Goraksha

National Daily

कोरोना व्यवस्थापनमा सरकार असफल

शिवराज खनाल
लमही, २८ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली काग्रेसका तर्फबाट कोरोना भाइरस अनुगमन समितिका सदस्य योगेन्द्र चौधरीले कोरोना व्यवस्थापनमा सरकार असफल भएको बताएका छन् । सरकारले बिनायोजना लकडाउन खोल्दा समुदायस्तरमा कोरोना भाइरसको जोखिम बढेको उनको भनाइ रहेको छ । उनले सरकारले कोभिड–१९ नियन्त्रणको सवालमा साझा धारणा बनाउन नसकेको आरोपसमेत लगाएका छन् ।
नागरिकको जनजीनवलाई सहज बनाउन न्यूनतम आधारभूत स्वास्थ्य सुरक्षा सतर्कता अपनाई व्यवस्थित तरिकाले लकडाउन खोल्नुपर्नेमा सरकारले त्यसो नगरी डब्लुएचओले निर्देशन गरेको न्यूनतम आधारभूत सुरक्षा सर्तकता समेत अपनाउन नसक्दा आम सर्बसाधारणहरुमा कोरोना भाइरस जोखिमको चुनौती थपिएको समेत बताएका छन् । नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ ले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । नेता चौधरीले बर्तमान दुई तिहाईको सरकारले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले दिएको सुझावलाई पनि अनुशरण नगरी सबैलाई त्रसित बनाएर अधिनायकवादतर्फ अगाडि बढेको आरोप समेत लगाए । कार्यक्रममा नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति भेषराज पाण्डेयले कांग्रेस क्षेत्र नं. १ ले कोरोना संक्रमणको शुरुको दिनहरुमा सचेतना–पत्रसहित सरसफाईलाई प्राथमिकतामा राखी साबुन, मास्क बितरण गरेको बताए । दोस्रो चरणमा कार्यकर्ताबाट आर्थिक संकलन गरी घोराही, लमही, गढवा, राजपुर र राप्ती गाउँपालिका गरी प्रत्येक पालिकालाई २५ हजारका दरले आर्थिक सहायतास्वरुप रकम बितरण गरिएको र तेस्रो चरणमा क्षेत्र नं. १ मा संकलन हुन आएका स्वास्थ्य सामग्री बितरण र चौथो चरणमा साउन २२ गतेदेखि २५ गतेसम्म नागरिकसँग प्रत्यक्ष जोडिने, सुरक्षा स्वास्थ्यलगायतका निकायहरुलाई बिभिन्न निकायबाट प्राप्त भएका १० लाख बढीका स्वास्थ्य सामग्रीहरु जिल्ला प्रशासन , जिल्ला प्रहरीलगायत क्षेत्र नं. १ का विभिन्न ३० वटा संघसंस्थामा वितरण गरेको जानकारी दिए । कार्यक्रम कांग्रेस क्षेत्र नं. १ का सभापति पाण्डेयको सभापतित्व तथा कांग्रेसका केन्द्रीय सदस्य तथा कोरोना भाइरस अनुगमन समितिका सदस्य योगेन्द्र चौधरी र तराई मधेश समन्वय समितिका केन्द्रीय सदस्य अनुराग यादवको विशिष्ट आतिथ्यमा भएको थियो । कार्यक्रमको सञ्चालन नेपाली कांग्रेसका क्षेत्रीय सचिव हरिहर शर्मा घिमिरेले गरेका थिए ।