जनयुद्धका घाइते भन्छन् : हामी प्रयोग मात्र भयौं
अमरराज आचार्य
दाङ, २२ साउन । जनयुद्धमा घाइते भुलबहादुर विकले आफूहरुलाई जीवन निर्वाह गर्न समस्या भएको बताएका छन् । घाइते भएको कारण अन्य काम गर्ने नसक्दा जीवन निर्वाह गर्ने समस्या भएको उनले बताए । देशको परिवर्तनको लागि युद्ध लडेर घाइते भए तर राज्यले सम्मान गर्नुको साटो अपहेलित गरेको छ’, उनले भने ‘हामीलाई राज्य भएको अनुभूति भएको छैन ।’ आफ्नै पार्टी सरकारमा भए पनि आफूहरुले त्यसको अनुभूति गर्न नपाएको उनले बताए । उनले युद्धका क्रममा एउटा खुट्टा गुमाएका छन् । राज्यले घाइते तथा अपाङ्ग भएकालाई गास, बास र कपासको व्यवस्था र उपचारमा सहयोग गर्नुपर्ने उनको माग छ । राज्यले दिने ६ हजार २ सयले खाने कि उपचार गर्ने ? उनले प्रश्न गरे । ‘सरकारले दिने ६ हजार २ सयले परिवारलाई कसरी पाल्ने, कसरी पढाउने, कसरी आफ्नो उपचार गराउने भन्ने चिन्ताले सताउने गरेको छ’, उनले भने ‘नाङ्गै बस्ने, भोकै मर्ने अवस्था आउन थालेको छ ।’ आफूहरुले पटक-पटक आफ्नो समस्याको बारेमा जानकारी गराए पनि समस्याको समाधान हुन नसकेको उनले बताए । आफूहरुसँगै युुद्ध लडेको नेताहरु आनन्दले रमाउने गरेको उनले बताए । ‘नेताहरु सामान्य उपचारका लागि विदेश जाने गरेका छन् तर हामीले स्वदेशमा समेत उपचार पाउन सकेका छैनौं’, विकले भने ।
बंगलाचुली गाउँपालिका निवासी जनयुद्धका घाइते कुमारी नेपालीले पनि उस्तै समस्या रहेको बताइन् । ‘हामीले हेर्छौ भनेर भनेका नेताहरुले अहिले केही गरेनन्’, उनले भनिन् । नेताहरुले कुर्सी पाएपछि आफूहरुलाई बिर्सिएको उनले आरोप लगाइन् । ‘अहिले खाने गास, बस्ने बास र कपासको समस्या छ’, उनले भनिन्- ‘बालबालिकालाई कसरी पढाउने चिन्ता त्यतिकै छ ।’ युद्धको क्रममा उनले एउटा आँखा गुमाएकी छिन् । एउटा आँखा गुमाएपछि अर्को आँखामा पनि समस्या रहेको उनको भनाइ छ । राज्यले प्रदान गर्ने गरेको ६ हजार २ सय रुपैयाँ पनि काटिदिन थालेको उनको गुनासो छ ।
अर्का घाइते खुसीराम चौधरीले अहिले पनि शरीरमा गोली बोकेर हिडिरहेको बताए । अप्रेशन गर्न नसक्दा शरीरमा गोली बोकेर हिँड्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । ‘सबै चिज पार्टी हो भनेर युद्धमा होमियो तर अहिले केही भएन’, चौधरीले भने । नेपाल कम्युनिष्ट पार्टीको २ तिहाई सरकार हुँदा पनि आफूहरुले केही नपाएको बताए । ‘धेरै नेताहरु भेटिए तर केही भएन’, उनले भने- ‘आफूहरुलाई लडाउने-भिडाउने काम मात्र भएको छ ।’ नेता सुविधाभोगी हुँदै गएको उनको आरोप छ ।
जिल्लामा घाइते तथा अपाङ्गहरुको संख्या साढे ७ सय रहेको घाइते तथा अपाङ्ग योद्धा संगठका प्रदेश नं ५ का संयोजक खगेश्वर घर्तीले बताए । उनीहरुमध्ये २२ जनाले राज्यबाट भत्ता पाउने गरेको बताए । पाएकाको पनि अहिले राज्यले कटौती गरिदिन थालेको उनको भनाइ छ । यसले गर्दा घाइते तथा अपाङ्गहरु धेरै समस्यामा परेको उनले बताए । राज्यले पुनः मूल्यांकन गरेर भत्ता दिनुपर्ने बताए । अहिले विशिष्ट श्रेणीले १२ हजार र प्रथम र द्वितीय श्रेणीले ६ हजार २ सय भत्ता पाउँदै आएका छन् । राज्यले व्यवस्थापन गर्न नसकेको उनले बताए । ‘समाज रुपान्तरण गर्न हिँडेका हामी नै हेपिएका छौं’, घर्तीले भने । आफूहरुलाई समाजमा हेर्ने दृष्टिकोण समेत फरक रहेको उनले बताए । उनीहरुले जिल्ला प्रशासन कार्यालय दाङमार्फत राज्यलाई ज्ञापन-पत्रसमेत बुझाएका छन् ।
तस्बिर : गुगलबाट सांकेतिक
