‘मेट्रो कलेज गौरवपूर्ण योजना’
तुलसीपुर, २८ साउन । शिक्षा क्षेत्रका सरोकारवालाहरुले तुलसीपुर मेट्रो कलेज यस क्षेत्रको गौरबपूर्ण योजना भएको बताएका छन् । तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकास गर्नका लागि कलेजले महत्वपूर्ण भूमिका खेल्न सक्ने उनीहरुको भनाइ छ । तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकास गर्नका लागि तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेजको स्थापना गरेको हो ।
‘सञ्चालन गर्न निकै कठिन हुन्छ तर पनि निरन्तर लाग्ने हो भने सफल हुन सकिन्छ’, कलेज सञ्चालन समितिका सदस्य भीष्म केसीले भने । उनले एकैपटक धेरै विषय सञ्चालन चुनौतीपूर्ण हुने समेत औल्याए । ‘हामीले सञ्चालन गर्ने पाँचवटै फ्याकल्टीलाई एकै पटक सञ्चालन गर्दा धेरै चुनौती आइपुग्छन् तर निरन्तर लागिरहनुपर्दछ’, उनले भने । गत शैक्षिक सत्रमा वन विज्ञान विषय अध्यापन गराउँदै आएको कलेजले यो वर्ष विभिन्न चारवटा प्राविधिक विषय अध्यापन गराउन लागेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटीइभिटीको सहकार्यमा यसै शैक्षिक सत्रबाट मेट्रो कलेजमा अध्यापन हुने गरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीको १८०औ सभाले आगामी शैक्षिक सत्रबाट बाली विज्ञान, फुड एण्ड डेरी, इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक र मेकानिकल इन्जिनियरिङ्ग विषय थप गर्ने निर्णय गरेको छ ।
कलेज सञ्चालक समितिको बैठकमा बोल्दै सदस्य भागवत पौडेलले प्राविधिक विषयको माग बढेको भए पनि विद्यार्थीहरुलाई त्यसको समयमै जानकारी नहुँदा समस्या आएको बताए । शिक्षा समिति संयोजक देवराज विकले मुनाफारहित ढंगले कलेज सञ्चालन भएको बताउँदै समुदायले अपनत्व महसुस गर्नुपर्नेमा जोड दिए । समितिका सदस्य एवम् वडाध्यक्ष सूर्यबहादुर डाँगीले भौतिक संरचना तत्काल निर्माणमा सबैको ध्यान जानुपर्ने बताए । कलेज सञ्चालक समितिका अध्यक्ष एवम् नगर प्रमुख घनश्याम पाण्डेले सबैको सहकार्यबाट कलेज सञ्चालन गर्नुपर्ने बताए । उनले तुलसीपुरको मुहार परिवर्तन गर्ने योजनाका रुपमा कलेज सञ्चालनको योजना अगाडि बढेको बताए । ‘५ हजार विद्यार्थीले अध्ययन गर्ने गरी भौतिक संरचना निर्माणको काम अगाडि बढाएका छौं’, उनले भने ।
