिएन तर विशेष सावधानी भने अपनाउनुपथ्र्यो, तैपनि म यसमा ढुक्क भएका कारण क्षारसूत्र विधिलाई यहाँ स्थापित गराएँ’, डा. ठाकुरले भने । यो बीचमा कम्तीमा पनि १ हजारभन्दा बढीको क्षारसूत्र विधिबाट उपचार गरिसकेको उनले बताएका छन् ।

क्षारसूत्रसँगै, अग्नीकर्म, पञ्चकर्म, योगालगायतका आयुर्वेद उपचार पद्धतिलाई स्थापित गराए । बच्चाको लिंग नखुलेको तथा शरीरमा भएका गाँठागुठीको समेत सफल उपचार गर्न सफल भयो, बिजौरी आयुर्वेद अस्पताल । काठमाडौंलगायत अन्य १५ जिल्लाका बिरामीलाई उपचार गर्ने थलो बन्यो, बिजौरी आयुर्वेद अस्पताल । त्यसो त उनले आयुर्वेदमा जलौका विधिको उपचारको पनि अभ्यास शुरु गरेका थिए । शरीरका चर्मरोगलाई उपचार गर्न एक प्रजातिको जुकालाई टोकाएर शरीरको बिकार फाल्ने प्रविधिलाई जलौका उपचार विधि भनिन्छ । तर जुका बाँच्ने वातावरण नै नभएकाले यो विधि भने लागू गर्न सकेनन् । ‘म फेरि निर्देशक भएर आएँ भने केही न केही नयाँ आयुर्वेद उपचार प्रविधि लिएर आउने छु’, जाँदा–जाँदै डा. ठाकुरले भनेका छन् ।

‘अस्पताललाई बिरामीको आकर्षकस्थल बनाउन स्थानीयले मलाई नघच्घच्याएको भए सायद म यति मात्रै काममा पनि सफल हुन सक्ने थिएन, स्थानीयको सपोर्टसँगै मेरा सहकर्मीहरुको पनि सहकार्यलाई मैले उच्च मूल्यांकन गरेको छु’, डा. ठाकुरले भने । अस्पतालमा उल्लेखनीय काम गरेकै कारण संविधान दिवसको अवसरमा गतवर्ष राष्ट्रपति विद्यादेवी भण्डारीबाट डा. रामकामेश्वर ठाकुरलाई प्रबल जनसेवा चतुर्थ श्रेणीबाट सम्मानित समेत गरिएको थियो ।

यसअघि आयुर्वेद क्षेत्रीय चिकित्सालयका नाममा चल्दै आएको सो अस्पताललाई पछिल्लो समयमा प्रदेश सरकार मातहतको अस्पताल बनाइएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ मा रहेको अस्पताल २०४८ सालमा स्थापना भएको थियो । स्थापनाको तीन दशकपछि अस्पतालको सेवा सुविधा, भौतिक संरचना निर्माणमा उल्लेखनीय योगदान गरेको भन्दै अस्पतालमा निमित्त निर्देशक डा. रामकामेश्वर ठाकुरलाई स्थानीयहरुले सम्मान गरेका छन् । सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका पदाधिकारी, बिजौरी उद्योग वाणिज्य संघका पदाधिकारीलगायत स्थानीय समाजसेवीको समेत सहभागिता रहेको थियो ।

‘तपाई आफूमात्र चिरपरिचित बन्नुभएन, आयुर्वेद चिकित्सा विधामा बिजौरीलाई पनि चिनाउन सफल हुनुभयो’, विदाइ कार्यक्रममा बिजौरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा बिजौरी योग समितिका सदस्य मुकेश वलीले भने । योग प्रशिक्षण केन्द्र बिजौरीका अध्यक्ष बालकृष्ण रेग्मीको अध्यक्षतामा सम्मान कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा स्थानीयहरुले डा. ठाकुरलाई फूलमाला, दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए ।

सम्मान कार्यक्रममा बोल्दै पत्रकार महासंघ दाङ शाखाका सहसचिव गोकर्ण पौडेलले निर्विवादित डा. ठाकुरले अस्पतालको सेवा–सुविधा बढाएको बताए । कार्यक्रममा बिजौरी उद्योग वाणिज्य संघका महासचिव विदुर गौतमले अस्पतालको सेवा सुविधा विस्तार गरेको भन्दै प्रशंसा व्यक्त गरेका थिए । कार्यक्रममा तुलसीपुरस्तरीय योग प्रशिक्षण केन्द्रका सदस्य लोकेन्द्र बैरागीलगायतले मन्तव्य राखेका थिए ।