Goraksha

National Daily

बजारमा दूधको अभाव : पञ्चामृत बनाउने दही पनि पाइएन

बालाराम खड्का
तुलसीपुर, २६ साउन । तुलसीपुरकी चन्दा वलीले कृष्ण जन्माष्टमीको दिन बजारभरि दूध र दही खोजिन् तर कहीँ पनि पाइनन् । उनी रित्तो हात घर फर्किइन् । त्यस्तै एकमाया खड्काले कृष्ण जन्माष्टमीका दिन कृष्णको पूजाका लागि आवश्यक पर्ने दही पनि पाइनन् । उनले पञ्चामृत दहीविना नै बनाउनुप¥यो । त्यस्तै कृष्ण जन्माष्टमीको लागि अघिल्लो दिन डिडिसीको पोका दूध लिएका उपभोक्ताहरु सबैको दूध फाटेर खेर गयो । उनीहरु त प्रतिनिधिपात्र मात्र हुन् । उनीहरुजस्तै सबै उपभोक्ताहरुले बजारमा दूधको अभाव हुँदा खाली हात घर फर्कनुप¥यो ।

सरकारले कृषि तथा पशुपालनमा आत्मनिर्भर गराउन भन्दै विभिन्न योजनाहरुसमेत ल्याएको छ । त्यसका लागि बजेट समेत छुट्याउँदै आएको छ । स्थानीय सरकारले पनि नीति कार्यक्रम र त्यसका लागि बर्षेनी बजेट विनियोजन गर्ने गरेका छन् । तर बजारलाई आवश्यक पर्ने पर्याप्त मात्रामा दूधजन्य पदार्थको भने उत्पादन दिनप्रतिदिन घटिरहेको छ । पछिल्लो समयमा विभिन्न कारणले बजारको मागअनुसार दूधको अभाव देखिएको उपभोक्ताहरु बताउँछन् ।

विशेषगरी चाडपर्वमा बढी दूध–दहीको माग हुने गरे पनि पर्याप्त मात्रामा जिल्लामा दूधको उत्पादन हुन नसकेका कारण समस्या भएको व्यवसायीहरु बताउँछन् । विशेषगरी यस मौसममा दूधको उत्पादन कम हुने र विभिन्न चाडपर्वहरु पर्ने भएका कारण दूधको माग बढेको उपभोक्ताहरु बताउँछन् । ‘यति बेला दूधजन्य पदार्थको माग बढी हुन्छ, तर उत्पादन कम हुन्छ त्यसैले समस्या आउने गरेको छ’, माधव केसीले भने । असार, साउन, भदौमा दूधजन्य पदार्थको माग अत्यधिक हुने गरेको छ । तर मागअनुसार आपूर्ति भने हुन सकेको छैन् ।

जिल्लाको तुलसीपुर, घोराही, लमहीलगायतका स्थानमा दूधको माग बढी छ भने उत्पादन कम भएको राष्ट्रिय व्यवसायी पशुपालन तथा दूध उत्पादक कृषक समाज नेपालले जनाएको छ । कृषक समाज तुलसीपुरका कोषाध्यक्ष चन्द्र डाँगीले तुलसीपुरमा मात्र १० हजार लिट दूध खपत हुने भन्दै हाल ५ हजार लिटर दूधमात्र उत्पादन हुने गरेको बताए । उनले हाल लकडाउनका साथै भैसी, गाईहरु आयात नहुँदा दूध पनि त्यति उत्पादन हुन नसकेको बताए ।

यसअघि यो समयमा जिल्लाका विभिन्न स्थानमा दुना भैसी, गाईहरु खरिद–बिक्री हुने गरे पनि हाल भने यसो नसकेको बताए । ‘यो समयमा दूधको उत्पादन कम हुन्छ, माग बढी हुन्छ, व्यावसायिकरुपमा धेरै जसोले गाई–भैसी पाल्नुहुन’, उनले भने । उनले बजारमा स्थानीय उत्पादन कम भएपछि डिडिसीको दूध, दही बजारमा आएको बताए । डिडिसीको दूध ४८ घण्टासम्म राख्न मिल्ने भन्दै त्यो पनि राम्रो नभएको पाइएको उनले बताए ।

बजारमा हिजोआज डिडिसीको दूध आए पनि धेरै तापक्रम तथा अन्य कारणले त्यसमा समस्या देखिएको बताइएको छ । डिडिसीको दूधमा पनि समस्या आउँदा उपभोक्ताहरु मारमा परेका छन् । त्यो दूधका लागि चिलिभी भ्याट आवश्यक पर्ने गर्छ तर यहाँका धेरै जसो डेरी उद्योगमा सो नहुँदा सो दूधमा समस्या आउने गरेको छ ।

त्यसैगरी राष्ट्रिय व्यवसायी पशुपालन तथा दूध उत्पादक कृषक समाज नेपाल दाङका जिल्ला अध्यक्ष शशिराम बुढाथोकीले पनि जिल्लामा दूधजन्य पदार्थको अभाव भएको बताए । उनले जिल्लामा गर्मी र बर्षातको समयमा धेरै दूध खपत हुने भन्दै हाल चाडपर्वले गर्दा माग धेरै हुने बताए । उनले जिल्लामा ३० देखि ३५ हजार लिटर दूध हाल उत्पादन हुने भन्दै माग भने दोब्बर भएको बताए ।

‘दाङमा दूधजन्य बस्तुको माग बढी छ तर पर्याप्त मात्रामा उत्पादन भने हुँदैन’, उनले भने । बुढाथोकीले दुनो हुँदासम्म भैसी पाल्ने र पछि मार्केटमा पठाउने तथा गाईहरु पनि दूध दिँदासम्म घरमा पाल्ने पछि छोड्ने भएकाले पनि समस्या आएको बताए । ‘लकडाउनका कारणले पनि यो समस्या केही हदसम्म आएको हो, त्यसका साथ–साथै यहाँ पाडापाडीहरु र गाईका थोरीहरु पनि कम उत्पादन हुन्छ’, उनले भने । उनले तराई तिरबाट दुधालु भैसीहरु आउने गरे पनि हाल रोकिएका कारण दूध उत्पादनमा कमी आएको बताए । उनले व्यावसायिक उत्पादन पनि घटेको बताए । हाल लकडाउन र कोरोना भाइरसको संक्रमणका कारण दुधालु भैसी खरिद–बिक्रीका लागि हाटबजार पनि रोकिएको छ ।