Goraksha

National Daily

पुरै शैक्षिक-सत्र खेर नफाल्ने विकल्प छन्

विष्णु कुमार देवकोटा (शिक्षाविद्)

कोभिड-१९ को संक्रमणसँगै करिब ६ महिनासम्म थला परेको शिक्षालाई कम्तीमा चलायमान बनाउन सरकार लाग्नुपर्दछ । अझै पनि केही विकल्पहरु रहेका छन् । सरकारले ती विकल्पहरुमध्येबाट उत्तम विकल्प छनोट गरी मुलुकभरका सबै तहमा परिपत्र गर्न आवश्यक छ ।

आधा जति शैक्षिकसत्रको समय कोरोनाको संक्रमणका कारण सकिएको अवस्थामा अब बाँकी कुनै पनि दिनलाई खेर फाल्नु हुँदैन । सार्वजनिक विदा कटौती गर्न सकिन्छ । पाठ्यक्रममा रहेका पाठलाई पनि कटौती गर्न सकिन्छ ।

मानौं, ३० वटा पाठ समावेश भएको कुनै विषयमा १० वटा पाठ छानेर पढाइबाट हटाउन सकिन्छ । त्यस्ता पाठ, जुन यो बर्ष अध्ययन/अध्यापन नगराएको अवस्थामा पनि माथिल्लो कक्षा पढ्नका लागि विद्यार्थीहरुलाई असहज नहोस् । हामीलाई जानकारी भएकै कुरा हो, लेसनप्लान त बर्षभरीको शैक्षिक सत्रलाई केन्द्रित गरेर बनाइएको हो ।

तर बर्षभरि पढाउने अवस्था नरहेको अवस्थामा कुन-कुन पाठ नपढाउने भन्ने सन्दर्भमा शिक्षा मन्त्रालयले विज्ञहरुसँग परामर्श गरेर निणर्य लिन सक्छ ।

अर्को कुरा सामाजिक दूरीलाई अनिवार्यरुपमा कायम गरी एक सिफ्टको पढाइलाई दुई सिफ्ट वा तीन सिफ्टसम्म पनि लग्न सकिन्छ । त्यसका लागि सरकारले सबैभन्दा पहिले कुनै पनि विद्यालयमा क्वारेन्टाइन राख्न नमिल्नेगरी स्थानीय सरकारलाई निर्देशन दिन सक्छ । किनकि क्वारेन्टाइन राख्नका लागि अन्य विकल्पहरु पनि थुप्रै छन् ।

हरेक पालिकामा सामुदायिक भवनहरु हुन सक्छन् । मर्ज गरी खाली भएका विद्यालयहरुलाई पनि लिन सकिन्छ । पेइङ क्वारेन्टाइनको अवधारणा ल्याएर होटलमा पनि क्वारेन्टाइन राख्न सकिन्छ ।

अर्को कुरा विद्यार्थीहरु लकडाउनका कारण पढ्न नपाएर बर्वाद भइरहेको अवस्थामा अभिभावकको पनि निकै महत्वपूणर् दायित्व हुन्छ । किनकि यो करिब ५ महिनाको अवधिमा विद्यार्थीहरुको दिमाग किताबबाट धेरै टाढा पुगिसकेको छ ।

उनीहरुको दिमागलाई पुस्तकमा फर्काउनै पनि कम्तीमा एक महिना लाग्न सक्छ । त्यसका लागि अभिभावक आफैले पनि आफ्ना छोराछोरीलाई होमवर्क दिन सक्छन् । यो एउटा व्यावहारिक र उत्तम विकल्प पनि हो । छोराछोरीको पढाइलाई पूरै रुपमा विद्यालयको जिम्मामा सुम्पने अवस्था पनि अहिले छैन ।

यी सम्भावित विकल्पहरुलाई सबैले आत्मसात् गर्ने हो भने विद्यार्थीको सिंगै शैक्षिक सत्रलाई खेर.जानबाट जोगाउन सकिने छ ।