Goraksha

National Daily

लैंगिक संवेदनशीलतामा जिम्मेवार बन्न आग्रह

दाङ, २८ साउन । पत्रकार तथा महिलाको क्षेत्रमा क्रियाशील महिलाहरुले अनलाइन, युट्युब च्यानल, सामाजिक सञ्जाल प्रयोगकर्ता, मूलधारका मानिएका मिडिया तथा सम्पूर्ण सञ्चारकर्मीहरुलाई पत्रकार आचारसंहिताको पालना गर्न एवं लैंङ्गिक संवेदनशीलतामा जिम्मेवार सञ्चार सामग्री प्रवाह गर्न सामूहिक अपिल गरेका छन् ।

सञ्चार क्षेत्र तथा अन्य संघसंस्थामा आवद्ध महिलाहरुले बुधवार सामूहिक विज्ञप्ति जारी गरेर यस्तो अपिल गरेका हुन् । सञ्चारकर्मीले आफ्नो देशको संविधान, कानुनले पीडितको हक संरक्षणका लागि गरेको व्यवस्थाको मर्म आत्मसात् गर्नु पेशागत तथा नैतिक दायित्वभित्रको कुरा हो । पत्रकारिता सामाजिक न्यायको प्रक्रियाको विरुद्धमा जानु हुँदैन भन्ने हाम्रो ठहर छ’, विज्ञप्तिमा भनिएको छ– ‘हाम्रा समाचार सामग्रीहरु सूचना जानकारी प्रवाहसँगै समाजका विभेद, अन्याय, अत्याचारविरुद्ध विवेकी समाज निर्माणमा सहयोगी बन्न सक्नुपर्छ ।

इन्टरनेट तथा सामाजिक सञ्जालले सिर्जना गरेको अवसरलाई समाज रुपान्तरणका पक्षमा उपयोग गर्न तथा यसमा भित्रिएका गलत प्रचलनलाई खबरदारी गर्न सचेत सञ्चार उपभोक्ता, विभिन्न सञ्चारसंस्थालगायत सम्बद्ध सबैले आफ्नो भूमिका निर्वाह गर्न अनुरोध गर्दछौं ।’